२०८२ माघ ९

८४ वर्षमा बल्ल पाइन लालकुमारी श्रेष्ठले राज्यको पहिचान

चौतारा । लालकुमारी श्रेष्ठले आज पहिलो पटक आफ्नो नाम लेखिएको कागज हातमा समाइन् । त्यो कागज कुनै साधारण कागज नभएर उनी नेपाली भएको पहिचान थियो । त्यो ८४ वर्षसम्म राज्यका आँखामा नदेखिएकी एक वृद्ध महिलाको अस्तित्व प्रमाणित गर्ने नेपाली नागरिकता थियो ।

वि.सं. १९९८ साल असोज १६ गते बाह्रबिसे नगरपालिका–४ पलाँतीमा जन्मिएकी लालकुमारीले जीवनमा धेरै कुरा गुमाइन् । छ महिनाकी हुँदा आमाको, १५ महिनाकी हुँदा बाबुको छायाँ छुट्यो। राज्य के हो, अधिकार के हो भन्ने बुझ्ने अवसर नपाउँदै जीवनले उनलाई कठोर बाटोमा धकेल्यो । वि.सं. २०१८ सालमा विवाह भयो । केही समयपछि आशाको उज्यालो देखिएको थियो । तर वि.सं. २०३० सालमा श्रीमानको निधनले फेरि जीवन अँध्यारो बनायो । त्यसपछि लालकुमारीका लागि जीवन भनेको संघर्ष मात्र बन्यो । काठमाडौँलगायत विभिन्न स्थानमा ज्याला मजदुरी, पसिना बगाएर छोरा छोरी हुर्काउने जिम्मेवारी उनकै काँधमा थियो ।

उनी कहिल्यै अस्पताल गइनन्। सरकारी कार्यालयको आँगन कहिल्यै टेकिनन् । राज्यका कुनै सुविधा नपाई, आफ्नै देशमा बसेर पनि उनी राज्यका लागि अदृश्य बनिरहिन् । संविधान फेरिए, शासन व्यवस्था बद्लिए, देशमा गणतन्त्र आयो तर लालकुमारीको जीवन उस्तै पहिचान विहिन रह्यो । ८४ वर्षको उमेरमा मात्र उनले नागरिकता भनेको अधिकारको ढोका खोल्ने चाबी रहेछ भन्ने बुझिन् । त्यसपछि २०८२ भदौ ३० गते नागरिकताका लागि निवेदन दिइन् । तर अभिलेखमा नाम नदेखिएपछि उनलाई अदालत जान सुझाव दिइयो । प्रक्रिया जटिल थियो, उमेर ढल्किसकेको थियो तर उनले हार मानिनन् । उनलाई साथ दिनेहरु पनि लागिरहे ।

स्थानीय सहजकर्ता, सामाजिक अभियन्ता र कानुन व्यवसायीको निरन्तर प्रयासले अन्ततः आज चौतारास्थित जिल्ला प्रशासन कार्यालयबाट उनले नागरिकता प्राप्त गरिन् । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकता प्रमाणपत्र हस्तान्तरण गर्दाको क्षण एउटा कागज दिने कार्यक्रम मात्र थिएन बरु त्यो एउटा असहाय जेष्ठ नागरिकलाई राज्यले औपचारिक रूपमा चिनेको दिन थियो । यसका लागि रामकुमार पाठक, गोविन्द पाठक ददिराम पराजुली, पुरुषोत्तम कार्की, सुकदेव तिमिल्सिना, अशोक पराजुलीको पहल, अधिवक्ता सुष्मा गिरीको कानुनी सक्रियता र स्थानीय तहदेखि गृह मन्त्रालयसम्मका अधिकारीहरूको सहयोगले यो सम्भव भयो ।

आज पनि लालकुमारी अरूको खेतबारी र घरधन्दाबाटै जीविकोपार्जन गरिरहेकी छिन् । तर फरक यति हो अब उनीसँग आफ्नो नाम, पहिचान र राज्यद्वारा स्वीकारिएको अस्तित्व छ । लालकुमारी श्रेष्ठको कथा एक महिलाको सामान्य कथा होइन, यो त राज्यका अभिलेखमा नअटाएका हजारौँ अदृश्य नागरिकहरूको कथा हो । उनीहरुलाई देख्न अझै संवेदनशील दृष्टि आवश्यक छ ।

पालुवान्युजबाट

प्रतिक्रिया दिनुहोस्