चोैतारा | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–५ स्थित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयको प्राङ्गण पुस १७ गते बिहीबार केही फरक दृश्य देखियो । ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित नगरस्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगितामा विद्यार्थीहरू आत्मविश्वासका साथ स्क्रिनतर्फ केन्द्रित थिए ।
कक्षा ९ र १० का विद्यार्थी सहभागी प्रतियोगितामा नगरभित्रका १७ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । डिजिटल माध्यमबाट प्रस्तुत प्रश्न–उत्तरले प्रतियोगितालाई ज्ञान, तर्क र प्रविधिको संगमस्थल बनाएको थियो ।

प्रतिस्पर्धामा सिद्धकमल माध्यमिक विद्यालय प्रथम, जुगल बोर्डिङ हाई स्कुल द्वितीय, सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय तृतीय र कुण्डला देवी माध्यमिक विद्यालयले चोैथो स्थान हासिल गर्न सफल भएको थियो । सही उत्तरमा देखिने मुस्कान र चुनौतीपूर्ण प्रश्नमा देखिएको उत्सुकताले कार्यक्रमलाई थप जीवन्त र अर्थपूर्ण बनाएको थियो ।
विद्यालय तहबाटै प्रविधिमैत्री सिकाइलाई प्राथमिकता दिनु आवश्यक रहेको सन्देशसहित प्रतियोगिता सम्पन्न भएको आयोजक विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्