सिन्धुपाल्चोक | चौतारा साँगाचोकगढी नगरपालिकाको खेलकुद वातावरण फेरि एकपटक उत्साहले भरिएको छ । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ईर्खु माध्यमिक विद्यालयले आफ्नो निरन्तर उत्कृष्टतालाई जोगाउँदै लगातार चौथो पटक उपाधि हात पार्न सफल भएको छ ।
साँगाचोकमा सम्पन्न आठौँ संस्करणको प्रतियोगितामा ईर्खु माविले अधिकांश खेलमा सशक्त प्रदर्शन गर्दै २० स्वर्ण पदक जित्यो । अघिल्ला तीन संस्करणमा समेत च्याम्पियन बनेको ईर्खुले यसपटक पनि आफ्नो प्रभुत्व कायम राख्दै अन्य विद्यालयका लागि कडा चुनौती प्रस्तुत गर्यो ।प्रतिस्पर्धामा चौतारास्थित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले १९ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्दा सेतीदेवी माध्यमिक विद्यालय, ठुलोसिरुवारी ७ स्वर्ण पदकसहित तेस्रो स्थानमा सीमित भयो । खेलमैदानमा विद्यार्थीहरूको जोश, प्रतिस्पर्धात्मक भावना र खेलभावनाले प्रतियोगितालाई थप जीवन्त बनाएको देखिन्थ्यो ।

नगर खेलकुद विकास समितिको आयोजनामा तीन दिनसम्म चलेको प्रतियोगिताको समापन अवसरमा विजेता विद्यालय तथा खेलाडीहरूलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्व सांसद तथा युवा नेता माधव सापकोटा ‘सुबोध’ले शिल्ड, ट्रफी र पदक प्रदान गरेका थिए ।
समापन समारोहमा नगर प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सिता थापा लगायत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरूले विद्यालयस्तरबाटै खेलकुद प्रतिभा विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्