काठमाडौं/ निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।
प्रकाशित नामावलीअनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। यसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य लैंगिक पहिचान भएका मतदाता समावेश छन्।
विसं २०७९ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तुलनामा यस पटक ९ लाख १५ हजार ११९ मतदाता थपिएका छन्। गत निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए।
मतदान केन्द्र पनि बढे
आयोगले यस निर्वाचनका लागिदेशभर १०,९६७ मतदान स्थलमा २३,११२ मतदान केन्द्र निर्धारण गरेको छ। गत निर्वाचनको तुलनामा ७५ वटा मतदान स्थल र ८८५ वटा मतदान केन्द्र थपिएका छन्।
अनलाइनबाट नाम जाँच गर्न सकिने
मतदाताहरूले आफ्नो नाम नामावलीमा छ वा छैन भनी निर्वाचन आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा गई जाँच गर्न सक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण अद्यावधिक गरी यो नामावली प्रकाशन गरेको हो।
प्रतिक्रिया दिनुहोस्