२०८२ फाल्गुन २३

ज्येष्ठ नागरिकका स्वास्थ्य समस्या सुन्न १११५ हटलाइन, सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स सेवा

एआई सिर्जित तस्बिर

काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकहरूको हितका लागि विशेष स्वास्थ्य हटलाइन र नि:शुल्क एम्बुलेन्स सेवासहितका योजना ल्याएको छ । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यी सेवा ल्याउन लागेको हो ।

ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका स्वास्थ्य समस्या र गुनासोहरू सिधै मन्त्रालयसम्म पुर्‍याउन स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा १११५ नम्बरको विशेष हटलाइन सेवा व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यो सेवा सञ्चालनमा आएपछि ज्येष्ठ नागरिकले आफ्ना समस्याहरू कुनै पनि समयमा सिधै सरकारी निकायमा दर्ता गराउन सक्नेछन् ।

त्यस्तै, सरकारले हरेक प्रदेशमा ज्येष्ठ नागरिक लक्षित नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आवश्यक गृहकार्य भइरहेको यो सेवा आगामी एक महिनाभित्रै कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ ।

विशेषगरी पशुपति वृद्धाश्रमको अनुगमनका क्रममा देखिएको स्वास्थ्यकर्मी र एम्बुलेन्स अभावलाई सम्बोधन गर्दै उक्त आश्रमको स्तरोन्नति गर्ने कार्य समेत सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यका अतिरिक्त यातायात क्षेत्रमा पनि ज्येष्ठ नागरिकलाई थप सहजता प्रदान गर्ने सरकारको योजना छ । सार्वजनिक यातायातमा थप सुविधा र छुट उपलब्ध गराउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय भइरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले जानकारी दिइन् । यसले ज्येष्ठ नागरिकहरूको आवतजावतलाई थप सुलभ र सम्मानजनक बनाउने अपेक्षा गरिएको छ ।

सरकारले २०५१ साल पुस ११ गते पहिलो पटक वृद्धभत्ता घोषणा गरेको दिनको स्मरणमा ०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो ।

टेकपानाबाट

प्रतिक्रिया दिनुहोस्