सिन्धुपाल्चोक । जुगल गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयहरूमा सामाजिक विकृति विरुद्ध कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक नाटक कार्यक्रम सञ्चालन गरिएको छ । जुगल गाउँपालिकाको सहयोगमा आवाज आर्ट क्रिएशन प्रा.लि.ले विद्यालय–विद्यालयमा पुगेर नाटक प्रस्तुत गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सचेत बनाएको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण विद्यार्थीहरू मानसिक तनावमा पर्ने र आत्महत्यासम्मका दुःखद घटनाहरू बढ्दै गएको सन्दर्भमा त्यसको न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको न्यायिक सहजकर्ता सुरज ढकालले जानकारी दिए । उनका अनुसार कानुनी सचेतना र व्यवहारिक शिक्षा अभावमा साना समस्याले पनि गम्भीर रूप लिन सक्ने भएकाले नाटकमार्फत सरल र प्रभावकारी सन्देश प्रवाह गरिएको हो ।

आवाज आर्ट क्रिएशनका निर्देशक कृष्णप्रसाद धितालले नाटकमा सामाजिक सञ्जालको गलत प्रयोग, मोबाइलप्रतिको अत्यधिक लत, अधिकार मात्रै खोजेर कर्तव्य बिर्सने प्रवृत्ति, पढाइमा आएको गिरावट र त्यसले जीवनमा निम्त्याउने नकारात्मक असरलाई केन्द्रमा राखिएको बताए । विद्यालय तहका विद्यार्थीले सजिलै बुझ्ने गरी कथा, संवाद र अभिनयमार्फत चेतनामूलक सन्देश दिन खोजिएको उनको भनाइ छ ।
सडक नाटकमा कृष्णप्रसाद धिताल, नवराज गजुरेल, मिना श्रेष्ठ, सुस्मिता भण्डारी, सन्तोष गिरि, दीपक घिमिरे र नविन काफ्ले लगायतका कलाकारहरूले सशक्त अभिनय प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले नाटकले आफूलाई सोच्न बाध्य बनाएको प्रतिक्रिया दिएका छन् ।
आयोजकका अनुसार आगामी दिनमा पनि विद्यालय तथा समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्