२०८२ पुष २

सिन्धुपाल्चोक सामुदायिक आँखा केन्द्रको सामाजिक परिक्षण ३ हजार बढीले लिए सेवा १५७ जनाको शल्यक्रिया

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सञ्चालित तिलगंगा आँखा कार्यक्रमको सामाजिक परीक्षण तथा स्थानीय परियोजना सल्लाहकार समिति बैठक मंसिर २२ गते एकैदिन सम्पन्न भएको छ । अष्ट्रेलियन एड, द फ्रेड हल्लोज फाउन्डेशन, नेपाल रेडक्रस सोसाइटी र टिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीको सहयोगमा लामो समयदेखि सञ्चालनमा आएको यो परियोजनाले सिन्धुपाल्चोक जिल्लामा निरन्तर रूपमा आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

उक्त दिन STC परियोजनाअन्तर्गत सिन्धुपाल्चोकमा सञ्चालित तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको परियोजना सल्लाहकार समिति बैठक पनि बसिएको थियो । सो बैठकमा टिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीका “कार्यक्रम तथा बाह्य विभाग प्रमुख डा. मोहनकृष्ण श्रेष्ठले परियोजनाको लक्ष्य, हालसम्मको सञ्चालन अवस्था, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे विस्तृत रूपमा प्रस्तुति दिएका थिए ।

सामाजिक परीक्षणको क्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखाका अध्यक्ष तथा आँखा सेवा केन्द्रका संयोजक राजेन्द्रमान ताल्चाभडेलले स्थापनाको प्रारम्भिक कठिनाइबारे अनुभव साझा गरे । उपकरणको अभाव, न्यून स्रोतसाधन, स्थानीय संरचनाको कमी र चुनौतीपूर्ण अवस्थाबीच सुरु गरिएको सेवा अहिले आधुनिक उपकरण, दक्ष जनशक्ति र सहज वातावरणको विकाससँगै प्रभावकारी बन्दै गएको उनले बताए ।

सेवा केन्द्रका आँकडा अनुसार यस वर्ष ३ हजार १ सय ५४ बिरामीले ओपीडी सेवा लिएका छन् भने १ सय ५७ जना मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । प्रारम्भिक कठिनाइ पार गर्दै बिरामीमैत्री सेवा उपलब्ध गराउन केन्द्रले निरन्तर प्रयास जारी राखिरहेको आखा सेवा केन्द्रकि इन्चार्ज योगीना बी.क को भनाइ छ ।

बैठकमा हाल चौतारा अस्पतालमा पनि आँखा सम्बन्धी सेवा विस्तार भएसँगै एकै क्षेत्रभित्र दुईवटा सेवा केन्द्र सञ्चालनमा रहेकाले पर्याप्त कार्यगत समन्वय नहुँदा स्रोत–साधनको दोहोरो प्रयोग, उपकरण एकातिर र जनशक्ति अर्कोतिर हुने, तथा “यता आऊ–उता आऊ” जस्ता अवस्थाहरू सिर्जना भएको अनुभव डा. मोहनकृष्ण श्रेष्ठले प्रस्तुत गरेका थिए । यसले सेवा केन्द्रको सेवा प्रवाह जटिल बनाएको र बिरामीले सहज सेवा पाउन कठिनाइ भोग्नुपरेको उनले उल्लेख गरे ।

सामाजिक परीक्षण र परियोजना सल्लाहकार समिति बैठक दुवैमा स्थानीय तहसँग अझ मजबुत समन्वय आवश्यक रहेकोमा सहभागीहरू एकमत भएका थिए । नगरपालिकाको सहकार्य र सहजीकरण बढेमा उपकरण व्यवस्थापन, जनशक्ति परिचालन, सेवा विस्तार तथा स्रोत–साधनको समुचित उपयोगजस्ता चुनौती सहजै समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको थियो । डा. श्रेष्ठले परियोजनाका उपलब्धि उल्लेख गर्दै आगामी दिनमा स्थानीय संरचना, अस्पताल र आँखा केन्द्रबीच त्रिकोणीय सहकार्य मजबुत बनाउनु आवश्यक रहेको औंल्याए ।

कार्यक्रमले आँखा सेवा केन्द्रको वर्तमान अवस्था, कमजोरी, बलियो पक्ष तथा सुधारका सम्भावनाहरूलाई स्पष्ट रूपमा उठाइएको थियो । सहभागीहरूको सुझावअनुसार सेवालाई अझ सहज, पहुँचयोग्य, प्रभावकारी र बिरामीमैत्री बनाउने प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्