२०८२ मंसिर ६

मिलिजुली महिला बचत तथा ऋण सहकारीको २७औँ साधारणसभा सम्पन्न

चौतारा, सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी–५, सिन्धुपाल्चोकमा अवस्थित मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ साधारणसभा उत्साहपूर्वक सम्पन्न गरेको छ। सहकारीको निरन्तर प्रगति, सदस्यहरूको सक्रियता र महिलामा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम शनिबार गैरीगाउँस्थित शहीद स्मृति भवनमा सम्पन्न भएको हो ।

साधारणसभाको प्रमुख अतिथि नगर उपप्रमुख सीता थापा श्रेष्ठले सहकारीहरूले स्थानीय स्तरमा आर्थिक सबलीकरणमा पुर्‍याइरहेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त र पारदर्शी रूपमा अघि बढ्न सुझाव दिए ।

सहकारीकी सचिव सीता कसजूले भने प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारी “महिला बचत परिवार र समाजको विकास” भन्ने नाराका साथ अघि बढिरहेको बताइन् । साथै यस वर्ष सहकारीको सदस्य संख्या उल्लेख्य रूपमा वृद्धि भएको र हाल सेयर सदस्य संख्या ६ सय ७६, दैनिक बचत संख्या २ सय २४, तथा बाल बचत खाता संख्या १ सय ७ पुगेको जानकारी सचिव कसजूले दिइन् ।


कोषाध्यक्ष करूणा महतले भने आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी २८ लाख ६८ हजार १ सय रुपैयाँ र निक्षेप दायित्व १ करोड ६६लाख ११हजार ५ सय २४ रुपैयाँ पुगेको बताइन् ।

कार्यक्रममा उपस्थित सदस्यहरूले सहकारीले स्थानीय महिलालाई आर्थिक रूपमा सक्षम बनाउँदै आत्मनिर्भर जीवनतर्फ अघि बढाउन ठूलो योगदान पुर्‍याइरहेको जनाउँदै आगामी वर्षका योजनासमेत साझा रूपमा तय गरे ।

साधारणसभा समापन गर्दै अध्यक्ष मीना देवी श्रेष्ठले सबै सदस्य, शुभेच्छुक र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै सहकारीको विकासलाई अझै व्यवस्थित र परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्