सिन्धुपाल्चोक | चौतारा साँगाचोकगढी नगरपालिकामा वन डढेलो नियन्त्रण र सुरक्षासम्बन्धी निर्देशिका तयार गर्न गरिएको छलफल सोमबार सम्पन्न भएको छ । नगरपालिका र फरेष्टएक्सन नेपालको संयुक्त पहलमा भएको कार्यक्रममा स्थानीय संरचना, डढेलो जोखिम, तत्काल प्रतिकार्य क्षमता र विभिन्न निकायबीचको समन्वयबारे विस्तृत कुराकानी गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले गरेका थियो भने नगर प्रमुख कृष्णप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । छलफलमा नगर उपप्रमुख, वडा अध्यक्षहरू, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, हरितसेवक, डिभिजन वन कार्यालयका प्रतिनिधि र सामुदायिक वनका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता देखियो । सहभागीहरूले डढेलो नियन्त्रणमा देखिने वास्तविक चुनौती, जोखिम उच्च हुने क्षेत्र, स्थानीय स्रोत–साधनको व्यवस्थापन तथा प्रविधिको प्रयोगले कसरी प्रतिकार्य क्षमता बढाउन सकिन्छ भन्ने विषयमा आफ्ना अनुभव साझा गरे ।

हाल सुख्खा मौसम सुरु भएकाले डढेलोको सम्भावना बढेको जनाउँदै, रोकथामलाई नै पहिलो प्राथमिकताका रूपमा लिनुपर्नेमा सबैको ध्यान केन्द्रित थियो । आगो लागिसकेपछि नियन्त्रण गर्नुभन्दा पहिल्यै त्यसलाई रोक्ने व्यवस्था बलियो हुनुपर्ने, आवश्यक प्रोत्साहन र स्रोतको कमीले स्थानीय तहमा काम गर्न कठिनाइ भएको, र विभिन्न संस्थाबीचको समन्वय अझ स्पष्ट र द्रुत हुनुपर्ने टिप्पणी पनि छलफलमा उठाइयो ।
कार्यक्रममा व्यक्तिगत सुरक्षा, टोलीगत सुरक्षा, स्थल व्यवस्थापन, कार्यसम्पादनका मापदण्ड, आकस्मिक तयारी, उद्धार प्रक्रिया, कानुनी तथा नैतिक जिम्मेवारी र वातावरणीय सुरक्षाबारे विस्तृत रूपमा छलफल गरिएको थियो । सहभागीहरूको सामूहिक मत अनुसार स्थानीय संरचना, जनशक्ति र उपलब्ध प्रविधिको प्रभावकारी उपयोग नगरेसम्म डढेलो नियन्त्रणको क्षमता अपेक्षित स्तरमा पुग्न सक्दैन ।

छलफलका निष्कर्षहरूका बारेमा नगरपालिकाले प्राप्त सुझाव र अभिमतका आधारमा निर्देशिका तथा समन्वय संयन्त्रको अन्तिम ढाँचा तयार गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ । वन डढेलोको जोखिम जहाँ छ, त्यहाँ समुदाय, सुरक्षा निकाय र स्थानीय सरकारबीचको सहकार्य नै मुख्य आधार हुने भन्दै सहभागीहरूले समेत संयुक्त प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता धारण व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्