चौतारा, सिन्धुपाल्चोक — जुगल हिमाल क्षेत्रको प्रचार–प्रसार र पर्यटन विकासलाई मुख्य लक्ष्य राखेर जुगल पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘जुगल हिमाल बेस क्याम्प’ ट्रेकिङ अभियान सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाले शनिबार एक स्टाटस जारी गर्दै यात्रामा साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

कार्यक्रमका आयोजकहरूले चौतारा साँगाचोकगढी नगरपालिकाले प्रदान गरेको आर्थिक सहयोग तथा जुगल गाउँपालिकाले देखाएको संस्थागत प्रतिबद्धताप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् । साथै यात्रा भर मार्गदर्शन र सहयोग उपलब्ध गराउने स्थानीय समुदाय, होटल व्यवसायी, पर्यटन सहयोगी तथा स्वागत–बिदाईमा सधैं तत्पर स्थानीय वडावासीहरूलाई समेत संस्थाले उच्च प्रशंसा गरेको छ ।

यस अभियानको मुख्य विशेषता भनेको नेपालका चर्चित पर्यटन भ्लगर ‘Nepal 8th Wonder’ को टोलीसहित जुगल क्षेत्रको सौन्दर्य अभिलेखन गर्नु रहेको संस्थाले जनाएको छ । भ्लगर टोलीले तयार पारेको श्रव्य–दृश्य सामग्रीले जुगल क्षेत्रको प्राकृतिक आकर्षणसँगै यहाँको सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक पहिचानलाई देश–विदेशमा प्रभावकारी रूपमा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
जुगल हिमाल क्षेत्र केवल प्राकृतिक सुन्दरतामै सीमित नभई स्थानीय जीवनशैली, सामुदायिक एकता, सांस्कृतिक धरोहर र पर्यावरणीय समृद्धिको प्रतिक समेत भएको उल्लेख गर्दै मञ्चले यस्तो अभियानले समग्र क्षेत्रको पहिचान उजागर गर्न मद्दत पुग्ने बताएको छ ।

स्टाटसमा आगामी दिनमा पनि स्थानीय साझेदारी, पर्यावरणीय जिम्मेवारी र दिगो पर्यटनलाई केन्द्रमा राखेर अझ सशक्त कार्यक्रम अघि बढाइने प्रतिबद्धता संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्