२०८२ कार्तिक २९

नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने, यसरी हुनेछ समायोजन

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्य समितिको टुंगो लगाएपछि मात्र सबै तहका समितिमा समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर नेकपा बनाइएको हो ।

कात्तिक १९ गते एकता घोषणामा पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय संयोजक र माधवकुमार नेपाल सहसंयोजक चयन भएका थिए । निर्वाचन आयोगले शुक्रबार नेकपालाई दल दर्ताको प्रमाणपत्र दिइसकेको छ । कात्तिक २३ गते आयोग पुगेर नेताहरूले दल दर्ता प्रक्रियाका लागि पार्टीको विधान, घोषणापत्र र केन्द्रीय समितिको सूची पेस गरेका थिए ।

एकता समायोजनपछि केन्द्रमा नेकपाको चार तहको संरचना बन्ने नेता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार साविक पार्टीको केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई मिलाएर केन्द्रीय समिति बन्नेछ । त्यो समिति १७ सयदेखि १९ सयसम्मको हुन सक्नेछ । विधान अनुसार ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जुन निर्वाचन अयोगमा अध्यावधि हुनेछ ।

‘पहिला हामी केन्द्रीय कार्य समितिको टुंगो लगाउँछौँ । केन्द्रमा चार तहको समिति र एक केन्द्रीय निकाय बन्नेछ । प्रदेश, पालिका र वडा तहमा तीन तहको समिति बन्नेछ’, उनले भने ।

केन्द्रमा केन्द्रीय कार्य समिति, केन्द्रीय समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कार्य संयोजन समिति रहने ज्वालाले जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्य संयोजन समिति आपसी सहमतिका आधारमा कम्तीमा ३५ सदस्यीय बन्नेछ । त्यस्तै केन्द्रीय कार्यसमिति विधानमै ६०१ सदस्यीय रहने व्यवस्था भएकाले सोही अनुसार समायोजन हुने उनले बताए । कार्य समितिबाट १०० जना हाराहारीको सचिवालय बन्न सक्ने ज्वालाको भनाइ छ । केन्द्रीय समिति साविक पार्टीका केन्द्रीय समितिलाई समायोजन गरी बनाइने छ । नेकपामा स्थायी कमिटी र पोलिटब्युरो रहनेछैन ।

नेकपाको अन्तरिम विधान २०८२ को धारा–३८, ३९, ४०, ४१ र ४२ मा क्रमशः केन्द्रीय कार्य समिति, केन्द्रीय समिति, केन्द्रीय सचिवायल, केन्द्रीय संयोजक समिति र केन्द्रीय निकाय रहेन व्यवस्था छ ।

bidhan

यसैगरी प्रदेश, जिल्ला, पालिका र वडा तहमा आपसी सहमतिमै संयोजन समिति, प्रदेश समिति र सचिवालय रहने ज्वालाले जानकारी दिए ।
सबै पार्टीका वार्ता टोलीसहित एकता प्रक्रिया टुंगो लगाएपनि सबै तहका समिति, प्रदेशसभाका संसदीय दल समायोजनका लागि उच्चस्तरीय समोजन समिति बन्न सक्ने ज्वालाले बताए ।
‘अहिलेसम्म वार्ता कार्यदल बसेर नै एकता प्रक्रिया अगाडि बढाएका थियौँ । पार्टी एकता भएपछि आपसी सहमतिमा समायोजन गर्नका लागि केन्द्रमा उच्चस्तरीय समिति बन्नेछ । त्यो समितिमा एकतामा जोडिएका सबै पार्टीका साथीहरू रहनेछन् । प्रदेश, जिल्ला, पालिका र वडामा छुट्टै समायोजन समिति गठन हुनेछ’, उनले भने ।
अर्का नेता हरिबोल गजुरेलले विधान बमोजिम चार तहको समिति र एक केन्द्रीय निकाय रहने बताए । आवश्यकता अनुसार उच्चस्तरीय समायोजन कार्यदल बनाउनेबारे छलफल भइरहेको उनले जनाए ।
‘भर्खर निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र आएको छ । आयोगमा पठाएको केन्द्रीय समिति वैधानिकताका लागि मात्र पठाइएको हो,’ उनले भने, ‘पार्टीको विधान अनुसार आपसी सहमतिमा समायोजन कार्य अगाडि बढ्छ ।’
समायोजन समितिको मोडालिटी ६०/४० प्रतिशतको आसपासमा हुन सक्ने गजुरेलले जानकारी दिए । एकता प्रक्रियामा जोडिएका दलहरू आयोगमै दर्ता भएका पाँचवटा पार्टी छन् । जसमा माओवादी, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा (माओवादी समाजवादी) रहेका छन् । यसबाहेक विप्लव नेतृत्वको नेकपाबाट आएका चिरन पुन समूह, भीम रावल नेतृत्वको मातृभूमि जागरण पार्टी, गोपाल किराती, केशव दाहाल लगायत समूह समायोजनमा जोडिएका छन् ।
नेताहरूलाई जिम्मेवारी दिने विषयमा संयोजक, सहसंयोजक, इन्चार्ज, सहइन्चार्ज साविकका फरक-फरक पार्टीबाट बनाउने तयारी छ ।

 

रातोपाटीबाट

 

 

प्रतिक्रिया दिनुहोस्