२०८२ कार्तिक २३

माधव सापकोटाद्वारा ‘जेन–जेड आन्दोलन’ र वर्तमान राजनीतिक संकटबारे धारणा सार्वजनिक

चौतारा, सिन्धुपाल्चोक — पूर्व प्रतिनिधि सभा सदस्य र नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले आइतबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारा स्थित नेपाल पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गर्दै नेपालको समसामयिक राजनीतिक अवस्था, ‘जनरेशन–जेड आन्दोलन’ र देशको भविष्यबारे आफ्नो धारणा सार्वजनिक गरे ।

सापकोटाले आफ्नो वक्तव्यमा सुशील कार्की नेतृत्वको सरकारलाई उकालीमा ब्रेक फेल भएको गाडीलाई पछाडि सरन नदिन ओत हालेको जस्तो अवस्थामा रहेको टिप्पणी गर्दै अहिलेको राजनीतिक संकट समाधानका लागि सबै दलहरूले आफ्नो नीति, संरचना र सहकार्यमा सुधार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार, “देशलाई स्थायित्व र निकास दिन अब राजनीतिक नेतृत्व नै जिम्मेवार हुनुपर्छ ।”

उनले भने प्रमुख राजनीतिक दलहरूले परिवर्तनको मार्गमा अग्रसर नहुँदा देश फेरि अर्को राजनीतिक दुष्चक्रमा फस्ने खतरा छ । जनताले स्थायित्व र विकासको अपेक्षा गरेको भए पनि दलहरूले पर्याप्त उत्तरदायित्व लिन नसकेको सापकोटाको भनाइ छ ।

सापकोटाले राजनीतिक जीवनमा प्रवेश सजिलो भए पनि विचार र नैतिकता अनुसार स्थायित्व कायम राख्न कठिन रहेको टिप्पणी गर्दै भने, “नेपालमा राजनीतिक प्रवेश सजिलो भए पनि राजनैतिक बिदाईको निश्चित व्यवस्था नहुँदा नयाँ नेतृत्व आउन सकिरहेको छैन ।”

पत्रकार सम्मेलनमा उनले संसदले दिएको अधिकार र जिम्मेवारी भित्र रहेर सकेसम्म काम गरेको दाबी गरे । तर देशमा संवैधानिक अभ्यास र संसदप्रतिको जनविश्वास क्रमशः घट्दै गएको उनी बताउँछन् ।

उनका अनुसार, निरन्तर हुने दलगत विभाजन र नीतिगत अस्थिरताले लोकतन्त्रको गुणस्तर कमजोर बनाएको छ । “धेरै पार्टीहरू साना स्वार्थका कारण टुक्रिँदा शासन प्रणालीप्रतिको जनविश्वास घटेको छ,” उनले बताए ।

सापकोटाले नेपाली कम्युनिस्ट पार्टीको बारेमा पनि कुरा गर्दै देशमा छरिएका कम्युनिस्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याएर एकता निर्माण गर्ने उद्देश्यले एकीकरण अभियान सुरु गरिएको जानकारी दिए ।

अन्तमा उनले चिन्ता व्यक्त गर्दै भने, “राजनीतिक दलहरूले देश र जनताको भावना बुझेर समयमै सुधारका कदम नचाले मुलुकको लोकतान्त्रिक अभ्यास र राष्ट्रिय एकता दुवै संकटमा पर्न सक्छ।”

 

प्रतिक्रिया दिनुहोस्