२०८२ कार्तिक २१

चौतारा भीमसेन र गौराति भीमसेनको गाथा

प्राचिन इतिहासः विक्रम सम्वत्को ५०० भन्दाअघिको समयताका सिन्धुपाल्चोकमा किराँतहरुको बसोबास रहेको बुझिन्छ । किराँती भाषामा प्रायः नामको पछाडि ङ’ अक्षर आउने गर्दछ । यहाँ अहिले पनि चलनचल्तीमा रहेका कतिपय स्थानको नामको पछाडि ङ’ अक्षर झुण्डिन आउँछ । जस्तै फुल्पिङ, पाङताङ, सेलाङ, भोटेनाम्लाङ, भोताङ, हैबुङ, हल्र्याङ्बल्र्याङ् आदि । तर १४००, १६०० ताका भने किराँतीहरुको अस्तित्वको लडाई लड्ने समय रह्यो । यी प्रागः ऐतिहासिक कुराहरुमा अध्ययन हुनु जरुरी छ । पुराना कुराहरुको कतिपय अभिलेखसमेत नरहेकोले यसै हो भन्न सकिने अवस्था पनि छैन । सदरमुकाम चौताराबाट ३ किलोमिटर टाढा रहेको मेलचौरमा किराँती डाँडो भन्ने स्थान छ । त्यहाँ उत्खनन् गरी हेर्दा अभैm पनि किराँतीहरुको चिहान फेला पार्न सकिन्छ । त्यस्तै फुल्पिङ्कोटमा किराँतकालीन् घरहरुका गारो अझै पनि देख्न सकिन्छ । यी प्रमाणहरुले पनि सिन्धुपाल्चोकमा किराँतीहरुको बसोबास रहेको प्रमाण भेटिन्छ ।
मानदेव प्रथम (विक्रमको ५२१५४८) को शासनकालपछि अंशुबर्माकी सुपुत्री भृकटी चीनका राजा स्रोङचङ गम्पोसित विवाह गरी चीन फर्कदा जन्तीहरु फुल्पिङ्कोटको नागी चौरमा बास बस्दा यहाँका किराँतहरुका श्रेष्ठ व्यक्ति ताचुङ्गपा किराँतले उनीहरुलाई बडो सम्मानका साथ मद्यपानसहित भोजन गराएका थिए भन्ने किवंदन्ती छ ।’
चौतारा नामाकरण र मुकामः
यस जिल्लाको सदरमुकाम चौताराको नामाकरण सम्बन्धमा प्रचलित तथ्य, प्रमाण र पूर्वजहरुको भनाई अनुसार राजधानी आसपासबाट मानिसहरु चीनको भोटतर्फ नुन लिन जाने बखत भारी बिसाई थकाई मार्ने र रातपरेमा सोही चौतारीमा बास बस्ने भएकोले यस जिल्लाको सदरमुकामको नाम चौतारा रहन गएको हो छ । सिन्धुपाल्चोकको पहिले प्रशासनिक रेखदेख सीमाना नजिकै रहेको घुम्थाङबाट गरिन्थ्यो ।
चौतारामा ठूलाठूला पीपलका रुखमा चौतारा बनाइएको थियो । पहिले दोलखा, रामेछाप जाने यात्रीहरु पनि बास बस्ने थलो यसै चौतारा नै थियो । काठमाडौंबाट चौताराहँुदै यात्रुहरु दोलखा, सिन्धुली र रामेछाप जाने गर्दथे । त्यस कारण पनि चौतारा सबैको बास बस्ने, थकाइ मार्ने थलोको रुपमा पहिलेदेखि नै प्रचलित थियो । यहाँ बसोबास गर्ने स्थानीय रैथाने नेवारहरु प्रायः काठमाडौं, भक्तपुर र साँखुबाट बसाई सरी आएका हुन् । उनीहरु यहाँ व्यापार व्यवसाय गरेर बसे । आपूmहरुले मान्ने गरेका रितिरिवाजहरु जात्रा गुठीहरु चलाउन थाले । यसरी विस्तारै अन्य स्थानका मानिसहरुलाई पनि चौतारा आकर्षणको स्थान बन्दै गयो । यसकारण पनि परापूर्वकालदेखि नै चौतारा बस्ती बसेको स्थान हो ।
त्यस्तै महाभारतकालमा पाँच पाण्डवहरु गुप्तबास बस्ने क्रममा काभ्रेको पाँचखालमा बास बसेका थिए भन्ने किवंदन्ती रहेको छ । पाँच पाण्डव बास बसेकाले नै सो स्थानको नाम पाँचखाल रहन गएको हो । त्यहाँ बास बसिसकेपछि उनीहरु यता आएका थिए । यहाँ आउँदा गौरातिमा बास बसेको र त्यहीँबाट चौतारामाहुँदै दोलखा गएको भन्ने भनाई रहेको छ । गौराति र दोलखा भीमेश्वर त्यसैबेलादेखि पुजिन थालिएको जनविश्वास गरिन्छ । गौरातिमा प्रत्येक कार्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । सो मेला जिल्लाकै ठूलो मेला हो । मेला भर्न हजारौं भक्तजनहरुको भीड हुने गर्दछ । गौरातिमा पूजा चौताराबाट लगिन्छ । विगतमा पीपलडाँडा गाविस अन्तर्गत पर्ने गौराति भने हाल चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत पर्दछ ।
गौराति भीमेश्वर मन्दिरः
यस जिल्लाको सदरमुकाम चौताराबाट करिब ४ कि.मी. उत्तरतिर प्रसिद्ध भीमेश्वरको मन्दिर छ, जसलाई गौराति भीमेश्वर भनिन्छ । यहाँ कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । यस मेलामा नेपालका विभिन्न ठाउँ र छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । करिब १५२५ मिटरको उचाईमा रहेको यो मन्दिरको सांस्कृतिक र धार्मिक महत्व त छँदैछ, अझ यहाँबाट जुगल हिमाल एवं चारैतिरका सुन्दर दृश्यहरुको दृश्यावलोकन पनि गर्न सकिने भएकोले यसको पर्यटकीय महत्व पनि रहेको छ । साथै पुनर्निर्मित गौराति भीमेश्वर मन्दिर परिसरको २०५३ साल मार्ग २ गतेका दिन तत्कालिन राजा वीरेन्द्रबाट समुद्घाटन भएपश्चात् यस मन्दिरको महत्व अझ बढेको पाइन्छ । ऐतिहासिक प्रमाणका रुपमा वि.सं. १६४२ चढाएको ढलोटको घण्टलाई आधार मान्दा यहाँ विगत ४४० वर्षदेखि पूजाआजा हुदै गरेको मानिन्छ ।
गौरातिको किंवदन्ती
अब गौरातिको बारेमा चर्चा गरौं । त्यस ताका गौरातिमा नेवारहरु र वरिपरि तामाङ घलेहरुको वस्ति रहेको थियो । त्यसताका गौरातिका नेवारहरुको मुलपेशा भनेको खेती किसानी र खेती गर्नको लागि आवश्यक पर्ने मलको लागि गाईपाल्ने ग्वालाहरु बस्ने गर्दथे । एकदिनको कुरा हो एकजना ग्वालाले एउटी राति गाईले विहान दुध दिएन यो क्रम २/४ दिनसम्म चलिरह्यो । यस घटना के कारणबाट भयो भनि खोजी गर्दैगर्दा उक्त गाईले मध्येरातमा गौरातिको अहिलेको भीमसेनस्थान रहेको ठाउँमा निस्किएको ढुङ्गाको शिलामा दूध चढाउने गरेको देखे । यो थाहा पाएपछि ग्वालाले पक्कै पनि यो कुनै भगवानको प्रतीक हो भन्ने ठानी जान्ने मानिसलाई ल्याएर देखाउँदा यो भगवान भीमसेनको हो भन्ने भएपछि त्यहाँका ग्वालाहरु (नेवार, घले, तामाङ र क्षेत्री) सबै मिली पुजाआजा गरी मान्न थाले । यसरी गाई आफैले रातिराति भगवान भीमसेनलाई दूध चढाउने गरेको नै यस ठाउँको नाम गौराति रहन गएको हो । त्यसबेलादेखि नै गौरातिका नेवार, तामाङ, घले र क्षेत्रीहरुको छुट्टाछुट्टै गुठी स्थापना गरी पुजाआजा गर्ने चलन चलाए ।
भीमसेन र भीमेश्वरमा अन्तर
महाभारतकालमा पाँच पाण्डवहरुले १२ बर्ष वनबास र एक वर्ष गुप्तबास बस्ने क्रममा उनीहरु मकवानपुर, सिन्धुली हुदै सिन्धुपाल्चोक र दोलखा पुगेको मानिन्छ । त्यस बेला मकवानपुरको हेटौंडामा घनघोर जङ्गल रहेको र सो स्थान हिँडिम्ब राक्षसको बासस्थान रहेको थियो । हिँडिम्ब राक्षसको बहिनी हिँडिम्बा थिइन् जो भीमसेनसँग प्रेममा परिन् । भीमसेनले हिँडिम्ब राक्षसको वध गरेको र हिँडिम्बा राक्षसीसँग बिहे गरेको कथा महाभारतमा पढ्न पाईन्छ । हिँडिम्बा राक्षसीको नामबाट अप्रभंश भई सो स्थानको नाम हेटौंडा रहन गएको हो भन्ने किंवदन्ती छ । भीमसेनलगायतका पाँच पाण्डवहरु त्यहाँबाट सिन्धुली, काभ्रे, सिन्धुपाल्चोकहुदै दोलखा पुगे । जुनजुन स्थानमा हाल भीमसेनको शक्तिपीठ स्थापना भएको छ; तत् तत् स्थानहरु अहिले चर्चित शक्तिपीठको रुपमा पुजिन्छ । जस्तै सिन्धुलीको मामती भीमसेन, काभ्रेको दाप्चा भीमसेन, चौताराको गौराति भीमसेन र दोलखाको दोलखा भीमसेन । यी स्थानहरुमा पुजिने भीमसेनको शक्तिपीठहरु भीमसेनले सो समयमा स्थापना गरेका महेश्वर हुन् र भीमसेनले स्थापना गरेको महेश्वर भएकाले भीमेश्वर भन्न थालिएको हो । जस्तो कि भगवान् रामले स्थापना गरेको महेश्वरलाई रामेश्वर भनेजस्तै । त्यसैले यी सब शक्तिपीठहरु भीमसेनले स्थापना गरेको महेश्वर हुन् जसलाई भीमेश्वर भनिन्छ भने भीमसेन आपैmमा महेश्वरको सहस्र अंशमध्येका एक अंश हुन् । श्रद्धालुहरुले १२ बजे अगाडिसम्म भीमेश्वरको रुपमा ती शक्तिपीठमा तान्त्रिक विधिबाट पूजाआजा गर्छन् भने १२ बजेपश्चात् भीमसेनको रुपमा पुजाआजा गरी बलिसमेत दिने चलन छ ।
जात्राको सुरुवात
चौताराको भीमसेनलाई कात्र्तिक पुर्णिमाको दिन गौराति भीमेश्वरसँग मिलन गराउने सुरुआत गर्ने कामको सुरुआत भएपछि गौरातिबाट चौतारामा भीमसेनलाई लिन पुजासहित आउने र गौरातिबाट ल्याएको पूजा समाप्त गरि चौताराको गुठी र गौरातिबाट आएका गुठी मिलेर भीमसेनलाई गौरातिमा रथमा राखी लाने गरेको हो । गौरातिमा लानुभन्दा अगाडि सोही दिन विहान घलेहरुको तर्फबाट तात्कालीन् गाउँका प्रमुख “जेठाबूढा” जो घलेहरुबाट हुने चलन थियो उहाँमार्फत् अगाडि पुजा विहान गर्ने चलन जेठाबूढाबाट सो पुजा गरिसकेपछि मात्र अरु सर्वसाधारण र चौताराको गुठीको पुजा गर्ने चलन छ । यो अगाडि पुजा अहिले नगरपालिका प्रमुखबाट गरिन्छ । विहान अगाडि पुजाको समाप्तिपछि राति भीमसेन गौराति लाने समयमा पनि जेठाबूढा’ बाट सिन्दुर जात्रा गरेर मात्र लाने चलन छ र सो कार्य अहिले नगरपालिका प्रमुख या उहाँको प्रतिनिधिबाट हुने गरेको छ । अहिले चौतारामा भएको भीमसेन गुठीमा नेवारहरुको गुठी छ । त्यसमा तामाङ, कुसुले र वि.क.हरु संलग्न छन् भने गौरातिमा नेवार, तामाङ र घलेहरुको गरी तीनवटा गुठीहरु छन् जुन गुठीहरुले संयुक्त रुपमा चौताराबाट लगिएको भीमसेनलाई गौरातिको मानेडाँडामा पुजा गरिसकेपछि मात्र गौरातिको भीमसेनसँग मिलन गराउने चलन छ । यसरी मिलन गराइसकेपछि चौताराको भीमसेनलाई एक रात त्यहीँ राखी भोलिपल्ट सर्वसाधारणको पुजाआजा र बलि चढाउने कामहरु गर्दछन् र यसको समाप्तिपछि चौताराबाट लिन गएका गुठियारहरुको पुजा गरी भीमसेनलाई खेलाई–खेलाई चौतारा फर्काउने प्रचलन छ । कात्र्तिक पुर्णिमाको पर्सिपल्ट चौताराबजार परिक्रमा गरि चँदुवा टाँगिएको प्रत्येक घरमा पुजाआजा गरि राति चौतारा मन्दिरमा भियाउने गर्दछ । सुरुआतमा चौताराको भीमसेनलाई बोरामा राखेर लगिन्थ्यो । कालान्तरमा रथमा राखेर लाने चलन चलाइयो । देउता भित्र्याउन सिन्दुरे जात्रासहित भियाउने चलन छ । गौराति भीमेश्वर भेट गरी फर्केको चौतारा भीमसेनलाई अन्तमा तान्त्रिक पूजाविधिबाट म्हपूजा गरी पुनः मन्दिरमा स्थापना गरेपछि वर्षको चौतारा गौराति जात्रा समापन हुन्छ ।
चौतारा भीमसेनको गाथा
तात्कालीन् चौतारा भोटसँग व्यापार गर्नको लागि चौताराकै बाटो भएर तिब्बतको ल्हासातिर लाग्थे यो व्यापारिक कामको शुरुआत लिच्छवीकालमा भएको पाइन्छ । त्यस समयमा व्यापारिक कामको लागि नेवारहरु र भारी बोक्ने कामको लागि घले र तामाङहरुको बढि प्रयोग हुने गर्दथ्यो । यसै सिलसिलामा चौताराको छाप चौतारा बजार र हुन्द्रुङमा नेवारहरुको वस्ति र नेवारहरुकै बस्ति वरीपरी स्थानमा घले र तामाङहरु बस्थे । त्यसको उदाहरण स्वरुप अहिले पनि चौतारा डाँडाथोक र घले गाउँमा घलेहरु र चौतारा गैरीगाउँ र छापमा तामाङहरुको वस्ति बाक्लो रहेको पाइन्छ ।
नेपालमा मल्लहरुको प्रवेशकै समयमा अर्थात् सम्वत् ९५० तिर अथवा आजभन्दा करिब ११३० वर्ष अगाडि चौताराका घलेहरु नेपाल याने काठमाडौंमा भारी बोक्न जाने समयमा विष्णुमतिको बगरमा भात पकाएर खाने क्रममा तामाद्वारा निर्मित एउटा भकुण्डोजस्तो मुर्ति फेला पारेछ र त्यसलाई घलेहरुले आफ्नो घरमा ल्याई खोपामा राखी देवता मानेर पुजाआजा गर्ने गरे । त्यो मुर्ति चौतारा डाँडाथोकका चाम्टे घलेको पुर्खाले फेला पारेका थिए । त्यस मुर्तिलाई घरमा राखेको केही समयमा घले परिवारका सन्तानहरुमा झाडापखाला, रगत छाद्ने र रगतै छेर्ने तथा घरपालुवा जनावरहरु गाईबाख्रासमेत नराम्ररी बिमारी पर्न थालेपछि सो समयका जान्ने मान्छे झाँक्री तान्त्रिक आदिलाई हेराउँदा देवताको दोष देखाएको भनिन्छ । त्यसको केही दिनपश्चात् निज घलेलाई राति सपनामा उक्त मुर्ति आई म भीमसेन हुँ । मलाई तिमीहरुले पुज्न सक्दैनौं । यहाँका नेवारहरुले मात्र पुज्न सक्छ । त्यसैले मलाई नेवारहरुकोमा बुझाउनू’ भनेपछि चौतारा वरिपरिका नेवारहरु भेलागरि तात्कालीन् चौतारा३ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का स्व. हरिनारायण श्रेष्ठको बाजे लुटनारायण श्रेष्ठका धेरै अगाडिका पुस्ताले बुझीलिई आफ्नै घरको एउटा खोपामा राखी पुजाआजा गर्न थालेका थिए ।
तर भीमसेनले त्यतिले मात्रै चित्त बुझाएनन् । उनको भने मनसाय अर्कै थियो । राति भएपछि त्यो मुर्ति घरबाट गायब हुने र विहान खोजी गर्दै जाँदा हाल भीमसेन मन्दिर रहेको स्थानमा भेटिने गर्न थाल्यो । उक्त स्थानमा पहिले सिस्नुघारी थियो । भीमसेन सधैँ सिस्नुधारी भित्र लुकेर रहने गर्न थाल्यो । त्यसपछि स्थानीयवासी नेवारहरुले उक्त मुर्तिलाई साक्षात् भीमसेन मानी सिस्नुघारीलाई सम्याएर ढुंगाको गाह्रो लगाई त्यहीँ गाह्रोको घेराभित्र मुर्तिलाई राखेर विधिवत् पुजाआजा गर्न थालेको हो ।
त्यस्तै अर्को कथन एउटापनि हाम्रा पुर्खाहरुले छाडेर गएका छन् । त्यो हो माथि उल्लेखित सम्वत्तिर नै एकदिन चौतारा–३ निवासी हरिनारायण श्रेष्ठका पुर्खाले स्थानीय जोचाखोलामा सो मुर्तिलाई फेला पारि घरमा ल्याई पुजाआजा गरिराखेको थियो । तर राति भएपछि त्यही सिस्नुघारीमा नै गएर बस्ने गरेपछि त्यस सिस्नुघारीलाई काटेर त्यही एउटा ढुंगाको गााह्रो तीनतिर लगाई राख्ने गरेको र पछि जात्रा चलाउने चलन चलाई सकेपछि स्व. हरिनारायणकै घरमा अन्तिम पुजा गरि जोचाखोलामा बाटो काटी अब उप्रान्त भीमसेन मुर्ति त्यस खोल्सी काटेर नजावस् भनि जात्रा समाप्त गरि मन्दिरमा भिœयाउने चलन छ । यो जोचा खोलामा अहिलेसम्म पनि भीमसेनजात्रा बजार परिक्रमापछि अन्तिम पुजा गरी बाटो काट्ने चलन छ । भीमसेन स्थापना सम्बन्धी दुवै कथन सम्बन्धी बाटो काट्ने काम जोचाखोलामा गरिएको मिल्दछ किनभने पहिले पहिले काठमाडौं जाँदा जाने बाटो पनि त्यही जोचाखोला काटेर जानु पथ्र्यो । यही कारणले जोचाखोलामा दशैंको जमरा निकाल्दा जमराका प्रतिकहरु उखु, केरा, अदुवा र सयपत्री पूmलको बोट, जमरा, समेबजी राखी बत्ति बाली भीमसेनकै नाममा सेलाउन जाने प्रथा अझैसम्म चलेको छ ।

प्रतिक्रिया दिनुहोस्