विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश उर्फ खाम्सोङ तामाङले आफ्नै विद्यालयकी प्रधानाध्यापकमाथि हातपात गरेका छन् ।
सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका वडा १ स्थित भूवनेश्वरी आधारभूत विद्यालयकी प्राधानाध्यापक अञ्जना भण्डारीलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कुटपिट गरेको बताइएको छ । व्यवस्थापन समितिको बैठक चलिरहेकै बेला प्रधानाध्यापक भण्डारीको आँखामा पर्ने गरि मुक्का प्रहार गरेको प्रधानाध्यापक भण्डारीको आरोप छ ।
अध्यक्ष तामाङको प्रहारबाट प्रधानाध्यापक भण्डारीको आँखामा गम्भीर चोट लागेको र धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेको बेला अध्यक्ष तामाङले आफूमाथि एक्कासी कुटपिट गरेको पीडित भण्डारीको भनाइछ ।
उनका अनुसार कार्तिक १८ गते बैठक बस्नका लागि सबै सदस्यहरुलाई पत्र काट्न अध्यक्ष तामाङले आदेश दिएको थियो । सोही अनुसार पत्र काटि सो दिन बैठक बसिरहेको थियो । तर पत्र लेख्ने बेलामा भूलबस बैठक बस्ने मिति कार्तिक १८ गते हुनुपर्नेमा कार्तिक १७ गते भएको थियो । सोही त्रुटीलाई लिएर अध्यक्ष तामाङले आँखामा नै गम्भीर चोट लाग्ने गरि आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक भण्डारीको आरोप छ ।
गल्ति स्वीकार गर्दै आफूले पटकपटक माफी माग्दा पनि बैठकको निर्णय लेखिरहेको बेला “हाम्रो ठाउँमा आएर हामीसँगै नै मखुमुुखै लाग्ने” भन्दै आँखामा नै मुक्का प्रहार गरेको पीडित प्रधानाध्यापक भण्डारीले बताइन् । यसअघि पनि अध्यक्ष तामाङले आफू लगायत अन्य शिक्षकहरुलाई पनि टर्चर दिने गरेको प्रधानाध्यापक भण्डारीले आरोप छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १४ निवासी पीडित भण्डारी २०८० सालमा स्थायी नियुक्तिपश्चात सो विद्यालय गएकी थिइन् ।
घटनाको घोर भत्सर्ना गर्दै नेपाल शिक्षक महासंघ, पालिका कार्य समिति इन्द्रावती, एकीकृत अखिल नेपाल शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।
जन आस्थाबाट
प्रतिक्रिया दिनुहोस्