२०८२ कार्तिक १

मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये दुई पूर्ण रूपमा बन्द

सिन्धुपाल्चोक  |  जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा संयुक्त अनुगमन गरिएको छ। मंगलबार गरिएको अनुगमनका क्रममा कानूनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा नगरि संचालित विभिन्न स्वास्थ्य संस्था विरुद्ध कारबाहीको प्रकृया अगाडी बढाइएको त्यस्तैे केहि संस्थालाई मापदण्डमा आउन म्याद दिइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाइले जानकारी दिनुभयो । जनस्वास्थ्य ऐन २०७५ , जनस्वास्थ्य नियमावली २०७७ र बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ ,प्रदेश स्वास्थ्य सेवा नियमावली (दोस्रो संशोधन) नियमावली २०८१ अनुसार मापदण्ड पालना नगरेमा कारबाही गरिने उहाँले बताउनुभयो । अनुगमन टोलीले मेलम्ची बजारमा रहेको इन्द्रावती डेन्टल क्लिनिक प्रा.ली र जुगल डेन्टल क्लिनिकलाई पूर्ण रूपमा बन्द गरेको छ।

दुवै संस्थाले स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक अनुमति र मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल बन्द गरिएको बजगाइले बताउनुभयो । विगतमा विनायक पोलिक्लिनिक नामबाट सेवा सञ्चालन गर्दै आएको हाल विनायक फार्मेसीको नाममा संचालित फार्मेसीले समेत अवैध रूपमा सञ्चालन गर्दै आएको ल्याब र डेन्टल सेवा पुर्ण रुपमा बन्द गरिएको छ । मेलम्ची पोलिक्लिनिक प्रा.लीले भने संस्था नवीकरणका लागि आवश्यक केही मापदण्ड पूरा नगरेको भन्दै ३० दिने म्याद दिइएको बताइएको छ । त्यस्तै मेलम्चीमा संचालित शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको ल्याब र एक्स–रे सेवा बन्द गरिनुको साथै केही सङ्कास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको छ। अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानूनअनुसार अनुमति प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने र बिरामीको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्न नपाइने चेतावनी दिएको छ । जिल्लाको संयुत्त अनुगमन टोलीले जिल्लाभर अनुगमनलाई तिब्रता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्