२०८२ कार्तिक २

विश्व हुलाक दिवस : आधुनिक प्रविधिसँग जोड्नुपर्ने आवश्यकता पहिचान

सिन्धुपाल्चोक । जिल्ला हुलाक कार्यालय सिन्धुपाल्चोकले १५१औं विश्व हुलाक दिवस २०२५लाई “हुलाक सेवा : विश्वासिलो सञ्चार र जनसेवाको माध्यम” भन्ने मूल नाराका साथ विविध कार्यक्रममार्फत उत्साहका साथ मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि आचार्यले हुलाक सेवाको ऐतिहासिक योगदान र यसको निरन्तर महत्त्वलाई स्मरण गर्दै हुलाकलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले भने “डिजिटल युगमा पनि हुलाक सेवाको पहुँच र विश्वास आज पनि जनजीवनको अभिन्न हिस्सा हो । यसको सुदृढीकरणका लागि सबैको सहभागिता आवश्यक छ।”

यसै अवसरमा उत्कृष्ट सेवाग्राही, निवृत्त तथा बाहालवाला कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । प्रमुख सेवाग्राहीको रूपमा मुंगा दुलाल, उत्कृष्ट निवृत्त कर्मचारी रुद्रप्रसाद दुलाल र उत्कृष्ट कार्य सम्पादन गर्ने बाहालवाला कर्मचारी करुणा महतलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको हो ।

विश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत चौतारास्थित वृद्धाश्रममा फलफूल वितरण गरी समाजसेवी भूमिका निर्वाह गरेको छ । साथै, कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्दै स्वच्छ वातावरणमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको थियो । यससँगै हुलाक कार्यालयले तीन दिनसम्म दीपावली कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्