२०८२ कार्तिक ३

सुनकोशी गाउँपालिकामा बस दुर्घटना, ३ नाबालकसहित २० जना घाइते

सिन्धुपाल्चोक —  सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मंगलबार साँझ भएको बस दुर्घटनामा ३ नाबालकसहित २० जना घाइते भएका छन् । रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ गइरहेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस साँझ करिब ४ बजेर २५ मिनेटमा सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनापछि प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको नेतृत्वमा ७ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्‍याएको जनाएको छ।

प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको र कसैलाई गम्भीर चोटपटक लागेको छैन । प्रारम्भिक अनुसन्धानअनुसार बस तीव्र गतिमा रहेकाले अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्