२०८२ कार्तिक २

पाँच स्थानको पहिरो हटाउँदै बाह्रबिसे–कोदारी सडक सञ्चालन नजिक

सिन्धुपाल्चोक — लगातार एक महिनादेखि पहिरोका कारण अवरुद्ध अरनिको राजमार्गको  आइतबारबाट ट्र्याक खुलेको छ । बाह्रबिसे–कोदारी खण्डको पाँच स्थानमा खसेका पहिरो पन्छाएपछि चीनसँग जोडिएको नेपालको प्रमुख उत्तर नाका तातोपानीसम्मको बाटो सञ्चालनयोग्य बनेको हो ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सोमबारबाट ग्राभेलको काम सुरु गर्ने तयारी छ, जसपछि मात्र सवारी साधन नियमित सञ्चालनमा ल्याइनेछ ।

उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन, घट्टेखोलामा एक र कोदारीतर्फ एक गरी पाँच स्थानमा पहिरो खसेको थियो । ती पहिरो पन्छाउन कार्यालयले ३ वटा एस्काभेटर, ३ लोडर, १३ टिपर र करिब ४० जना मजदुर परिचालन गरेको थियो । इलेक्ट्रो हाइड्रो कम्पनीको समेत सहयोगमा सडक खुलाइएको हो ।

भदौ ८ गतेदेखि पूर्ण रूपमा बन्द भएको यो सडक खोल्न पटक–पटक प्रयास भए पनि लगातारको वर्षा र लेदो–ढुंगामिश्रित पहिरोले गर्दा बाटो सञ्चालनमा आउन सकेको थिएन । यसले स्थानीय आवागमनसँगै चीन–नेपाल व्यापारसमेत ठप्प बनाएको थियो ।

सडक खुलाउने क्रममा पहिरोमाथिका करिब दुई सय घरधुरी जोखिममा परेपछि स्थानीयले दीर्घकालीन समाधानबिनाको अस्थायी काम नगर्न माग गर्दै सुरुवाती चरणमा अवरोध गरेका थिए । तर असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकले स्थानीयको माग सम्बोधन गर्ने र कात्तिक मसान्तसम्म ठेक्काको सूचना निकाल्ने सहमति गरेपछि काम अघि बढेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका अन्तरिम चुनावी सरकारका मन्त्री कुलमान घिसिङले सडक खुलाउने कार्यलाई प्राथमिकतामा राख्दै निर्देशन दिएपछि एक साताभित्र ट्र्याक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्