२०८२ मंसिर ८

चट्याङको क्षतिपछि ७० दिन बन्द रहेको रेडियो सिन्धु पुनः प्रसारणमा

सिन्धुपाल्चोक । जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सिन्धु १०५ मेगाहर्ज’ ले करिब ढाई महिनापछि पुनः प्रसारण सुरु गरेको छ । असार २२ र २४ गतेको चट्याङ प्रहारले सम्पूर्ण उपकरण नष्ट भएपछि रेडियो प्रसारण अवरुद्ध भएको थियो ।

रेडियो सञ्चालक समितिकी कोषाध्यक्ष दिलमाया खड्काका अनुसार, चट्याङका कारण करिब ३० लाख रुपैयाँ बराबरको उपकरणमा क्षति पुगेको थियो । उक्त क्षतिपछि समुदायस्तरमै सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । ७० दिनको अवधिमा विभिन्न निकाय, स्रोता र शुभचिन्तकबाट १२ लाख ४० हजार रुपैयाँभन्दा बढी सहयोग जुटाइएको उनले जानकारी दिइन् । साथै, चौतारास्थित सेवा कम्युटर सेन्टरले २ थान कम्प्युटर सेट र ब्रोडकाष्ट ग्रुपले १ थान अडियो मिक्चर सहयोगस्वरूप उपलब्ध गराएको रेडियोले जनाएको छ ।

रेडियोका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्थानीय समुदायको साथ, शुभेच्छा र सहयोगकै कारण रेडियो पुनः सञ्चालनमा आएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण संरचना र उपकरणको व्यवस्थापनपछि ७१औं दिनदेखि परिमार्जनसहित प्रसारण सुरु गरिएको हो। समुदायको विश्वासबिना यो सम्भव हुने थिएन ।”

७० दिनसम्म प्रसारण अवरुद्ध हुँदा श्रोतामाझ परेको असुविधाप्रति क्षमायाचना गर्दै रेडियोले अब अझ परिष्कृत सामग्री, स्तरीय कार्यक्रम र सामुदायिक आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ ।

रेडियो परिवारले सहयोगी हातहरूप्रति आभार प्रकट गर्दै भविष्यमा पनि श्रोता र समुदायकै साथमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्