चौतारा । दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा बजार अनुगमनलाई थप कडाइ गरिएको छ । मंगलबार मात्रै चौतारा क्षेत्रमा सञ्चालन भइरहेका १९ वटा होटल तथा खाजाघरमा गरिएको अनुगमनमा धेरैले बिना लाइसेन्स मदिरा बिक्री गर्दै आएको तथ्य खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय र चौतारा साँगाचोकगढी नगरपालिकाको संयुक्त टोलीले अनुगमन गर्दा मूल्यसूची नटाँस्ने, किचेन अस्वच्छ राख्ने, कागजपत्र नवीकरण नगर्ने तथा दर्ता नै नगरी व्यवसाय सञ्चालन गर्ने जस्ता कमजोरीहरू भेटिएका छन् । उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलका अनुसार, सम्बन्धित व्यवसायीलाई एक हप्ताभित्र आवश्यक लाइसेन्स लिन समय दिइएको छ । उनले चेतावनी दिँदै भने, “निर्धारित समयसीमा भित्र दर्ता नगरेमा कानुनी कारबाही हुनेछ ।”
नगरपालिकाका सूचना अधिकारी पेशल कुमार पोखरेलले दर्ता नगरेर सञ्चालन भइरहेको एक होटललाई तत्काल दर्ता गर्न कडा निर्देशन दिएको जानकारी दिए । उपभोक्ता अधिकारकर्मी संसार श्रेष्ठका अनुसार धेरै व्यवसायी कानुनी प्रावधानबारे अनभिज्ञ छन् । उनले व्यवसायी मात्र होइन, उपभोक्ता दुवैलाई सचेत बनाउने खाँचो रहेको उल्लेख गरे ।
बजार अनुगमन टोलीका सदस्यहरूका अनुसार चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न, लत्ताकपडा, माछा–मासु, तरकारी, फलफूललगायतका पसलमा पनि नियमित अनुगमन भइरहेको छ भने यता, स्थानीय व्यवसायीहरूले अनुगमनलाई स्वागत गर्दै यसलाई सुधारको अवसरका रूपमा लिएका छन् । “तत्काल जरिवाना गरेर डराउने होइन, सुधार गर्न चेतावनी दिने उद्देश्य देखिन्छ, यसले हामीलाई व्यवस्थित हुन मद्दत पुर्याउँछ,” एक व्यवसायीले प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्