२०८२ मंसिर १७

उज्यालो नेपाल अभियानको अन्तर्राष्ट्रिय प्रचारपछि नेपाल कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ करिब एक महिना लामो अमेरिका तथा युरोप भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन् । “उज्यालो नेपाल अभियान”लाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा उनले प्रवासी नेपाली समुदाय, वैज्ञानिक, व्यवसायी, विद्यार्थी र अभियन्ताहरूसँग प्रत्यक्ष संवाद गरेका थिए ।

भ्रमणका क्रममा विभिन्न कार्यक्रम तथा अन्तरक्रियामा सहभागी भएका घिसिङले प्रवासी नेपाली समाजबाट पाएको साथ र समर्थनले आफू अत्यन्तै उत्साहित भएको बताए । उनले न्यूयोर्कमा ‘हामी नेपाली ग्लोबल’बाट प्राप्त ‘ग्लोबल हिरो अवार्ड’, अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्स एशोसिएसनको प्रमुख वक्ताको भूमिका,  तमुधिं युके र एनआरएनए युके लगायत संघसंस्थाबाट पाएको सम्मानलाई “उज्यालो नेपाल अभियान”प्रतिको विश्वासको अभिव्यक्ति भएको उल्लेख गरे ।

यस्तै, बेल्जियम, पोर्चुगल, माल्टा, नेदरल्याण्ड्स, लक्जेमबर्ग, स्कटल्याण्डलगायत मुलुकमा रहेका प्रवासी नेपाली संघ–संस्थासँगको भेटघाट तथा अन्तरक्रियाले अभियानलाई अझ सशक्त बनाउन प्रेरणा मिलेको उनले बताए । हार्वर्ड, एमआइटी जस्ता विश्वप्रसिद्ध विश्वविद्यालयमा कार्यरत नेपाली वैज्ञानिक, प्राध्यापक तथा अनुसन्धानकर्तासँगको छलफललाई उनले भविष्यको ऊर्जा रणनीतिका लागि मार्गदर्शनको रूपमा लिएको बताए ।

नेपाल फर्किएपछि घिसिङले भ्रमणमा उठेका सुझावलाई आत्मसात गर्दै अभियानलाई अझ व्यवस्थित तरिकाले अघि बढाइने बताए । उनले प्रवासी नेपाली, विशेषगरी भूतपूर्व गोर्खा सैनिकका समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनीहरूको मागमा सधैं साथ र समर्थन रहने प्रतिबद्धता पनि जनाए ।

घिसिङले प्रवासी नेपाली समुदाय, राजदूतावास, महावाणिज्य दूतावास, संघ–संस्था र स्थानीय सहयोगीहरुप्रति विशेष धन्यवाद व्यक्त गर्दै “उज्यालो नेपाल”लाई सबै नेपालीको साझा सपना र अभियानका रूपमा अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्