२०८२ आश्विन १९

विभाजित मानसिकताबाट अतिक्रमित भूभाग फिर्ता आउँदैन : प्रदेश संसद दुलाल

सिन्धुपाल्चोक । बागमती प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले नेपालको अतिक्रमित भूमि फिर्ता गर्न दलगत विभाजनभन्दा माथि उठेर एकता आवश्यक रहेको बताएका छन् । विभाजित मानसिकताबाट नेपालको अतिक्रमित भूभाग फिर्ता नआउने उनको धारण छ ।

प्रदेशसभामा बोल्दै उनले राष्ट्रवादलाई कमजोर बनाउने आरोप–प्रत्यारोप र अस्वस्थ प्रतिस्पर्धाबाट कुनै फाइदा नहुने स्पष्ट पारे । “हामी सबै नेपाली राष्ट्रवादी हौँ, तर विभाजित मानसिकता र एक–अर्कामाथि लगाइने दोषारोपका कारण हाम्रो भूमि फिर्ता आउने सम्भावना कमजोर हुन्छ,” दुलालले भने ।
उनले लिपुलेक, कालापानीलगायत अतिक्रमित भूभागबारे प्रदेशसभामा साझा संकल्प ल्याई संघीय सरकारलाई पठाउनुपर्नेमा जोड दिए । दुलालका अनुसार यस्तो कदमले संघीय सरकारलाई समेत बलियो सन्देश दिनेछ ।

उनले छिमेकी देशसँग वार्ता र अन्तर्राष्ट्रिय समुदायको पहलमार्फत सहकार्य गरेर मात्र अतिक्रमित भूभाग फिर्ता लिन सकिने भन्दै प्रदेशसभामा त्यस सम्बन्धी संकल्प प्रस्ताव पारित गरि सबै दललाई एकमत भई राष्ट्रिय स्वाभिमान र भूमिसुरक्षाको पक्षमा ठोस कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्