नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले संगठित रूपमा मानव अंग बेचबिखन (किड्नी)को कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला सुनकोसी ७ का ३८ वर्षीय श्याम कृष्ण भण्डारी र इन्द्रावती २ का २१ वर्षीय सुजन भण्डारीलाई पक्राउ गरिएको ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ब्यूरोका अनुसार, उनीहरूले सिन्धुपाल्चोक सहित सिन्धुलि, नुवाकोट लगाएत विभिन्न जिल्लाबाट मानव बेचबिखनको उद्देश्यले मानिसहरूलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीमा लगेर गैरकानुनी रूपमा मिर्गौला झिक्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडितहरूले दिएको बयानअनुसार, अभियुक्तहरूले उनीहरूलाई आर्थिक प्रलोभन देखाएर नेपालका विभिन्न जिल्लाबाट भारतको नयाँ दिल्ली पुर्याएका थिए। दिल्लीमा उनीहरूलाई अलग-अलग होटलमा राखिएको थियो र परिचय खुल्ने कागजपत्र समेत राखिएको थियो।
त्यसपछि, उनीहरूलाई अस्पतालमा लगेर मिर्गौला दान गर्न लगाइएको थियो। अस्पतालमा ल्याब टेस्ट र अन्य प्रक्रिया पूरा गरेपछि शल्यक्रिया गरेर मिर्गौला निकालिएको थियो। यसबापत पीडितहरूलाई प्रतिमिर्गौला ६ लाख रुपैयाँ दिने भनिए पनि विभिन्न बहाना बनाएर निकै कम रकम मात्र दिइएको पाइएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले ‘अपरेशन लाइफ शिल्ड’ नामक अभियान अन्तर्गत यो अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका श्याम कृष्ण भण्डारी र सुजन भण्डारीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार आवश्यक कारबाहीका लागि अदालत पेस गरिएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, यस अपराधमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ। अनुसन्धानका क्रममा थप जानकारी प्राप्त भएपछि दोषीमाथि थप कारबाही गरिनेछ।
प्रहरीले यस घटनामा मिर्गौला दलाल, बिचौलिया, अस्पतालका कर्मचारी, एजेन्ट लगायतको संलग्नता हुन सक्ने भन्दै थप अनुसन्धान जारी राखेको छ।
खुल्ला पाना
प्रतिक्रिया दिनुहोस्