सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–७ स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१० नहरचोक बस्दै आएकी दुई दिदीबहिनी मंगलबारदेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी १३ वर्षीया बहिनी रोशनी विक रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिएका छन् । मंगलबार बिहान “सिन्धुपाल्चोक जान्छौं” भनेर घरबाट निस्किएका उनीहरू त्यसपछि सम्पर्कविहीन बनेका परिवारजनले बताएका छन् ।
बेपत्ता भएको भन्ने उजुरी परेपछि प्रहरीले खोजी कार्य प्रारम्भ गरेको छ । उनीहरूको अन्तिम मोबाइल लोकेशन काठमाडौं आसपास देखिएकाले काठमाडौं प्रहरीसँग समेत समन्वय गरी खोजी कार्य अघि बढाइएको एसपी पुरीले बताए ।
यदि रिना र रोशनीलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गर्न परिवारले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्