सिन्धुपाल्चोक – नेपालमा मात्र पाइने दुर्लभ र स्थानीय प्रजातिको वनस्पति थुनबर्जिया कसजुआनालाई संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले नेपाल सरकारले यस प्रजातिको चित्र समावेश गरिएको डाक टिकट जारी गरेको छ ।
थुनबर्जिया कसजुआना एक लहरे वनस्पति हो जसको उचाइ करिब ४ मिटरसम्म पुग्छ । यो वनस्पति केवल भक्तपुर जिल्लामा २००० देखि २१०० मिटर उचाइमा पाइने मिश्रित वनमा मात्र फेला पर्छ । यसका फूल हरियो पातको काँखमा एक्लै उम्रने गर्छन् र गुलाबी रङका हुन्छन् । यस वनस्पतिको फूल फुल्ने समय भदौ र असोजमा हुन्छ भने फल लाग्ने समय मंसिरसम्म रहने गर्दछ ।
यस दुर्लभ वनस्पतिको नाम नेपाली नागरिक वैज्ञानिक सरोजकुमार कसजु को सम्मानमा राखिएको हो। उनी हाल काठमाडौमा बसोबास गर्दै आए पनि उनको जन्म भने सिन्धुपाल्चोकको चोैतारामा भएको थियो । स्थानिय स्तरमै पाइने यस्तो महत्त्वपूर्ण प्रजातिलाई संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २०८१ चैत १७ गते देखि १० रुपैयाँ अंकित मूल्य भएको डाक टिकट जारी गर्ने निर्णय गरेको हो ।
डाक सेवाका अनुसार उक्त टिकटमा थुनबर्जिया कसायुआना को चित्र समावेश गरिएको छ। यस कदमलाई नेपालमा मात्र पाइने वनस्पतिको संरक्षण र त्यसको विश्वव्यापी परिचयका लागि महत्त्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्