२०८२ कार्तिक २

कृष्ण जन्माष्टमीमा चौतारामा भव्य कार्यक्रम, भक्तालुहरूलाई प्रसाद वितरण

सिन्धुपाल्चोक — भगवान् श्रीकृष्णको जन्मजयन्तीको पावन अवसरमा शनिबार देशैभर विभिन्न धार्मिक कार्यक्रमहरू गरी श्रीकृष्ण जन्माष्टमी भव्यतापूर्वक मनाइएको छ।

भगवान् विष्णुको आठौँ अवतारका रूपमा पूजिने श्रीकृष्णको जन्म महाभारतकालमा अन्याय, अत्याचार र अधर्म अन्त्य गरी धर्म स्थापना गर्ने उद्देश्यसहित भएको विश्वास गरिन्छ। सत्य, धर्म र प्रेमको जयगान गर्ने दिनका रूपमा प्रत्येक वर्ष श्रावण कृष्ण अष्टमीका दिन यो पर्व मनाइँदै आएको छ।

यसै सन्दर्भमा चौतारा पुरानोबजारस्थित कृष्ण मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। बिहानैदेखि व्रत बसेका भक्तजनहरूले पूजा–आराधना, भजन–कीर्तन र कृष्ण दर्शन गर्दै जन्माष्टमी पर्वको उल्लास मनाए।

कार्यक्रमका क्रममा रामज्योति फाउन्डेशनले मन्दिरमा आएका भक्तालुहरूलाई प्रसाद वितरण गरेको थियो। स्थानीयस्तरमा गरिएको यस धार्मिक गतिविधिले कृष्णप्रतिको आस्था अझ गहिरो बनाएको सहभागीहरूको भनाइ छ।

कृष्ण जन्माष्टमी केवल धार्मिक पर्व मात्र नभई सत्य, धर्म र सदाचारको विजयको सन्देश दिने दिनका रूपमा चिनिन्छ। चौतारामा सम्पन्न प्रसाद वितरण र भक्तजनहरूको भीडले यस वर्षको जन्माष्टमीलाई अझ अर्थपूर्ण बनाएको छ।

प्रतिक्रिया दिनुहोस्