काठमाडौं, साउन २९ — कोदारीस्थित इको पहिरोको दीर्घकालीन समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा सिंहदरबारमा विस्तृत छलफल सम्पन्न भएको छ। छलफलमा सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैसी, भूगर्भविद् डा. रञ्जन दाहाल, स्थानीय जनप्रतिनिधि, विभिन्न दलका नेता तथा व्यवसायी सङ्घ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
बैठकले वर्षायाममा जमिनभित्र पानी प्रवेश रोक्न प्लास्टिक र त्रिपालको प्रयोग गरी सतह आवरणको व्यवस्था गर्ने र जमिन धसिने प्रमुख कारणको रूपमा पहिचान गरिएको भित्रको पानी निकाल्न ड्रिलिङ प्रविधि प्रयोग गर्ने निर्णय गरेको छ। यससँगै थप पहिरोको जोखिम रोक्न आवश्यक स्थानमा ग्याभियन वाल निर्माण गर्ने कार्य अघि बढाइनेछ।

यस्तै, सबै निर्माण तथा मर्मतसम्भारका काम आगामी भदौ १५ भित्र सम्पन्न गरी अरनिको लोकमार्ग सञ्चालनमा ल्याइने भएको छ। यसका लागि सम्बन्धित निकायलाई आवश्यक स्रोत र साधन तत्काल परिचालन गर्न निर्देशन दिइएको जानकारी प्रतिनिधि सभा सदस्य माधव सापकोटाले दिएका छन्, उनी यस विशेष छलफलमा समेत सहभागी थिए।
बैठकले इको पहिरोलाई विपद् क्षेत्र घोषणा गर्दै दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक स्रोत–साधनको प्रबन्ध गर्ने सहमति जनाएको छ। साथै, यस महत्त्वपूर्ण कार्यमा सबै सरोकारवालाको सकरात्मक पहल, सक्रिय सहयोग र जिम्मेवार भूमिका आवश्यक रहेको निष्कर्ष पनि निकालिएको छ।
प्रतिक्रिया दिनुहोस्