२०८२ भाद्र ११

कम्युनिष्ट आन्दोलनका अनेकौं खेल र झेल

कम्युनिष्ट संगठन प्रणालीमा सत्ता प्राप्तिको नियम स्पष्ट छ—अल्पमत बहुमतको मातहत हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटी रहन्छ र सम्पूर्ण पार्टी महाधिवेशनमुन्तिर हुन्छ । यस संरचनाले सैद्धान्तिक अनुशासन कायम राख्न खोज्छ तर व्यवहारमा त्यो कति प्रभावकारी छ ? खेलमा झेल हुन्छ, हाम्रै अभ्यासलाई नियालौँ । संसारकै कर्पोरेट नेतृत्व प्रणालीमा पनि निर्णयाधिकार शेयरको अनुपातमा निर्धारण हुन्छ । संसदमा पनि संख्यात्मक शक्ति नै निर्णायक हुन्छ । तर मूल प्रश्न रहन्छ— सत्ताको नेतृत्व कसरी प्राप्त गर्ने र टिकाउने ? के यो आदर्श, विधि, नियम र सिद्धान्तमा आधारित हुन्छ ? कि व्यावहारिक राजनीतिक व्यवस्थापन, कलात्मक खेल र शक्ति केन्द्रित रणनीतिले सबै कुरा निर्धारण गर्छ ? सहज उत्तर नेतृत्वको नियत र देखिने अभ्यासले छर्लंग बनाउँछ ।

सत्ताको शास्त्रीय परिभाषा फेरिए पनि संस्कार फेरिएन । पञ्चायत– इतिहास बनेको ४६ वर्ष भयो । महेन्द्रमाला पढेर हुर्किएका नेता शासन र आसनमा छन । महेन्द्रमालामा लेखिएको थियोः बहुदलीय व्यवस्था असफल हुनुका कारण ।’  पञ्चायती युगमा ‘गाउँफर्क अभियान’ भन्ने एउटा नियन्त्रणकारी संस्था हुन्थ्यो । जसको कार्य थियो—कम्युनिष्ट वा कांग्रेस समर्थकहरू पञ्चायती संरचनाभित्र नआउने कुरा सुनिश्चित गर्नु । पहिलो चरणमा वर्गीय संगठनको सदस्यता लिन लगाइन्थ्यो । त्यसपछि पनि असंख्य प्रशासनिक अड्चन खडा गरिन्थ्यो । चुनावसम्म पुग्न सफल भए पनि प्रत्यासीले सिडिओ र अञ्चलाधीशको कृपापात्र बन्नै पथ्र्यो । दरबारबाट प्राप्त हुने प्रमाणपत्र विना राष्ट्रिय राजनीतिमा प्रवेश असम्भवजस्तै हुन्थ्यो । केही अपवादमा रामराजाप्रसाद सिह, रूपचन्द विष्ट वा मालेको जनवादी हस्तक्षेप रहे ।

भण्डाराको सुकुचा— एक प्रतीकात्मक प्रसंग

०२८ सालतिर पूर्वी चितवनको भण्डारास्थित एक नम्बर वडामा सम्पन्न चुनावमा राष्ट्रिय राजनीतिक महत्वाकांक्षा बोकेका विश्वबन्धु थापा र चर्चित ‘लडाकु’ सुकुचाबीच भिडन्त भयो । सुकुचा विजयी भए र थापाको राष्ट्रिय राजनीतिमा प्रवेशको ढोका नै बन्द गराइदिए । प्रजातन्त्रको आवरण ओढेर महेन्द्रीय राष्ट्रवाद भित्र्याउने थापालाई भण्डाराले भने साथ दिएन । त्यो क्षेत्रको अर्को द्वन्द्व थियो– पाठक बनाम मैनाली समूहबीच । सुकुचा मैनाली समूहका ‘लडाकू’ थिए । तर, पाठक समूहले नै सुकुचालाई आफ्नो पक्षमा तानेर सन्तुलन बिगारिदियो । प्रचार अभियान सञ्चालनका लागि सूर्यबहादुर थापा स्वयं लोथरमै बसेर कमाण्ड सञ्चालन गरे । धारा र नक्कली लालपुर्जा कति बाँडियो कति ! यो घटनाक्रम सत्ताको लागि कसरी प्रतिद्वन्द्वीलाई ‘ठाउँका ठाउँ’ राखिन्छ भन्ने ऐतिहासिक पाठ हो । यो नियन्त्रणको चरम रूप एउटा उदाहरणले प्रष्ट पार्छ ।

सुकुचाको छायाँमा विद्या भण्डारी

एमाले नेतृत्वपंक्तिमा विद्या भण्डारी र केपी ओलीको ट्युनिङ असाध्य मिल्थ्यो । भण्डारीसँग मदनको उत्तराधिकारीको लिगेसी थियो भने ओलीसँग झापा किसान विद्रोह र जेल जीवनको । तर, ती सारा हार्दिकता अहिले झर्‍यामझुरुम भए । आजको सन्दर्भमा भण्डारीको सदस्यता विवाद र सुकुचाको कथा एकै मानसिकता र प्रवृत्तिको निरन्तरताजस्तै लाग्छ ।

के प्रभाकरहरू आफैँ भ्रष्टाचार वा परिवारवादबाट जोगिन सकेका छन् ?        

सर्वज्ञ र सर्वसत्तावादको चुनौती अहंकारलाई काउण्टर पन्च बन्छ । एक्लै दौडेर धावक म्याराथन जित्ने चिन्तन भयवादको ग्रसित उच्चताबोध हो । उच्चताबोध वा हीनताबोध दुवै डिप्रेसनका लक्षण हुन्छन् । ओलीसँग शक्ति र बहुमतको वैधानिकता भएकाले आँखा जुधाउन सक्ने नैतिक शक्ति भएको संख्या अत्यन्तै कम छ । शक्तिको भजनमा हिजोका आदर्शवादी र सिद्धान्तकारहरूसमेत झुकेको देखिन्छ । विधि, नियम, आचारसंहिता सबै शक्तिको अनुकूलमा घुम्न थालेपछि लोकतन्त्र वा जनवाद आवरण मात्र रहन्छन् । भण्डारी सक्रिय राजनीतिमा आउनु ठीक थियो कि थिएन ! भन्ने कुरा सिद्धान्तको राजनीति र आदर्श स्यालको सिङ भएको बेला बहसले कति औचित्य लिन्छ, भिन्नै कुरा हो । भिन्न मतप्रतिको असहिष्णुताका सन्दर्भमा केपी ओलीको राजनीतिक प्रवृत्तिमा ‘गाउँफर्क अभियान’बाट लिएको कडाइ र नियन्त्रणको छायाँ भने प्रष्ट देखियो ।

आत्मालोचना—सैद्धान्तिक अभ्यास कि रणनीतिक औजार ?

माओवादी केन्द्रको स्थायी समिति बैठकमा जनार्दन शर्माले उठाएका प्रश्नमा अधिकांश सदस्यले आत्मालोचना गर्नुपर्ने बताए । कम्युनिष्ट पार्टीमा आत्मालोचना र आलोचना आन्तरिक सुधारका नाममा अनिवार्य एजेण्डाझैँ राखिन्छ । जनयुद्धताका आत्मालोचनालाई रूमानी, क्रान्तिकारी तरिकाले प्रस्तुत गरिन्थ्यो– ‘आफ्नै टाउकोमा आफैले राँको बाल्ने, यदि कसैले हेल्मेट लगाएर उम्कन खोजे भने, ‘सहयोद्धाले हेल्मेट खोलेर आगो लगाइदिने ।’

तर यसको वास्तविकता चुनवाङ बैठकमा खुल्यो । जहाँ डा. बाबुरामको ‘विलिनता’ र बादलको ‘विश्वासघात’ शक्ति आर्जनका लागि समय घर्काउने कुरामात्र रहेछ भनेर परिणामले देखायो । ती आत्मालोचना आत्मिक स्वीकारोक्ति नभएर रणनीतिक योजनाको हिस्सा रहेछ भन्ने कुरा क्रमशः प्रष्टिँदै गए ।

प्रभाकरले भनेजस्तै, आज नेपाली राजनीतिमा भ्रष्टाचार संस्कृति नै बनिसकेको छ—सिद्धान्त, आचरण र व्यवहार सबै हिसाबले । उपभोक्तावादले क्रान्तिकारी सिद्धान्तहरूलाई दोश्रो दर्जामा धकेलेको छ । तीतो सत्य बोल्नेलाई कठघरामा उभ्याउनु सत्ताभक्त प्रवृत्तिको चिन्ताजनक उदाहरण हो । हरेक आलोचकले धरातलमा टेकेरै उभिनुपर्छ । प्रभाकर आफैं कतिसम्म शुद्ध छन् भन्ने प्रश्न बुझ्न पनि उनको आत्मसंवाद आवश्यक छ । के प्रभाकरहरू आफैँ भ्रष्टाचार वा परिवारवादबाट जोगिन सकेका छन् ?

बिट मार्दै गर्दा : सिद्धान्त र स्वार्थबीचको द्वन्द्व

प्राविधिक रूपमा गरिने आत्मालोचनाले केही समयको मानसिक सन्तोष दिन सक्छ, तर त्यसले ठोस रूपान्तरण गर्न भने सक्दैन । विश्व कम्युनिष्ट आन्दोलन होस् या नेपाली कम्युनिष्ट—जब आन्तरिक जनवाद अधिनायकवादमा रूपान्तरण हुन्छ, आत्मालोचनाको कुनै अर्थ रहँदैन । नेपाली कम्युनिष्ट आन्दोलनका आदर्श, सिद्धान्त र आत्मालोचना गर्ने परम्परा अब सत्ताको व्यावसायिक व्यवस्थापनमा रूपान्तरण भइसक्यो । बहुमतले विधान फेर्ने नयाँ भाष्य तयार गर्छ भने भयको राजनीति कसैगरी सत्तामा टिक्नु हो । आत्मालोचना सत्ताबाट च्युत नहुन प्रयोग गरिने एउटा औजार बनिसक्यो । विचार, विश्वास, संगठन र व्यवहारका आधारमा होइन, शक्ति जोगाउने कला र सहमतिको सौदाबाजीमा नेपाली राजनीति केन्द्रित हुँदै छ । समयमै चेतना भया !

आत्मालोचना तब मात्र सार्थक हुन्छ, जब त्यो आत्मिक स्वीकृति र सुधारको मार्गदर्शन बन्छ; नत्र त्यो शब्दहरूको खेल र षड्यन्त्रको पर्दा मात्र रहन्छ । र, यस्तो अवस्थामा कम्युनिष्ट आन्दोलनको आत्मा हराउँदै जान्छ, केवल आवरण बाँकी रहन्छ ।

(जनआस्था साप्ताहिक )

प्रतिक्रिया दिनुहोस्