सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको धार्मिक तथा ऐतिहासिक स्थल पाँचपोखरीतर्फ मेला भर्न तिर्थालु र पदयात्रीहरूको लस्कर लाग्ने गरेको छ । प्रत्येक वर्ष साउन पूर्णिमाको अवसरमा आयोजना हुने पाँचपोखरी मेलामा देशभरबाट श्रद्धालुहरू सहभागी हुँदै आएका छन् ।
पाँचपोखरी समुद्री सतहदेखि करिब ४१०० मिटरको उचाइमा अवस्थित नेपालको प्रमुख धार्मिक तीर्थस्थलहरूमध्ये एक हो । यहाँ विशेषगरी हिन्दू र बौद्ध धर्मालम्बीहरू श्रद्धा र आस्थाका साथ पूजाआजा गर्न पुग्ने गर्दछन् ।
यस वर्ष मेलाको व्यवस्थापन तथा भक्तजनहरूको सेवा सुविधामा वाइसीएल नेपाल सक्रिय रूपमा सहभागी भएको छ । मेलम्ची हुँदै पाँचपोखरी पुग्ने क्रममा वाइसीएल टोली स्वास्थ्य सामग्रीसहित स्वयमसेवी भूमिकामा खटिएको हो। संगठनका अनुसार मेलामा आएका भक्तजनहरूलाई आवश्यक स्वास्थ्य सहायता, सरसफाइ तथा जानकारी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा प्रदान गरिएको छ ।
यात्राको क्रममा वाइसीएलले पदयात्रामा समस्यामा परेका तिर्थालुहरूलाई प्राथमिक उपचार तथा आवश्यक अन्य सहयोग समेत गरेको छ। लामो दुरीको पदयात्रा, उच्च उचाइ र बदलिंदो मौसमका कारण थकान, चाप र स्वास्थ्य समस्या आउने तीर्थालुहरूलाई स्वयमसेवकहरूले तत्काल सहयोग गरेका हुन्।
वाइसीएल नेपालसँगै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल पनि यात्रामा सहभागी थिए । पाँचपोखरी हाम्रो संस्कार, संस्कृति र पहिचानसँग जोडिएको धार्मिक सम्पदा रहेको बताउदै यहाँको मेला धार्मिक आस्थाको समेत केन्द्र रहेको प्रदेश सभा सदस्य दुलाल बताउँछन् । उनी भन्छन् “यो मेलाले समाजमा एकता र सहकार्यको सन्देश दिएको छ, झन युवाहरूको सक्रिय सेवा भाव अझ प्रेरणादायी छ।”
साथै यस अभियानमा पार्टी केन्द्रीय सदस्य झम्क पराजुली, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ का अध्यक्ष रोशनराज गिरी, वडा नं १२ का अध्यक्ष दिपेन्द्र नेपाल तथा विभिन्न समाजसेवीहरू सहभागी थिए ।
पदयात्राको क्रममा टोलीलाई थाङपालधाप गाउँपालिकाको तिपेनी, धाप, कोट र भोताङका स्थानीयबासीहरूले खादा र लामा झाँकीसहित भव्य स्वागत गरेका थिए। गत वर्षको मेलामा पनि वाइसीएल नेपालले सरसफाइ तथा स्वयमसेवी भूमिका निर्वाह गरेको थियो । यस वर्ष स्वास्थ्य सामग्रीसहितको सक्रिय सहभागीता मेलाको सफल व्यवस्थापनमा थप योगदान पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्