– जीवन श्रेष्ठ
जुम्लाको प्राकृतिक छटासँग लुकामारी खेल्ने, तृप्त मन लिएर धित मर्ने गरी बरालिने रहर थियो । भगवानले ‘तँ आँट, म पुर्याइदिन्छु’ भन्छन् रे । मैले पनि यसो के आँटेको थिएँ । यसपटक एकै निमेषमा नै पुगेँ जुम्ला र झण्डै १५ मिनेट घुमेर समृद्ध जुम्लाको यात्रा सकाएर छक्क पर्दै फर्किएँ ।
जुम्ला त्यति कमजोर रहेनछ, जति समाचारहरूमा पढेको थिएँ । त्यति अविकसित पनि रहेनछ, जति डकुमेन्ट्री वा भिडियोहरूमा देखेको थिएँ । जुम्लामा त जादुमय विकास, निर्माण र परिवर्तन भइसकेको रहेछ । जताततै सडक पुगिसकेको, ठूल्ठूला होटल र रेस्टुराँ सञ्चालनमा आइसकेका रहेछन् । मार्सी चामल होइन, अचेल त्यहाँ हटकेक फल्दो रहेछ ! खोइ त ती अर्गानिक नेपाली परम्पराका घरहरू ? मैले त खासै देखिनँ ।
बरु कंक्रिटको गज्जबको शहर पो देखेँ । प्राकृतिक छटाले भरिपूर्ण भू–स्वर्गमा बसेका जुम्लीले स्थानीय नयाँ र सुकिला भेषभूषासहित पर्यटकलाई स्वागत गरिरहेका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक विद्यालयलगायत ठूलाठूला कलेजहरू देख्दा लाग्यो—जुम्लामा गुणस्तरीय र व्यवहारिक शिक्षाले कोल्टो फेरेको रहेछ । हैट ! मैले पढेको त अति अविकसित जुम्ला खोई ? सञ्चारकर्मीहरूले किन यस्तो अफवाह फैलाएका होलान् ? म छक्क छु ।
खासमा म भर्खरै मात्र जुम्लाबाट फर्किएको हुँ । मभन्दा पहिले सात लाख २९ हजार जनाले जुम्ला घुमेर मख्ख हुँदै जुँगामा ताउ लगाइसकेका रहेछन् । एक्कासी चर्चामा आएको जुम्ला, अनि चर्चा प्रारम्भ भएको चार दिनपछि मात्र म त्यहाँ पुगेको हुँ । हृदयन्द्र शाह त्यहाँ नगएका भए सायद जुम्ला पुग्ने मेरो धोको कुनै मगन्तेको रहरझैं अधुरै रहन्थ्यो होला ।
‘प्रोडक्सन प्राइभेट लिमिटेड’ कम्पनीले हृदयन्द्र शाहलाई मुख्य नायकमा अनुबन्ध गर्दै ‘एक्स्प्लोरिङ हिडन हेभनः जर्नी टु जुम्ला विथ हृदयन्द्र शाह’ बनाएको थिएन भने मेरो जुम्ला पुग्ने सपना एकादेशको कथा नै हुन्थ्यो । साझा कथाले युट्युबमा साझा नगरिदिएको भए, जे जस्तो भए पनि—जुम्ला पुग्ने मेरो रहर त्यही फिल्मले पूरा गरिदिएको हो ।
डकुमेण्ट्रीको दैलोबाट जुम्ला नियाल्दा
इन्ट्रोहरूको एउटा बेजोड श्रृंखला रहेको यो डकुमेन्ट्रीको पहिलो इन्ट्रो नै बबाल छ । कर्णालीका चित्ताकर्षक दृश्यसँगै बगिरहेको पञ्चकली बूूढाको सुमधुर गीतले दर्शकलाई शुरुमै तान्छ । त्यसपछि तिनाउ नदी छेउको ढुङ्गामाथि बसेको हृदयन्द्रको इन्ट्री—उनको बोल्ड अंग्रेजी संवाद—त्यसपछि नेपाली कलाकारको लबजमा बोलेको नेपाली संवाद…।
हृदयन्द्र स्थानीय पात्रबाट थाहा पाउँछन्—नेपाली भाषाको जन्म जुम्लाबाटै भएको हो रे ! स्याउ र मार्सी चामलका लागि प्रसिद्ध रहेको पनि त्यहीँ थाहा पाउँछन् । अनि, कफीशप छिर्छन्, हटकेक खान्छन्, र आफैं हट भइदिन्छन् । कर्णाली प्राविधिक शिक्षालय पुग्छन्, राष्ट्रिय झण्डा फहराउँछन् । फेरि इन्ट्री हुन्छ गायिका पञ्चकली बूढाको, जसरी कुनै फिल्ममा नायक नायिकालाई बचाउन अचानक प्रकट हुन्छन्, त्यस्तै !
त्यसपछि चर्चित डाइलग, ‘मान्छेले राम्रो काम गर्यो भने, सबै राम्रोसित चल्यो भने, राम्रो हुन्छ होला’ भाइरल नै बन्यो । पञ्चकलीले गाउनुहुन्छ, ‘जुम्ला फल्छ धान… कोही सुन्दैन कर्णाली रोया आवाज ।’ अनि, १५ मिनेट २२ सेकेण्डको यो यात्रात्मक डकुमेन्ट्री त्यही सुमधुर गीतमा टुंगिन्छ ।
डकुमेन्ट्रीको दैलोबाट बाहिरिँदा
छायांकन, सम्पादन, निर्देशन र अभिनयको हिसाबले यो डकुमेन्ट्री उत्कृष्ट छ । राजपरिवारका सदस्यले जुम्ला भ्रमण गर्नु आफैंमा बिकाउ विषय हो । निर्माता कम्पनीले यही मनोदशा बुझेको देखिन्छ । ड्रोन सर्ट, क्यामेरा कोण, प्रकृतिका चित्र ‘अल टप नोच’ ।
हृदयन्द्रको शालीनता र भद्रपनको अभिनय सह्रानीय छ । कथाले खासै बहाव नलिए पनि सन्देश छ—‘जुम्ला दरिद्र छैन, समृद्ध छ’ भन्ने । आजको पुस्ता जहाँ नकारात्मकता मात्रै ओकल्दै छ, त्यहाँ यो डकुमेन्ट्रीले सकारात्मक सन्देश दिन सफल भएको छ । पञ्चकलीको संवाद—‘मुलुक कहिले समृद्ध बन्छ होला?’—अनि हृदयन्द्रको भद्र उत्तरले सन्देश दिएको छ कि सकारात्मक सोच जरुरी छ ।
राजा महेन्द्रको विकासको फुर्ती देखाउने वा व्यवस्था गाली गर्ने कुनै प्रयास पनि त्यहाँ छैन । उल्टै स्वदेश फर्किएका एक व्यवसायीको कथा देखाएर देशमै अवसर खोज्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ । गणतन्त्र र राजतन्त्रको बहसबीच डकुमेन्ट्री कतैबाट राजतन्त्रको वकालत गर्दैन । कर्णाली चिनाउने माध्यमको रूपमा यसले काम गरेको छ ।
यद्यपि, सिनेम्याटिक इफेक्टको अत्यधिक प्रयोगले अर्गानिक सौन्दर्य केही हराएको छ । साँचो प्रकृतिप्रेमीलाई यसले असहज बनाउने खतरा छ । तर, यो एक व्यवसायिक उत्पादन हो । कम्पनीले आफ्नो उद्देश्य पूरा गरेको देखिन्छ । विवादित संवाद नराख्नु लेखकको चेतनशीलता हो ।
डकुमेण्ट्रीको दलदलमा नेपाली समाज
भेलु बाजे भाइरल हुने समाजमा हृदयन्द्र नहुने कुरै भएन । अहिले नेपाली समाज हृदयन्द्रको डकुमेन्ट्रीको डिलमा उभिएर चर्को विवादमा छ । कोही मात्तिएका छन्, कोही आत्तिएका छन् । तर म भन्छु—न मात्तिनुपर्छ, न आत्तिनु । यो एउटा डकुमेन्ट्री फिल्म हो, जसको नायक हृदयन्द्र हुन् । बस्, त्यति हो ।
कथाले जुम्ला पुर्यायो, लेखकले डाइलग लेखिदिए । पञ्चकली उभिइन् । उनले जति बोले, त्यो लेखकले लेखिदिएको हो । २४ वर्षीय केटोको चरित्रले कर्णालीका सामान्य कुरा पनि अरूबाट जानिरहेको देखिन्छ । मार्सी चामल थाहा पाउँछ, तर हटकेकमा रमाउँछ । झुपडीतिर उनको चासो देखिँदैन ।
उनी जुम्लाको पट्मारा होमस्टेमा बसेनन् । पर्यटकीय गाउँ घुमेनन् । पञ्चकलीको ‘कोही सुन्दैन कर्णाली रोया आवाज’ सुन्ने फुर्सद पनि सायद थिएन । बोलेको भाषाको उत्पत्ति कहाँबाट हो—त्यो पनि अरूबाट थाहा पाउनु पर्यो ।
अनि यस्तो चरित्र बोकेको केटोलाई ‘पृथ्वीनारायण र महेन्द्रको रगत हो नि’ भनेर गर्व गर्नु भनेको, ‘रामायण’ मा राम बनेका अरुण गोविललाई साक्षात भगवान ठानेर खुट्टा ढोग्नुजस्तै होइन र ?’ ‘द्याट्स नट रियल लाइफ, द्याट्स जस्ट रिल लाइफ ।’
बुझ्नुपर्छ है, राजतन्त्रका झोलेहरू । गणतन्त्रका झोलेहरूलाई पनि भन्नु छ—गणतन्त्र धरापमा परेको हो भने, त्यो ब्लगका कारण होइन, तिमीहरूको कर्तुत्का कारण हो । जनताको विश्वास गुमाएर गणतन्त्र जोगिँदैन ।
गणतन्त्रको भविष्य भूतपूर्व राजदरबार होइन, सिंहदरबारमै छ । त्यसैले, सच्चिने समय अझै सकिएको छैन । जुन दिन सच्चिन्छौ नि, त्यो दिन सम्झ—न तिम्रो श्वास बाँकी रहनेछ, न त लाश नै ।
चेतना भया !
प्रतिक्रिया दिनुहोस्