एकदिन कुरैकुरामा मैले आफ्ना स्टाफलाई सुनाएँ । वास्तवमा अछाम गएदेखि नै खप्तड जान उपयुक्त समयको पर्खाइमा थिएँ म । त्यस बेला एक जना मुखियासाब बझाङबाट सरुवा भएर कार्यालयमा हाजिर भएका थिए । कुराकानीमा उनको समेत उपस्थिति थियो । मैले छिमेकी जिल्ला बाजुराको सदरमुकाम मार्तडीको विषयमा पनि विभिन्न जिज्ञासा राखेको थिएँ । केही नबोलीकन हाम्रा कुरा ध्यान दिएर सुनिरहेका थिए उनले ।
“बाजुरा हुँदै खप्तड जानु राम्रो हुन्छ । यसो गर्दा मार्तडी पनि पुगिन्छ र उताबाट खप्तड जाने बाटो पनि सजिलो छ । कुनै कठिनाइ हुँदैन । खप्तडमा दशहराको मेला लाग्ने दिन पनि नजिक आइरहेको छ । त्यही बेला पारेर जाँदा बेस हुन्छ,” धेरै बेरपछि उनी बोल्छन् ।
“मलाई त्यताका बाटोघाटोको राम्रो ज्ञान छ । खानेबस्ने व्यवस्था पनि मिलाउन सक्छु । हजुरलाई खप्तड पुर्याएर सुरक्षित तवरले फर्काउने अभिभारा म लिन्छु ।” आत्मविश्वासका साथ मलाई डुलाएर फर्काउने जिम्मेवारी काँध थाप्न उनी तत्पर भए ।
उनी अछाम आएको दुई तीन महिना जति भएको थियो होला । मैले सम्झेसम्म पद्मराज उपाध्याय उनको नाम हो । अछाम आउनु अगाडि बाजुरा र बझाङ माल कार्यालयमा काम गरेको अनुभव थियो उनमा । अग्लो कद र फुर्तिलो जीउडालका उनी बझाङ जिल्लाका बासिन्दा थिए ।
दशहरा मेला पारेर खप्तड जानु उत्तम हुने सबैको राय रह्यो । बाजुराको सदरमुकाम मार्तडी हुँदै खप्तड जान–आउन एक हप्ताको कार्यक्रम बनाइयो । सो भ्रमणमा तिनै मुखियासाबलाई साथमा लिएर जाने कुरा पनि पक्कापक्की गरें । ज्योतिषविद्याको समेत जानकारी राख्ने उनले यात्रामा निस्कने उपयुक्त साइत निकाले यद्यपि साइत जुराएर हिंड्ने कुरामा मेरो अभिरुचि थिएन । हाम्रो परिवारमा साइत जुराएर हिंड्ने चलन पनि थिएन । वारको पनि त्यति मतलब राखिन्नथ्यो । जे भए पनि उनले भनेकै दिन बिहान हल्का नास्ता गरेर मंगलसेनबाट खप्तड यात्राको निमित्त निस्कियौं ।
सरकारी सेवामा प्रवेश गरेपछि पहिलो पदस्थापना भएको अछाम माल कार्यालयमा मन नलागी नलागी २०३७ साल पुस महिनामा गएको थिएँ । गएको करीब डेढ वर्ष पछि अर्थात् २०३९ सालको जेठ महिनामा यो यात्रा योजना तयार भएको हो । दिउँसो घाम चर्केपछि हिंड्न गारो हुने हुनाले बिहानको शीतलमा हिंड्ने, ११ बजेपछि अर्थात् घाम चर्केपछि खानाको प्रबन्ध गर्ने, खाना खाने र आराम गर्ने, त्यसपछि २-३ बजेतिर फेरि हिंड्ने र साँझमा बस्ने जोहो मिलाउने गरी तालिका बनाइयो । त्यस बखत सेती अञ्चलका पहाडी जिल्लामा अहिलेजस्तो गाडीमा गुड्ने कल्पना पनि गर्न सकिने अवस्था थिएन ।
मंगलसेनबाट साँफेबगर झरेर बाजुराको मार्तडी जाने मूलबाटो समात्ने काम भयो । पद्मराज आफैले पकाएको मात्र खान्थे । उपाध्याय ब्राह्मण भएकाले चोखोनिधोप्रतिको उनको विशेष चासो रहन्थ्यो । यात्राभर बिहान बेलुकाको खाना उनी आफैले बनाए । चामल दाल तरकारी बाटोमै किन्थ्यौं । खाना पकाउन्जेल मलाई फुर्सद मिल्थ्यो । त्यतिन्जेलसम्म भेटिएका स्थानीय बासिन्दा सँग बातचित हुन्थ्यो । उनीहरूका सरोकारका कुराहरू सुन्थे । अगाडिको बाटो र पुगिने ठाउँको बारेमा पहिले सोधपुछ गरेर सामान्य जानकारी लिने प्रयास पनि गर्थें ।
स्थानीयहरू सँगको कुराकानीबाट बाटोमा पर्ने धेरैजसो ठाउँमा खाने पानीको ठूलो समस्या रहेको बुझियो । घरबाट टाढा रहेका पँधेरा वा खोलाखोल्चीको पानी ल्याएर स्थानीय बासिन्दाहरूले निर्वाह चलाएका थिए । वर्षा हुँदा पानीका ती स्रोतमा बाढी मिसिन्थ्यो र पानी पिउन लायक रहँदैनथ्यो । तरपनि त्यही पानी खान विवश थिए उनीहरू । पाइपको पानी पाउन दुर्लभप्राय थियो । खोलाखोल्चीको पानी सिधै खाने गरेकाले उनीहरूले बरोबर झाडापखाला जस्ता रोगको प्रकोप सामना गर्नुपर्थ्यो । गाउँघरमा चरम गरीबी व्याप्त थियो । पुरुषहरू रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका रहेछन् । सुकिलामुकिला मानिस भेटिएमा ती भारतबाट फर्केका लाहुरे हुन् भनेर प्रष्टसँग चिन्न सकिन्थ्यो । बिदामा आएका उनीहरू काँधमा भारतीय ट्रान्जिस्टर रेडियो भिरेर हिन्दी गीत घन्काउँदै हिंडेका हुन्थे ।
मुलबाटामा सामान्यतया घोडा खच्चर हिंडाउन मिल्थ्यो । मंगलसेनबाट साँफेबगर हुँदै मार्तडी पुग्ने मूलबाटो प्राय यस्तै थियो । मूलबाटोको धेरै खण्ड बुढी गङ्गाको किनारै किनार जान्थ्यो । उकालो ओरालो गर्नु त सामान्य कुरा भयो । घाँटीमा घण्टी बाँधेका च्यांग्राका हूल र घोडा खच्चरका ताँती ठाउँठाउँमा भेटिन्थे । त्यस्तो बेलामा आफू सुरक्षित हुने ठाउँमा ढेपिएर जनावरको हूललाई बाटो छोड्नु पर्थ्यो । तिनताका सेती अञ्चलका पहाडी जिल्लामा सामान ढुवानी गर्ने मुख्य साधन नै भेडा च्यांग्रा र घोडा खच्चर थिए ।
बाटामा जम्काभेट हुन लाग्दा कोहीकोही मानिस घोडाखच्चरलाई बाटो छोडेझैं गरी पूरै बाटो हाम्रा निम्ति छाडेर कान्लामुन्तिर जान्थे र क्रस गरेपछि मात्र फेरि माथि उक्लेर आफ्नो बाटो सोझ्याउँथे । पटक पटक यस्तो अचम्मको चालामाला देखेपछि मैले पदमलाई सोधें, “किन मानिस यसरी पूरै बाटो छाडेर अप्ठेरो भीरतिर जान्छन् ?”
“यी (कथित) तल्लो जातिका हुन् । नछोइयोस् भनेर पूरै बाटो हामीलाई छाडेका हुन् । ठूला जाति र गन्यमान्य मानिसलाई आदर भाव देखाउन यसरी बाटो छाड्छन् हाम्रो यता । सुदूरपश्चिममा सबैतिर यस्तै चलन छ ।” रहस्य खोलिदिए उनले । हाम्रो ठाउँतिर यतिसम्म अचम्मको व्यवहार कहिल्यै नदेखेको हुनाले आश्चर्य लाग्यो । यस्तै गरी रजस्वला (छाउ) भएका महिलाहरू बाटो हिंड्दै गर्दा कदाचित माँडुं (मन्दिर) मा पुगे भने त्यसरी नै बाटै छाडेर अन्यत्र गोरेटो खोज्दै हिंड्दारहेछन् । यात्राकै सिलसिलामा आफ्नै आँखाले यस्तो पनि देखें । छाउपडी नजिक गए भने देउता रिसाउँछन् भन्ने धारणा बलियो रहेछ ।
“रजस्वला भएकी महिला अर्थात् छाउपडीलाई घरदेखि पर अलग्गै सानो गोठ (छाप्रो)मा राखिन्छ । त्यही गोठमा खानेपिउने र सुत्ने गर्छन् उनीहरू । छाउपडी बस्ने गोठलाई छाउखुल्लो भनिन्छ । छाउखुल्लो सामान्य गोठ जत्तिको पनि हुन्नन् । साँघुरा, अँध्यारा र असुरक्षित हुन्छन् ।” छाउ प्रथाको नालीबेली सुनाउँछन् पदम ।
चियापसलमा दलितले खाएको चियाको गिलास उनीहरू आफैले माझेको देखियो । यसरी माझेर राखेको गिलासलाई चोख्याएर मात्र प्रयोगमा ल्याउने गर्दा रहेछन् । पसल बाहिरै अलग ठाउँमा बसेर खानुपर्ने रहेछ दलितले । वास्तवमा त्यस क्षेत्रमा दलित र महिला माथि ज्यादै विभेदपूर्ण व्यवहार थियो । मंगलसेन बस्दासम्म मैले यी कुरालाई त्यति मसिनो गरी ठम्याउन सकेको रहेनछु । यो यात्राको सिलसिलामा यस्ता (अ)सामाजिक वरव्यवहार देख्ने बुझ्ने मौका पाइयो । समाजको सांस्कृतिक आयाम बुझ्न यात्रा सशक्त माध्यम हुँदो रहेछ भन्ने कुरा मेरो मनमा त्यस बेलादेखि गढेको छ ।
बाटो हिंड्दै गर्दा पदमले बडिमालिका भगवतीको मन्दिर रहेको अग्लो पहाड र त्यहाँ पुग्ने बाटो देखाएका थिए । हेर्दैखेरी बिकट थिए ती पहाड । नेपालका प्रसिद्ध तीर्थस्थलमा पर्ने बडिमालिका भगवती मन्दिरमा प्रत्येक वर्ष जनै पूर्णिमा अघिको त्रयोदशी र चतुर्दशीमा ठूलो मेला लाग्ने रहेछ । मेला भर्न बाजुरा, अछाम, कालिकोट, डोटी लगायत विभिन्न जिल्ला र भारतबाट समेत तिर्थालु आउने गरेको जानकारी पाएँ । मंगलसेनबाट हिंडेको दोस्रो दिन बाजुरा जिल्लाको सदरमुकाम मार्तडी पुग्यौं ।
कृषि र पशुपालन बाजुराको प्रमुख आयस्रोत रहेछ । तर अति थोरै खेतीयोग्य जमीन र न्यून उत्पादकत्व भएका कारणले खाद्यान्न अभाव हुने जिल्लामा पर्दथ्यो बाजुरा त्यस बखत पनि । खाद्य संस्थानले बारै महिना जसो खाद्यान्न आपूर्ति गर्थ्यो । मार्तडीमा सरासर माल कार्यालयका प्रमुखको निवासमा गइयो । तत्काल त्यहाँका निमित्त कार्यालय प्रमुख थिए अछामका ज्ञानबहादुर शाह । उनका दाजु भोजबहादुर शाह अछाम मालमा कार्यरत थिए र उनी मंगलसेन आउँदा हाम्रो कार्यालयमा पस्थे । यसरी मेरो उनीसित चिनाजानी भएको थियो । त्यही कारणले अन्त कतै नलागी सिधै उनकै क्वाटरमा गइयो । तीन दिन उनकै पाहुना बनेर मार्तडीमा बस्दा त्यहाँका कार्यालय प्रमुखहरूलाई भेट्ने र वरपर घुमघाम गर्ने काम भयो ।
त्यहाँ आयोजना भैरहेको अन्तर माध्यमिक जिल्लास्तरीय वीरेन्द्रशिल्ड खेलकुद प्रतियोगिता अवलोकन गर्ने संयोग मिल्यो । प्रजिअ कर्णबहादुर चन्द (पूर्व सचिव) सँग पनि भेटघाट भयो । कीर्तिपुर क्याम्पसमा सँगै पढेका साथी ज्ञानेन्द्रबहादुर सिंह पनि अप्रत्याशित किसिमले भेटिए । उनी कोल्टी हाई स्कूलका प्रधानाध्यापक भएका रहेछन् । बीरेन्द्र शिल्ड खेलकूदका निम्ति आफ्ना स्कूलका विद्यार्थी प्रतियोगीहरूलाई साथमा लिएर मार्तडी आएका थिए उनी । यो भेट हामी दुवैका लागि सुखद आश्चर्य भइदियो । हामी दुवैले बाजुरामा त्यसरी भेट होला भनेर चिताएकै थिएनौं ।
“तपाईंले केटाकेटी पढाउने अप्ठेरो धन्दा छोड्नु भो । सरकारी सेवामा अधिकृत हुनुभएछ । राम्रो गर्नुभो । बधाई छ । म त त्यही धन्दामै लटपटिएको छु,” कुराकानीको सिलसिला अगाडि बढाउँदै उनले भने ।
“यता लागियो, ठीक गरें या बेठीक, थाहा छैन,” हाँस्दै जवाफ फर्काएँ ।
कुराकानी गर्दै जाँदा उनले कोल्टी हाई स्कूलमा काम गर्दाको अनुभव सुनाए । हेडमास्टर भएर उनले विद्यालयलाई राम्रो नेतृत्व दिइरहेको मलाई अनुभव भयो । उनी अंग्रेजी विषयका एक योग्य र अनुभवी शिक्षक थिए । कीर्तिपुर कलेज ज्वाइन गर्नुअगाडि पनि उनीसँग दोलखामा पढाएको अनुभव थियो । क्याम्पसमा हामी मिल्ने साथी थियौं । क्याम्पसबाट छुट्टिएपछि भेट भएको थिएन । घर परिवार र साथी भाइहरूको विषयमा कुराकानी भए । कलेज जीवनका मिठा अनुभव र सुखद क्षणहरू सम्झँदै आपसमा खुशी साटासाट गर्यौं र छिटो भेट्ने आशा गर्दै बिदा भयौं ।
वरिपरि डाँडा र बीचमा थोरै समथर जमीन भएको मार्तडी सानो उपत्यका रहेछ । ‘कचौरा’ जस्तो लाग्यो मलाई । प्राकृतिक रंगशाला जस्तो भन्न पनि सुहाउने । छेउमा बाउलिगाड नामको सानो खोला । त्यही खोलामा निर्मित लघु जलविद्युत आयोजनाले मार्तडीलाई ऊर्जा र उज्यालो दिइरहेको । केही पसल र सरकारी कार्यालयहरू । जे होस्, तुलनात्मक रूपमा मंगलसेन भन्दा मार्तडी रमाइलो लाग्यो मलाई ।
यात्राको पाँचौ दिन बिहानै खप्तडको निमित्त मार्तडीबाट प्रस्थान गर्यौं । साबिककै दैनिक कार्य तालिका अनुसरण गर्दै हाम्रो यात्रा अगाडि बढ्छ ।
साँझपख गाउँ कटेर लेकतिर लागिसकेका छौँ । टाढा कहींकहीं मात्र गाईका गोठमा धिपधिप बत्ति बलेको देखिन्छ । सुरक्षाका निम्ति गोठमा पालिएका कुकुर भुकिरहेका छन् । “यो ठउरमा सजिलोसँग बास मिल्दो नाइँ” डोट्याल भाषामा पदम भन्छन् । रात परिसकेको छ । अत्यास लाग्छ मलाई । यस्तो ठाउँको अनुभव मसँग छँदैछैन । भित्रभित्रै पदमसँग रिस पनि उठ्छ । ठाउँ चिनेको र चालचलन बुझेको मानिसले त तल गाउँमा छँदै बास खोज्नु पर्थ्यो नि भन्ने लाग्छ । तर केही बोल्दिनँ । उनका एकोहोरो गन्थन सुनी मात्र रहेको छु । टर्च लाइटको उज्यालोमा बिस्तार बिस्तार हिंडिरहेका छौँ । बल्लतल्ल एउटा गोठ भेटिन्छ । तर त्यहाँकी महिलाले ‘लोग्ने छोरा’ नभएकोले गोठमा बास नमिल्ने सूचना दिइन् । बास पाइने सम्भावना अब झन् झन् न्यून हुँदैछ एकातिर भने अर्कोतिर अँध्यारो घनिभूत भैरहेको छ । अलि माथि उक्लेपछि अर्को गोठ फेला पर्छ, त्यहीं छिर्छौं । त्यहाँ बास त मिल्ने भयो तर गाँसको ठेगान हुँदैन । खाना नपाएता पनि बास पाइने भएपछि अलिकति ढुक्क लाग्छ । एक रात नखाएरै कटाउँला भन्ने सोचेर त्यही बस्ने निधो गर्छौं । पछि पदमले अनेक तारतम्य गरेर रोटी खाने चाँजो मिलाउन पनि सफल हुन्छन् ।
लेकका गाईगोठमा बरु पिठो नपाइएला दूध दही पक्कै पाइन्छ भन्ने सुनेको थिएँ । तर यहाँ दहीदूध देख्न पनि पाइएन । गाई दुहेर साँझ पर्नु अगावै गाउँतिर पठाएको रे । सुत्नलाई ओढ्ने ओछ्याउने पाउने आस छैन । जे जस्तो भए पनि बस्न खान पाएकोमा धन्य भयौं । त्यो रात रोटी र साग खाएर गोठमा उपलब्ध परालमा पल्टियौं । त्यो गोठमा खाएको रोटी र सागको स्वाद अहिले पनि जिब्रोमा टाँसिएको छ । आफूसँग भएको तौलिया ओढेर सुतियो । दिनभर हिँडेर थाकेको हुनाले पल्टने बित्तिकै दुवैजना भुसुक्क निदाएछौँ ।
भोलिपल्ट उकालो चढ्दै र कहीं कहीं थोरै ओरालो झर्दै बिहानभरी हिँडिरह्यौं । डाँडा काटेर हरियो ‘पाटन’मा पुगेपछि गन्तव्य अब नजिक छ भनेर ढुक्क भइयो । खप्तड क्षेत्रका एक पछि अर्को सानाठूला ‘पाटनहरू’ नियाल्दै लक्ष्यतर्फ लम्किरह्यौं । “समतल परेको जमीनलाई यहाँको स्थानीय मानिसहरू पाटन भन्छन् । प्रकृतिको मनमोहक सौन्दर्यको बीचमा आफूलाई पाउँदा म हर्षले अभिभूत भएँ । सल्ला प्रजातिका बडाबडा रूखको जङ्गल, ठाउँ ठाउँमा ताल र सिमसार, बीचबीचमा घाँसैघाँसले ढाकेका ठूलाठूला मैदान र घाँस चरिरहेका गाई र घोडाहरू । धर्तीमाताको काखमा लुटपुटिंदै खप्तड बाबाको आश्रमतर्फ गइरहेका छौँ ।
“पाटनमा हिंड्दा छुट्टै आनन्द लाग्छ” पदम आफ्नो जानकारी पस्किन्छन् । साँच्चै हो रहेछ, पाटनमा हिंड्दा जमीन लचकलचक भए जस्तो अर्थात् बाक्लो गलैँचा वा डनलपमा टेके जस्तो लाग्छ । मेला भर्न जाने श्रद्धालुहरूका लस्कर पनि बिस्तार बिस्तारै देख्न थालियो ।
सबभन्दा पहिले खप्तड स्वामीको आश्रमतर्फ सोझिन्छौँ । स्वामीलाई आश्रममा भक्तजनहरूका माझ पाउँदा एउटा छुट्टै किसिमको आनन्द लाग्छ । प्रवचन शुरू भैसकेको छ । सादर अभिवादन गरेर हामी पनि एकातिरको अग्र भागमा बस्छौं र एकाग्र भएर प्रवचन श्रवण गर्छौं । त्यो दिनभर स्वामीजीको प्रवचन र सत्सङ्गमा बस्ने हाम्रो निश्चय छ ।
दशहराको मेलाकै दिन बिहान हामी आश्रममा पुगेका हौँ । बाबाको आश्रम नजिक पाटनमा दिउँसैदेखि मेला लाग्दै छ । दुकान राख्न बनाइएका टहरामा सरसामान सजाउने काम भैरहेको छ । मेला भर्न डोटी, अछाम, बझाङ, बाजुरा जिल्लाका श्रद्धालु भक्तजनहरू धमाधम आइरहेका छन् । अन्य जिल्ला र भारतबाट समेत मानिसहरू आएको बताइन्छ । बिहानैदेखि त्यहाँ बिरलै देखिने विशेष खालको चहलपहल शुरू भएको हो ।
स्वामीका विषयमा अनेक लोक कथनहरू चर्चामा थिए । हामीले पनि सुनेकै थियौं । स्वामीको व्यक्तित्व, कृत्तित्व र प्रवचनबाट प्रभावित नहुने को होला र ! वहाँको असाधारण ज्ञान, गहन विचार, मधुर वाणी र ओजस्वी व्यक्तित्वबाट जो कोही व्यक्तिमा अनौठो प्रभाव पर्थ्यो । हामी पनि प्रभावित नहुने कुरै भएन । वहाँमा बहुविधाको ज्ञान थियो । धेरै विधामा अनमोल कृतिहरू सिर्जना गरी लोक कल्याणका निमित्त समर्पण गर्नुभएको छ स्वामीले । वहाँका विचार विज्ञान, स्वास्थ्य विज्ञान, धर्म विज्ञानलगायत दर्जनौं पुस्तक प्रकाशित भएका छन् र अन्य धेरै हस्तलिखित कृतिहरू प्रकाशन हुन बाँकी रहेको बताइन्छ । त्यस बखत वहाँले बहुतै सहजतापूर्वक श्रद्धालुहरूका जिज्ञासाहरूलाई सरल भाषामा सम्बोधन गरेको मैले सम्झिरहेको छु ।
वझाङ, वाजुरा, डोटी, अछाम चारै जिल्लासँग जोडिएको खप्तड क्षेत्र समुद्र सतहदेखि ३७ सय मिटरको उचाइमा अवस्थित छ । खजुर, सल्लो र निगालोको जङ्गल, ताल, सिमसार र पाटनले ढाकेको छ यसलाई । सयौं प्रजातिका फूल, थरिथरिका बहुमूल्य जडीबुटी तथा कस्तुरी मृगलगायत जनावर र डाँफे जस्ता अनेकौं सुन्दर चराचुरुङ्गीको वासस्थान पनि हो यो क्षेत्र । यहाँ क्षण क्षणमा मौसम परिवर्तन भैरन्छ । यसरी मौसम परिवर्तनले दिने एउटा अलग किसिमको अनौठो अनुभूति जहींतहीं प्राप्त हुने कुरा होइन ।
जाडो याम सकिएपछि नजिक गाउँ बस्तीका मानिसहरू खप्तडको लेकमा आफ्ना गाई भैंसीका गोठ सार्छन् र जाडो बढ्नासाथ ती गोठ तल फर्काउँछन् । यहाँ गाईगोठ राख्नका लागि कुनै कुराको पनि भय त्रास नभएको भन्ने सुनियो । देवभूमि र तपोभूमि भएकाले यहाँ आइपुगेका मानिस र बस्तुभाउ सबै सुरक्षित रहन्छन् भन्ने जन विश्वास छ ।
कुराकानी गर्ने सिलसिलामा एक स्थानीय हामीलाई भन्छन् : “चरनको लागि छाडिएका बस्तुभाउलाई आजसम्म कुनै जनावरले हानी नोक्सानी पुर्याएको रेकर्ड छैन । बिरामी पनि पर्दैनन् । पुसदेखि फागुनसम्म बाक्लै पाँच छ फिट सम्म हिउँ पर्छ । त्यो बेलामा बस्तुभाउ बेसी झारिन्छ र चैत वैशाख लागेपछि फेरि यतै फर्काउँछौँ ।”
खप्तड बाबा स्वामी सच्चिदानन्दको नामले पनि सुविख्यात हुनुहुन्छ । एक महान् आध्यात्मिक गुरु र चिन्तकका रूपमा जनजनको मनमा अमर हुनुहुन्छ । वहाँले नै खप्तडलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चिनाउनु भएको भन्दा अन्यथा हुँदैन । स्वामी र खप्तडको अन्योन्याश्रित सम्बन्ध गाँसिएको पाइन्छ । वहाँकै नामबाट खप्तडको ख्याति, सम्मान र लोकप्रियता बढेको हो । मलाई खप्तड जाने हुटहुटी स्वामी कै नामले जगाएको हो । खप्तडको नाम त स्कूलको विद्यार्थी छँदै पढेको हुँ । ‘खप्तड बुट्टे निगालो’को निम्ति प्रख्यात छ भनेर पढेका थियौं । बुट्टे निगालोले त्यस बेला खप्तडलाई चिनाउँथ्यो । अछाममा आएदेखि खप्तड त बाबाको नामबाट पो बढी प्रख्यात भैरहेको थाहा पाएँ । सुदूर पश्चिमाञ्चलमा वहाँलाई महामानवको रूपमा सम्मान गर्थे । उनको दर्शन गर्ने, उनीसँग सत्सङ्ग गर्ने, उनको सान्निध्य पाउने, सबै भाग्यशाली हुन् भन्ने आमजनको विश्वास थियो ।
आज खप्तडको महिमा देशमा मात्र होइन देश बाहिर पनि फैलिएको छ । बाबाको नामले खप्तडलाई नयाँ पहिचान पनि दिएको छ । यसको भौगोलिक र प्राकृतिक मात्र होइन धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्ता पनि बढेको छ । खप्तड स्वामीले आफ्नो विद्वता र ज्ञानशक्तिले नेपालको महिमा बढाएका छन् भन्दा अत्युक्ति हुँदैन ।
खप्तडको दशहरा मेला भर्न हजारौँ मानिस जाँदा रहेछन् । साँझ पर्न नपाउँदै गीत, संगीत र नृत्यप्रेमी युवायुवतीहरू समूह समूहमा विभक्त भएर आफ्ना सांस्कृतिक सम्पदाहरू प्रदर्शन गरिरहेका थिए । विभिन्न भाकामा देउडा गाउँदै र नाच्दै रात्रिकालीन वातावरणलाई सुमधुर बनाइरहेका थिए । धित मर्ने गरी मलाई पदमले मेला घुमाए । साथसाथै स्थानीय भाषा, संस्कार र संस्कृतिको बारेमा धेरै कुरा बुझाए पनि । मेला स्थलमा नेपाली सेनाले अतिथि गृह बनाइदिएको रहेछ । हामी त्यो रात त्यही अतिथि गृहमा विश्राम गर्छौं । नजिकै त्रिवेणीधाम छ जहाँ गंगा, जमुना र सरस्वती नदीहरू आपसमा मिसिन्छन् । दशहरा मेला बिहान त्रिवेणीमा स्नान गरी पूजा आराधना गरेपछि सम्पन्न हुन्छ । त्रिवेणीमा स्नान गर्दा मनोकामना पूरा हुने लोक मान्यता छ ।
भोलिपल्ट सबेरैदेखि त्रिवेणीमा तिर्थालुको घुइँचो छ । हामी पनि त्रिवेणीमा लघु स्नान (हात मुख धुने काम) गर्छौं । अछाम पट्टिको बाटोबाट मंगलसेन फर्कने योजना छ हाम्रो । फिर्ता हुँदा ठाडो ओरालो हिंड्नु पर्ने भएता पनि बाटो सोझो भएकोले तुलनात्मक हिसाबले छिटो घर पुगिने सुझाव पाएका छौँ । स्थानीयहरूको भनाइ अनुसार बझाङ, बाजुरा र डोटीतिरको भन्दा अछामतिरको बाटो धेरै अप्ठेरो थियो । अक्करका भीरपाखाबाट ओराली उकाली गर्नु पर्ने । छोटो बाटो भएकोले अप्ठेरोको सामना गर्न राजी भयौं र विलम्ब नगरी फटाफट बाटो ततायौं । डाँडा नकाटेसम्म खप्तडका सुन्दर हरिया पाटनहरूलाई फर्कंदै हेर्दै त्यहाँ बिताएका महत्वपूर्ण क्षण र रमणीय दृश्यलाई मस्तिष्कको मेमोरीड्राइभमा ‘सेभ’ गर्ने काम हुन्छ । भीरपाखाहरूमा ढकमक्क फुलेका सुन्दर फूलहरूले आगन्तुकहरूलाई साँच्चै मोहनी लगाउँदा रहेछन् ।
वनमा रङ्गीबिरङ्गी सुन्दर फूलहरू यत्रतत्र ढकमक्क फुलेर मगमग वासना छरिरहेको पाउँदा रोमाञ्चित हुनुको साथै शुरूमा अलिक डराएको पनि थिएँ म । यस्तो अग्लो उचाइमा फुलेका फूलको सु(गन्ध) ले बिरामी पार्छ भन्ने कतै सुनेको थिएँ । तर पदमले “आ, केही हुन्न” भनेकाले निर्भयका साथ लम्किरह्यौं । कहीं कहीं त ठाडै भीरबाट ओरालो झर्नुपर्दा खुरमुरिने पो हो कि भन्ने डरले खुट्टा काम्थे । लौरो टेक्दै बिस्तार बिस्तारै तल ओर्लियौं । गाउँ भेटिएपछि खाना खाने सल्लाह भयो । सधैँझैं खाना बनाउने कर्म पदमले पूरा गरे । केही समयको आरामपछि हिंडेर साँफेबगर आइपुगियो । त्यहाँ चिया खाएर मंगलसेनतिर लाग्यौं । बयल्पाटा पुग्दा थकाइको पारो चढ्नसम्म चढिसकेको थियो । खप्तडबाट झरेर तल साँफेबगर आइपुग्दा नपुग्दै जीउ गोडा फतक्क गलिसकेका थिए । बयल्पाटाबाट कैलाश खोला झरेपछि पनि मंगलसेन पुग्न अझै एउटा उकालो बाँकी रहन्छ । भएभरको बल खिचेर मंगलसेन डाँडाको छेउमा अवस्थित दरबारको चौर टेक्न पुग्छौं । साँझ ढलेर निस्पट्ट अँध्यारो भैसकेको छ । बजारका घर पसलमा लालटिनको मधुरो उज्यालो देखिन्छ ।
आधुनिकताको प्रवेशपछि सुदूरपश्चिमको मनोरम पर्यटकीय गन्तव्य खप्तडको पुरानो स्वरूप पक्कै अहिले देख्न पाइँदैन । प्रकृतिमाथि मानिसले अनेकन् किसिमले थिचोमिचो गरेका कारणले खप्तडको मौलिक स्वरूपमा धेरै परिवर्तन आइसकेको छ । तर यसको महत्तामा कुनै कमी आएको छैन । आज पनि खप्तड क्षेत्रले आफ्नो प्राकृतिक, आध्यात्मिक धार्मिक र सांस्कृतिक महत्त्व घट्न दिएको छैन । हरेक वर्ष त्यहाँ भ्रमण गर्ने मानिसहरूको संख्या बढिरहेकै छ । खप्तड एक पटक पुगेर मन अघाउँदैन ।
मलाई फेरि खप्तड जान मन छ ।
प्रतिक्रिया दिनुहोस्