२०८२ भाद्र १२

तातोपानी नाका ठप्प : कोदारीमा पहिरोले सडक अवरुद्ध

सिन्धुपाल्चोक – लगातारको अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत कोदारी क्षेत्रमा ठूलो पहिरो खस्दा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पूर्ण रूपमा बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बुधबार बिहान करिब ५ बजेतिर भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा माटो र ढुंगा खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

पहिरोका कारण आवतजावत तथा मालवाहक सवारी साधनको सञ्चालन पूर्ण रूपमा रोकिएको छ। स्थानीय प्रशासनका अनुसार पहिरो झर्ने क्रम अझै रोकिएको छैन, जसका कारण तत्काल सडक खुलाउने सम्भावना न्यून देखिएको छ।

ईकु क्षेत्र विगतदेखि नै पहिरोको उच्च जोखिममा रहेको स्थान हो। २०७२ सालको विनाशकारी भूकम्पपछि यो क्षेत्र अझ बढी संवेदनशील बनेको हो। सो भूकम्पले कोदारी बस्ती नै बगाएपछि सो क्षेत्रका बासिन्दा पूर्ण रूपमा विस्थापित भइसकेका छन्। सडक सुचारु गर्ने विषयमा सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्