२०८२ कार्तिक २

रेडियो सिन्धुमा चट्याङको प्रकोप : सम्पूर्ण उपकरण जलेर नष्ट, प्रशारण अवरुद्ध

सिन्धुपाल्चोक — जिल्लाको पहिलो सामुदायिक रेडियोको रूपमा सञ्चालित रेडियो सिन्धु १०५ मेगाहर्जको प्रशारण हाल अस्थायी रूपमा बन्द भएको छ। असार २४ गते राति रेडियोको स्टेशनमा चट्याङ पर्दा सम्पूर्ण विद्युतीय उपकरण जलेर नष्ट भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोक र प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले छुट्टाछुट्टै बिज्ञप्ति तथा अपिल जारी गर्दै आर्थिक,प्राबिधिक सहयोगको निमित्त अनुरोध गरेको छ ।

घटनाका समयमा आवासीय कर्मचारीहरू सुत्न जाने तयारीमा थिए भने चट्याङले स्टुडियोमा रहेको ट्रान्समिटर, ब्राण्ड कम्प्युटर, टेलिफोन सेट, डबल लाइन टेलिफोन, हाइब्रिड लाइन, र टावर लगायत सम्पूर्ण उपकरण पूर्ण रूपमा नष्ट पारेको पुष्टि गरिएको छ। यसअघि असार २२ गते परेको चट्याङबाट युपिएससहितका उपकरणहरूमा पनि क्षति पुगेको थियो।

रेडियो प्रशारण बन्द भएसँगै समाचार, सूचना र मनोरञ्जनको महत्त्वपूर्ण स्रोतको रूपमा रहेको रेडियो सिन्धुको सेवा अवरुद्ध भएको छ। रेडियोमार्फत नियमित रूपमा प्रशारण हुँदै आएको स्थानीय सूचना, खबर र सामुदायिक कार्यक्रमहरू रोकिएका छन्।

सञ्चालन समितिका अनुसार सम्पूर्ण उपकरण जलेर ठूलो आर्थिक क्षति भएको र नयाँ उपकरण व्यवस्थापनका लागि सहयोग आवश्यक रहेको बताइएको छ। रेडियो पुनः सञ्चालनमा ल्याउनका लागि आर्थिक, भौतिक र प्रविधिक सहयोग आवश्यक रहेको भन्दै नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखा र प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले सबै निकाय, संघसंस्था, स्थानीय तथा प्रदेश सरकार, संघीय सरकार, सञ्चार क्षेत्रलगायत सरोकारवालाहरूलाई हार्दिक अपिल गरेको छ।

घटनाले रेडियो परिवार मात्र होइन, जिल्लावासीलाई नै सूचना प्रवाहको हिसाबले ठूलो क्षति पु-याएको भन्दै तत्काल पुनः सञ्चालनका लागि सहकार्यको आवश्यकता औँल्याइएको छ।

 

प्रतिक्रिया दिनुहोस्