सिन्धुपाल्चोक — लगातारको वर्षापछि भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरुमा बाढीको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै छिमेकी मुलुक चीनको तिब्बतस्थित न्यालम क्षेत्रमा भारी वर्षा भइरहेको र राति अझै बढी वर्षाको सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट प्राप्त भएको जनाएको छ। यसले भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव अत्यधिक बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दा, स्थानीयवासी, यात्री तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै, कार्यालयले अरनिको राजमार्गको बन्देउदेखि लिपिङसम्मको खण्डमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन समेत सुझाव दिएको छ।
यसैबीच, आज बिहान चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार क्षेत्र लगायतका संरचनामा क्षति पुगेको जानकारी प्राप्त भएको छ। बाढी र पहिरोका सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानिय तह, सुरक्षा निकाय तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाई पूर्वतयारी अवस्थामा रहन प्रशासनले पुनः अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्