२०८२ कार्तिक २

जहाँ राजनीति विद्यालय प्रवेश गर्दैन

पुण्यप्रसाद न्यौपाने

२०६१ साल साउन महिना (तदनुसार सन् २००४, जुलाई) मा नेपालबाट एउटा प्रतिनिधि मण्डल जापानको अध्ययन भ्रमणमा जाने भयो । त्यस प्रतिनिधि मण्डलमा शिक्षा विभागको तर्फबाट म पनि सामेल थिए । जापानको विद्यालय शिक्षा प्रणाली अध्ययन अवलोकन गर्न गएको सो प्रतिनिधि मण्डलको कार्यतालिकामा त्यहाँको बाल विकास केन्द्र र प्राथमिक विद्यालयको अवलोकन भ्रमण गर्ने तथा तिनको व्यवस्थापन र सञ्चालन तौरतरिकाका सम्बन्धमा आधिकारिक व्यक्तिहरूसँग संवाद, विमर्श र अन्तर्क्रिया गर्नेलगायतका विषयहरू उल्लेख थिए । प्रतिनिधि मण्डलका अन्य सदस्यमा शिक्षा विभागका निर्देशक जनार्दन नेपाल, उपनिर्देशक टेकेन्द्र कार्की, ड्यानिडाका सुमन अधिकारी र युनिसेफका क्षेत्रीय अधिकृत शरद् कोइराला हुनुहुन्थ्यो ।
कार्यक्रम अनुसार हामी साउन १६ गते (जुलाई ३१ तारिख) राति आरएको उडानबाट शांघाई हुँदै ओसाकाको निमित्त प्रस्थान गर्छौं । स्थानीय समय अनुसार बिहान ६ बजेतिर जहाज शांघाई विमानस्थलमा अवतरण गर्छ, र १ घण्टाजति रोकिएर पुन: ओसाकाको लागि उडान भर्छ । त्यहाँबाट ४ घण्टा उडेपछि करीब १२ बजेतिर हामी ओसाका विमानस्थलमा उत्रिन्छौँ ।
अन्तर्राष्ट्रिय उडानबाट आएका विदेशी यात्रीहरूले पूरा गर्नु पर्ने सबै औपचारिक प्रक्रिया सम्पन्न गरी हामी बाहिरियौं । एयरपोर्टमा हामीलाई स्वागत गर्न जापानमै उच्च शिक्षा हासिल गरिरहेका पारस अधिकारी (सुमन अधिकारीका भाइ) प्रतीक्षारत थिए । भेटघाटपछि सामान्य बातचित हुन्छ र अगाडिको यात्राको बारेमा सोधपुछ गर्छौं । पारसले हामी सबैका लागि एयरपोर्टबाट ओसाकासम्म र पुन: ओसाकादेखि नागाओकासम्मको ट्रेनको टिकट लिइसकेका रहेछन् ।
अब हामी बुलेट ट्रेन चढ्छौँ । बुलेट ट्रेन (सिन्कान्सेन) को द्रुत र आरामदायी यात्रा रोमान्चक हुन्छ । अघिल्लो पटकको जापान भ्रमणमा मैले यस्तो अनुभव गरिसकेको थिएँ । त्यति बेला टोकियो – क्योटो ओहोरदोहोर गर्दा सिन्कान्सेनमा सफर गरिएको हो । सो सफरमा हुँदा ट्रेनबाट माउन्ट फुजी (३७७६ मिटर) देखेको हुँ । सँगै रहेका जापानी मित्रले माउन्ट फुजी चिनाएका थिए । त्यो रमणीय यात्रा बिर्सेको छैन । प्रति घण्टा २ सय किलोमिटरको गतिमा चल्ने रहेछ सिन्कान्सेन । पहिलो पटक सो ट्रेनको यात्रा गर्दा झन्डै झन्डै प्लेनमै सफर गरे जस्तो अनुभव भएको थियो ।
नागाओका स्टेसनमा जापानी शिक्षासेवी ताकेशी हयोदो आफ्ना सहकर्मी र विद्यार्थीको एउटा समूहका साथमा हाम्रो स्वागतार्थ उभिएको देख्छौं । समूहले नेपालको चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा हल्लाएर नेपालप्रतिको प्रेम र सद्भाव प्रकट गरिरहेका छन् । विदेशीभूमिमा त्यस किसिमको न्यानो स्वागत पाउँदा हामीहरूको खुशीको ठेगान हुँदैन । हर्षविभोर हुन्छौं । आएका सबैसँग हात मिलाएर उनीहरूलाई धन्यवाद दियौं । मैले आफूलाई जापानी बालबालिकाहरूसँग फेरि एकपटक ‘कनेक्ट’ भएको महसुस गरें । सन् १९९८ मा जापान जाँदा बालबालिकाहरूका धेरै कार्यक्रममा सहभागी हुने र उनीहरूका गीत नृत्य र चित्रकला देख्ने राम्रो मौका मिलेको थियो । ती रमाइला सम्झनाहरू मष्तिस्कमा सलबलाउन थाले । त्यतिबेला महिला तथा समाज कल्याण मन्त्रालयको तर्फबाट जापानको समाज कल्याण कार्यक्रमहरूको अध्ययन गर्न गएको थिएँ ।
नागाओका स्टेसनबाट हयोदोको अफिस हुँदै होटलमा पुग्छौं । त्यतिखेर झमक्क साँझ परिसकेको हुन्छ । जापानी सभ्यता र संस्कृतिको परिचय गराउने संग्रहालय जस्तो रहेछ होटेल । एकदम मौलिक किसिमको । होटेलमा सजाइएका र प्रयोगमा रहेका यावत वस्तु र सुविधाहरूले जापानी जनजीवनका विविध आयामहरूको झल्को दिइरहेको अनुभूति हुन्छ ।
जापानी खानामा मुख्यगरी भात, नुडल्स, माछा, सीफुडस्, मासु, सागपात हुन्छ यद्यपि हाम्रो स्वादसँग अलि मिल्दैन । तर त्यस्तो समस्या पनि पर्दैन । माछा (साकाना) त्यहाँको मुख्य खानामा पर्छ । माछाका धेरै परिकारको स्वाद लिइयो त्यस बखतमा ।
अनसेन (Onsen, प्राकृतिक साउना) को प्रबन्ध पनि रहेछ होटेलमा । जापानमा अनसेन (Onsen bath) धेरै लोकप्रिय छ । लोकप्रिय हुनुको कारण नसा र छालाको रोगसहित अरू थुप्रै रोगहरू निको हुन्छ भन्ने विश्वास हो । यो नुहाइले मुखको चाउरी (रिंकल्स) पनि मेटिने भनाइ सुनिन्छ । अनौठो कुरा के चाहिँ हो भने अनसेनमा पुरै वस्त्ररहित भएर जानु पर्ने र तौलियासमेत लग्न निषेध गरिएको हुन्छ । लुगाले पोखरीको पानी फोहर (दुषित) तुल्याउँछ भनेर यस्तो चलन चलाइएको रहेछ । स्याम्पू साबुन त झन् टाढाको कुरा भो, प्रयोग गर्न पाइँदैन । एकैपटक धेरै मानिस समूहमा नुहाउँछन् । हाम्रो सांस्कृतिक परिवेशको निम्ति सुन्दै असहज र अनौठो भए पनि जापानी संस्कृतिमा अनसेन अति सामान्य क्रियाकलापमा पर्दछ । महिला र पुरुषका निम्ति छुट्टाछुट्टै अनसेनको व्यवस्था गरेको हुन्छ ।
आगन्तुकलाई लोभ्याउने सुविधायुक्त यो होटेल प्रायःजसो पर्यटकहरूले भरिभराउ हुनेगर्दछ । सोही वर्षको अक्टोबर महीनामा ६.८ म्याग्निच्युडको भूकम्पले सो होटल समेत नराम्रोसँग क्षतिग्रस्त भएको सुनेर म स्तब्ध भएको थिएँ ।
अगष्ट २ तारिख हाम्रो यात्राको महत्त्वपूर्ण दिन थियो । त्यसै दिन नागाओका म्युनिसिपालिटीका मेयरसँग औपचारिक भेटघाट गर्ने समय मिलाइएको छ । जापानीहरू समयपालनमा विशेष ध्यान दिने भएकाले ब्रेकफास्ट गरेर निर्धारित समयभन्दा केही अगाडि नै मेयरको कार्यालयमा पुग्छौँ । कर्मचारीले स्वागत गरेर हामीलाई सिधै मेयरको बैठक कक्षमा लग्छन् । तत्काल बैठक कक्षमा मेयरको प्रवेश हुन्छ । समय पालनमा अति चुस्त जापानीहरूको कार्य संस्कृति यहाँ पनि प्रदर्शित हुन्छ । मेयरसँग परस्परमा अभिवादन आदानप्रदान गर्छौं र औपचारिक चिनाजानी गर्ने काम हुन्छ । संवादको आरम्भ गर्दै मेयरले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको चर्चा गरे, र आफू नेपालको भलाइ चिताउने मान्छे भएको बताए । नेपालको शिक्षा विकासमा अभिरुचि राख्ने गरेको र नगरबासीलाई नेपाल भ्रमण गर्न सुझाउने गरेको प्रसंग पनि कोट्याए ।
हामीले भ्रमणको उद्देश्य बारेमा मेयरलाई जानकारी गरायौं र नेपालको विकासमा जापानले गरेको योगदानको निमित्त धन्यवाद पनि दियौं । छलफलको क्रममा हामीले जापानी शिक्षा प्रणाली, यसका विशेषता, शिक्षा विकासमा नगरपालिकाको भूमिका र जिम्मेवारी, आदि विषयमा आफ्ना जिज्ञासा र प्रश्नहरू राख्यौं । उनले ती सबै विषयमा आफ्ना विचारहरू प्रष्टसँग व्यक्त गरे । मिटिङको अन्त्यतिर गिफ्ट आदानप्रदान गर्ने क्रममा हामीले नेपालको कलात्मक काठको झ्याल प्रदान गर्यौं । उनले त्यसलाई तत्कालै आफ्ना कार्यकक्षमा सजाएर राख्न सहयोगीलाई निर्देशन दिए ।
साझमा आतसबाजी (Hannabi) मा सरिकहुने कार्यक्रम छ । नागाओकाको हान्नाबी फेस्टिभल जापानको एउटा प्रसिद्ध पर्व रहेछ र हजारौँ हजार मानिसले सो आतसबाजी अवलोकन गर्दा रहेछन् । हरेक वर्षको अगष्ट २-३ तारिखमा यो पर्व मनाइन्छ । मेला भर्न हामीहरू समयमै मेलास्थल पुग्छौं । सिनानो नदी वारिपारिको पूरा मेलास्थल मानिसले टनाटन भरिएको छ । नगरपालिकासमेतको सहयोग र समन्वयमा हयोदोले पनि नेपालको शिक्षाको निम्ति सहयोग जुटाउन आतसबाजीका केही इभेन्ट्सको प्रायोजन गरेका छन् । फ्लडलाइटबाट पूरै मेलास्थल धपक्क बलेको छ । नेपालको राष्ट्रिय झन्डा पनि फरफराइरहेको छ । झण्डा भएकै ठाउँमा हामीलाई बसालिन्छ ।
कार्यक्रम शुरु हुन्छ उद्घोषणबाट । इभेन्ट प्रायोजकको नाम, उद्देश्य आदिको उद्घोषपछि विभिन्न आकृति झल्काउने रंगीचंगी आतसबाजीको सिलसिला अगाडि बढ्छ । नेपालका बालबालिकाहरूको शिक्षाको निमित्त सहयोगको आह्वानसहित हयोदोले आयोजना गरेको इभेन्टको पालो आयो । सगरमाथा आकृति झल्किने आतिसबाजीबाट शुरु भएको सो शृंखलामा नेपाललाई चिनाउने सुन्दर दृश्यहरू एकपछि अर्को गरी प्रस्तुत हुन थाले । दर्शकहरूले तालीको गडगडाहटबाट सो प्रस्तुतिको सराहना गरे । करीब ४ मिनेटको थियो होला नेपाल सम्बन्धी सो प्रस्तुति । उक्त साँझ प्रदर्शन भएका आतिसबाजी मध्ये नेपाल सम्बन्धी इभेन्ट मूल्यांकनमा उत्कृष्ट ठहर भएको हामीले पछि जानकारी पायौं । धेरै संस्था र व्यक्तिले नेपालको शिक्षा विकासलाई सघाउने प्रतिबद्धता व्यक्त गरेको भन्ने पनि सुन्यौं । आतसबाजी आयोजना गर्न नगरपालिकाको मुख्य भूमिका हुँदोरहेछ ।
अगष्ट ३ र ४ तारिख दुई दिन बाल विकास केन्द्र (ECD Center) र विद्यालय अवलोकनको निम्ति छुट्याएका थियौं । ती दुई दिनमा केही प्राथमिक र निम्न माध्यमिक विद्यालय (Elementary and Junior High School) अवलोकन भ्रमण गर्ने काम सम्पन्न भए । बाल विकास केन्द्र र विद्यालयको अध्ययन, अवलोकन र शिक्षक तथा विद्यार्थीसँगको छलफलबाट जापानी विद्यालय शिक्षाका विविध आयामका बारेमा धेरै जानकारी हासिल गर्यौं ।
जापानमा पहिले हामीहरूकहाँ भएजस्तै तीन तहका विद्यालय हुन्छन् प्राथमिक, निम्न माध्यमिक र माध्यमिक । कक्षा ६ सम्मको पढाइ प्राथमिक तहमा हुन्छ । निम्न माध्यमिकमा ७ देखि ९ सम्म र माध्यमिकमा १० देखि १२ कक्षासम्मको पढाइ हुन्छ । माध्यमिक तह पूरा गरेपछि कलेजबाट ग्र्याजुयट हुन ४ वर्षको अध्ययन पूरा गर्नुपर्छ । ९ कक्षासम्मको शिक्षा निशुल्क र अनिवार्य छ । प्राथमिक र निम्न माध्यमिक शिक्षा नगरपालिकाको कार्यक्षेत्रभित्र पर्छ भने माध्यमिक र उच्च शिक्षा क्रमशः प्रिफेक्चर र केन्द्रीय सरकारको जिम्मेवारीमा पर्दछ ।
बाल विकास केन्द्रको सेवा न निशुल्क छ न त अनिवार्य नै । अभिभावकले परिवारको आयको आधारमा तोकिएको मासिक शुल्क तिर्नु पर्ने व्यवस्था रहेछ । नगरपालिकालाई शुल्क घटाउन सक्ने पनि अधिकार छ । त्यस बेला महीनाको करीब ३० हजार येन तिर्नु पर्थ्यो एक जनाको निम्ति ।
बाल विकास केन्द्रमा प्रवेश गर्नासाथ त्यहाँको व्यवस्थापन र सञ्चालन पक्षबाट आश्चर्यचकित हुन्छौं । केन्द्र प्रवेश गर्दादेखि नै “खास” लाग्ने अनेकन कुराहरूमा हाम्रो नजर पर्दछ । फराकिलो कम्पाउण्डभित्र चिटिक्क परेका सुन्दर भवन । अत्यन्त सफासुग्घर परिसर, खेल्न खेलाउन मिल्ने ठूलाठूला कोठाहरू, बालबालिकाहरूलाई आवश्यक पर्ने सरसामग्रीको मनग्गे व्यवस्था । मनै लोभ्याउने वातावरण । डाइनिङ टेबल, पानीका धारा, नुहाउने टब, स्विमिङ पूल, बाथरूम कमोड, युरिनल, आदि सबै बालबालिका आफैँले प्रयोग गर्न सक्नेगरी निर्माण भएका छन् । हामीलाई यहाँ उनीहरूले आधारभूत तहका जीवन – कला राम्ररी सिकिरहेको अनुभव हुन्छ । स्वास्थ्य र सरसफाईमा विशेष ध्यान दिएको प्रष्ट देखिन्छ । केन्द्रका यावत सरसुविधाहरू बालबालिकाको उमेर सुहाउँदा छन् । ३-४ वर्षका सानासाना केटाकेटीहरू कोही हातमा ब्रस लिएर दाँत माझिरहेका, कोही साबुनले हात धोइरहेका, कोही खाना खाइरहेका र कोही साथीसँग खेलिरहेका हामी देख्दैछौँ । खेल्दा खेल्दै सीप सिक्ने र त्यसलाई प्रयोग गर्ने व्यवहारिक अभ्यास गरिरहेका थिए उनीहरू । सबै आआफ्ना काममा मस्त थिए, प्रसन्न थिए । सारांशमा भन्नुपर्दा त्यहाँका सम्पूर्ण गतिविधि, वस्तु र सेवा बाल-मैत्री थिए । सार्थक सिकाइका निमित्त उपयुक्त थिए ।
हामीले अवलोकन गरेका प्राथमिक विद्यालयका कक्षाकोठामा स्थायी भित्ता (फिक्स्ड वाल) थिएनन् । आवश्यकता अनुसार ठूलो सानो गर्न सकिने खालका थिए कोठाहरू । ‘एक कक्षा, अनेक शिक्षक’ अवधारणा अनुसार शिक्षण सिकाइ हुँदो रहेछ । अर्थात एकै कक्षाका विद्यार्थी भए पनि उनीहरूलाई आवश्यकता अनुसार अलग अलग शिक्षकको सुपरिवेक्षणमा विभिन्न सिकाइ क्रियाकलापमा संलग्न गराइँदो रहेछ । प्राथमिक तहमा एउटा शिक्षकले कक्षाका सबैलाई एकै समूहमा सिकाइरहेको दृश्य विरलै देखिन्छ । ज-जसलाई जुन जुन विषयमा सहयोग चाहिएको छ ती ती विषयमा शिक्षकले सहयोग गर्छन् । विज्ञान प्रयोगशाला, संगीतकक्ष, जिम, खेलमैदान, स्विमिङ पूल, पुस्तकालय प्राथमिक विद्यालयमा पाइने आधारभूत सुविधा हुन् । जापानमा यस्ता सुविधा नभएका विद्यालयको कल्पना गर्न सकिन्न । विद्यार्थीलाई सबै क्षेत्रमा भरसक उम्दा बनाउने प्रयत्न हुँदो रहेछ ।
शिक्षकहरू आफ्ना पेशाप्रति समर्पित र निष्ठावान छन् । कुनै गुनासो छैन । छलफलको सिलसिलामा व्यक्त भएका विचारबाट उनीहरू आफ्नो पेशाप्रति गर्व गर्छन् भन्ने बुझ्न गाह्रो पर्दैन । शिक्षकहरूको निमित्त ६० वर्ष अवकाश हुने उमेर हो । उनीहरूले पाउने सेवा सुविधाहरू सबै सुनिश्चित गरिएका हुन्छन् । पाठ्यक्रमको सम्बन्धमा विद्यालयलाई राष्ट्रिय फ्रेमवर्क दिइन्छ, र अन्य कुराहरू विद्यालय स्वयंले निर्णय गरी कार्यान्वयन गर्न सक्छन् । शिक्षकमा नियुक्ति पाउन अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छ । त्यस्तै, कलेज ग्र्याजुयट भै सम्बन्धित विषयमा तालिम प्राप्त व्यक्ति मात्र शिक्षक हुनका निमित्त योग्य मानिन्छ ।
अघिल्लो भ्रमणदेखि जापानी शिक्षा प्रणाली एक उत्कृष्ट प्रणाली हो भन्ने मेरो बुझाइ रहेको हो । यस पटकका भेटघाट, छलफल, अन्तरक्रिया र कक्षा अवलोकनबाट मेरो अघिल्लो धारणा अझ बलियो बन्यो । त्यहाँको शिक्षा प्रणालीको विषयमा धेरै कुराहरू जान्न पायौं । सबैभन्दा महत्त्वपूर्ण कुरा, जापानी विद्यालयहरू बालबालिका पढाउने ठाउँभन्दा उनीहरूलाई जिउने कला (life skill), सिक्न सघाउने प्रयोगशाला हुन् । अर्थात् त्यहाँ उनीहरूलाई अनुशासन र जीवन उपयोगी ज्ञान र सीप सिक्न प्रेरित गरिँदो रहेछ । शिक्षकहरूको जोडबल पढाउनेमा भन्दा बालबालिकाको सिकाइ सहजीकरण गर्नेमै केन्द्रित भएको पाइन्छ । आचरण र नैतिक शिक्षालाई उच्च महत्त्व दिएको हुन्छ । विद्यालय तहमा एकै किसिमको पाठ्यक्रम, एकै किसिमको लन्च र एकै किसिमको पोशाक निर्धारण गरिएको हुन्छ । यसबाट पनि विद्यार्थीलाई हामी एकै परिवारका सदस्य हौँ, एकै समुदायका मानिस हौँ भन्ने भावना जगाउन प्रयास गरिएको बुझ्न सकिन्छ ।
विद्यालय पाठ्यक्रमले विद्यार्थीहरूलाई सानै उमेरदेखि नै आफ्नो जिम्मेवारी बोध गराउन र त्यसलाई वहन गर्न प्रेरित गर्नेगरी शिक्षा दिन निर्देश गरेको छ । १० वर्षको उमेरसम्मका विद्यार्थीलाई कुनै परीक्षा दिएर पास फेल गर्नेभन्दा पनि पाठ्यक्रम निर्देशित ज्ञान, सीप, सोच र व्यवहार सिक्नका निमित्त उनीहरूलाई कक्षाभित्र वा बाहिरका साना साना काममा संलग्न गराइन्छ र ती काम गर्दा उनीहरूले देखाएको सीप, आचरण र व्यवहार हेरेर उनीहरूको सिकाइ मूल्यांकन गरिन्छ । उनीहरूले आफूलाई दिइएका जिम्मेवारी अनिवार्य रूपमा पूरा गर्नुपर्ने हुन्छ । जिम्मेवारी निर्वाह गर्न सिकाउने सन्दर्भमा उनीहरूलाई अन्य विद्यार्थीलाई खाना बाँड्ने, कक्षा कोठा सफा गर्ने, स्कूल छुटेपछि आफैँ घर जाने, समयमै कक्षाकोठामा उपस्थित हुने आदि कार्य पनि दिइँदो रहेछ, र ती कामको पनि लेखाजोखा गरिन्छ ।
जापानको विद्यालय प्रणालीमा शिक्षकहरूले निर्धारित काम कर्तव्य उत्तरदायी भएर निर्वाह गर्छन् । उनीहरूले नियमित गर्नुपर्ने कामको अतिरिक्त विद्यालय समयपछि पनि कमजोर विद्यार्थीको निमित्त अतिरिक्त कक्षा सञ्चालन गर्छन् । आफ्नो विषयमा सबै विद्यार्थीले वान्छित उपलब्धि प्राप्त गर्न सक्छन् भन्ने कुरा सुनिश्चित नभएसम्म स्वयं परिचालित भएर अनेकन प्रयत्न गरिरहेका हुन्छन् । यस्तो व्यवस्था भएकैले सामान्यतः कुनै पनि विद्यार्थीले कक्षा दोहोर्याउनु पर्ने स्थिति हुँदैन ।
शिक्षकको आचरण र व्यवहारमार्फत विद्यार्थीमा नैतिक मूल्यमान्यता विकास गर्ने अपेक्षा राखिन्छ । शिक्षकको अनुशासन र सदाचारिता विद्यार्थीको समग्र व्यवहारमा प्रतिबिम्बित हुने विश्वास गरिन्छ । आफ्ना क्रियाकलापले विद्यार्थीमा कस्तो प्रभाव पर्दछ भन्ने कुरामा शिक्षकहरू सदैव चनाखो रहन्छन् । केटाकेटीलाई सधैँभरि ‘यो गर्नु हुन्छ, त्यो गर्नु हुँदैन’ भनिरहनु भन्दा शिक्षकहरू स्वयंले ती कुराहरूलाई भरसक आफ्नै व्यवहारमा प्रदर्शन गरेर विद्यार्थीलाई सिक्न प्रेरित गर्नुपर्दछ भन्ने मान्यता त्यहाँको समाजले बोकेको पाइन्छ ।
विद्यार्थीहरू आफ्ना गुरूलाई श्रद्धा गर्छन् । गुरु र अन्य मान्यजनलाई निहुरिएर सम्मान प्रकट गर्छन् । समाजमा शिक्षकहरूको उच्च मर्यादा छ । उनीहरूलाई आदरार्थी शब्दबाट सम्बोधन गरिन्छ । सबै बालबालिका स्वस्थ, हँसिला, फूर्तिला र रहरलाग्दा देखिन्छन् । उनीहरूलाई सानैदेखि आत्मनिर्भर हुन प्रेरित गरिन्छ ।
जापान विकसित र समृद्ध हुनसक्नुको पछाडि के कस्ता कारण होलान् ? भन्ने हाम्रो जिज्ञासामा नागाओकाका मेयरले भनेका कुरा बेला बेलामा सम्झन्छु । “जापान, जापानीहरूको अनुशासन प्रेम, समय चेतना, कर्तव्यबोध र कठीन परिश्रमबाट बनेको हो,” उनले भनेका थिए । उनी शतप्रतिशत सही थिए भन्ने मलाई लाग्छ । दोस्रो विश्व युद्धमा पराजित भयर नराम्रोसँग तहसनहस भएको जापान यति छिटो रुपान्तरित भयो कि संसार यसको प्रगति देखेर तीनछक्क परेको थियो । प्रतिस्पर्धी शक्तिहरूमा इर्ष्या जगाएको थियो । सत्तरीको दशकमा आइनपुग्दै जापानी अर्थतन्त्र विश्वको दोश्रो ठूलो अर्थतन्त्र बनिसकेको हो । आज पनि जापानीहरूले सत्यनिष्ठापूर्वक आफ्ना काम विशिष्ट शैली प्रयोग गरी सम्पादन गरिरहेकै छन्, चाहे ती जुनसुकै क्षेत्रमा कार्यरत किन नहोउन् । कारखाना, विद्यालय, अस्पताल, सरकारी कार्यालय, सार्वजनिक यातायात लगायतका हरेक क्षेत्रमा उनीहरूले आफ्नो अलग मानक स्थापना गरेका छन् । यिनै विशेषताहरूको योगफल ‘जापानी व्यवस्थापन पद्धति’ हो जो यही नामबाट संसारमा चिनिएको पनि छ ।
शिक्षकहरूसँगको अर्को एउटा छलफल कार्यक्रममा हामीले भनेका थियौं, तपाईँका देशमा हरेक कुरा ठीकठाक देखिन्छन्, यहाँ कुनै कुराको अभाव छ जस्तो लाग्दैन । यदि यहाँ पनि समस्या छन् भने ती कस्ता छन्, हामीलाई बताउन चाहनुहुन्छ ?
त्यसबेला उनीहरूले हामीलाई दिएको जवाफ निकै चाखलाग्दा र घतलाग्दा पनि छन् ।
“जापानी बालबालिकाहरूको निमित्त प्रकृतिसँग हेलमेल गर्ने, भिज्ने र रमाउने अवसर दिनानुदिन कम हुँदै गएको छ । उनीहरूको समाजसँगको सम्बन्ध पनि पातलिँदै गएको अनुभव भैरहेको छ,” उनीहरूले भनेका थिए, “अर्को समस्या भनेको युवा वर्गमा समयमा विवाह नगर्ने, विवाह गर्नेले पनि छोराछोरी जन्माउन नचाहने प्रवृत्ति बढेको छ जसले गर्दा जन्मदर र मृत्युदरमा ठूलो असन्तुलन ल्याएको छ । बालबालिकाको संख्या क्रमशः घटिरहेको छ भने वृद्धवृद्धाको जनसंख्या बढेको बढ्यै छ । यसो हुनु भनेको ठूलो चिन्ताको विषय हो ।”
नागाओका म्युनिसिपालिटिका मेयर, शिक्षक र विद्यार्थीसँग गरिएको छुट्टाछुट्टै अन्तरक्रियाबाट जापानको शिक्षा पद्धतिका विभिन्न आयामका बारेमा सोध्ने, जान्ने र बुझ्ने ज्यादै राम्रो अवसर मिल्यो । उनीहरूले पनि नेपाल र नेपालको शिक्षा प्रणालीका विषयमा प्रश्नहरू सोधे । यस्ता कार्यक्रम र भेटघाटमा दोभासेको सेवा आवश्यक पर्थ्यो । दोभासे नभएको ठाउँमा पारसले त्यो भूमिका पनि खेलेर हामीहरूलाई धेरै सघाए । जापानको विकेन्द्रित शिक्षा योजना प्रणाली, विद्यालय व्यवस्थापन, शिक्षामा राजनीतिक क्षेत्रको अहस्तक्षेप, अन्तर क्षेत्रगत समन्वय, गुणस्तरको सुनिश्चितता आदि विषयमा भरसक बढी जानकारी हासिल गर्ने हाम्रो प्रयत्न रहेको थियो ।
जापानको शिक्षा प्रणालीमा राजनीति स्कूल प्रवेश गर्न पाउँदैन । दलगत राजनीति गर्ने छुट कसैलाई छैन । शिक्षकहरूमा राजनीतिक तटस्थता आवश्यक मानिन्छ । द्वितीय विश्वयुद्धपछि शिक्षालाई राजनीतिबाट अलग राख्न थालिएको रहेछ । राजनीतिक हस्तक्षेपबाट मुक्त रहेको हुनाले पनि जापानको शिक्षा प्रणाली एक उत्कृष्ट प्रणालीमा स्थापित हुन सफल भएको विस्वास गरिन्छ ।
५ तारिखको दिन बिहान यामाकोसी गाउँमा जाने कार्यक्रम छ । सुनेका छौँ, शहरबाट नजिक छ यामाकोसी । जापानका गाउँ कस्ता होलान् भन्ने जिज्ञासा थियो हामीमा । शहरबाट यामाकोसी पुग्न डेढ घण्टा पनि लागेन होला । पहाडी गाउँ अत्यन्त सुन्दर रहेछ । गाउँको कुना कुनासम्म पक्की सडकको सञ्जाल फैलिएको छ । बहुतै कुशलतापूर्वक बन व्यवस्थापन गरिएको पाउँछौँ । कहीँ कतै लड़ापडा रुख छैनन्, न त सुकेका नै । माछापोखरी धेरै रहेछन् यस गाउँमा । माछा उत्पादनका लागि प्रख्यात रहेछ यामाकोसी । यहाँ पाइने विभिन्न रङका सुन्दर माछा सजावटका निम्ति अमेरिकालगायत पश्चिमी मुलुकमा निकासी हुँदोरहेछ । हरियालीयुक्त सो गाउँ एकदम सफा र शान्त देखिन्छ । हिउँदमा यस ठाउँमा दुई मिटरसम्म हिउँ जमेको हुन्छ भन्ने कुरा पनि सुन्यौं ।
यामाकोसी गाउँ कार्यालय पुगेर ग्राम प्रमुखलगायत अन्य महत्त्वपूर्ण व्यक्तिसँग भेटघाट गर्छौं । गाउँको सुशासन र विकासका बारेमा पदाधिकारीसँग छलफल हुन्छ । हामी उनीहरू समक्ष गाउँका विकास र चुनौतीका विषयमा छलफल गर्छौं । प्रमुख लगायत अन्य पदाधिकारीले गाउँको समग्र अवस्थाको बारेमा ब्रिफिङ गर्छन् । गाउँ कार्यालयमा शिक्षा, स्वास्थ्य, कृषि आदि विभाग पनि रहेछन् । मिटिङमा कर्मचारी र प्रतिनिधिहरूको उपस्थिति, प्रस्तुति र व्यवहारबाट उनीहरूमा कर्तव्य एवं जिम्मेवारी बोध र समय सचेतना यथेष्ट रहेको प्रष्ट हुन्छ । यामाकोसी सिंगो होंसु टापुमा बुल फाइटको निम्ति पनि नामी रहेछ ।
दिउँसो लन्च खाएर निगाता शहरतर्फ लाग्यौं । शरद कोइराला बहिनीलाई भेट्न भनी टोकियो प्रस्थान गर्नुभयो । निगातामा दिउँसो आइपुग्ने भन्ने समाचार पाएर हामीलाई पर्खिरहेका त्यहाँ अध्ययन गर्ने नेपाली साथीहरू ज्ञानुरत्न तुलाधर, पंकज भट्टराई, अच्युत तिवारीहरूलाई भेट्यौं । कफी पिउँदै उहाँहरूसँग गफगाफ भयो । त्यसपछि सँगसँगै Toki Messe (भ्युटावर) गएर निगाता शहरको दृश्य अवलोकन गर्छौं । समय निकै घर्किसकेको हुनाले विद्यार्थी साथीहरूसँग बिदाबादी भएर नागाओका स्थित आफू बसेको होटलमा फर्कन्छौं । अब हामीसँग जापान बसाइका निम्ति मात्र एक दिन बाँकी भयो ।आखिरी दिनमा डाउनटाउन घुम्ने र सपिङ गर्ने अजेण्डा लिएर पारस भाइकै कमाण्डमा बाहिर निस्कन्छौं । मलबाट साथीहरूले घडी, क्यामरा आदि इलेक्ट्रोनिक सामान, लुगाफाटा र गिफ्ट आइटम्स खरिद गर्नु भयो । मैले पनि क्यामरा, केही लुगाफाटा र थोरै गिफ्टका सामान किने । ७ अगष्टको साँझमा यात्राको बिट मार्दै नागाओकाबाट ट्रेनमा ओसाका प्रस्थान गर्यौं, र ओसाकाबाट शांघाई हुँदै भोलिपल्ट काठमाडौँ उत्रियौं ।

प्रतिक्रिया दिनुहोस्