२०८२ असार १७
                           

बुर्किनाफासोका ट्राओरे र नेपाली कम्युनिस्ट आन्दोलन

उकालो |- विश्व कम्युनिस्ट आन्दोलनले मानव इतिहासमा सामाजिक परिवर्तन, समानता र शोषणमुक्त समाजको सपना बोकेर ठूलाठूला क्रान्ति जन्मायो। कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको वैज्ञानिक समाजवादले बिसौँ शताब्दीलाई क्रान्तिकारी परिवर्तनको युग बनायो। लेनिन, माओ र अन्य नेताहरूले यो विचारधारालाई विश्वव्यापी बनाए।
सन् १८४८को कम्युनिस्ट घोषणापत्र प्रकाशन भएपछि कम्युनिजमलाई  बैंकर, पादरी, मुल्ला, पण्डित र अभिजातहरूको सिन्डिकेटले ‘युरोपमा घुमिरहेको भूत’ को संज्ञा दिए। यसले पुँजीवाद, साम्राज्यवाद र उपनिवेशवादको आधार हल्लायो। तर, बिसौँ शताब्दीको मध्यदेखि यो आन्दोलनमा आन्तरिक विभाजन, सैद्धान्तिक विचलन र नयाँ शासक वर्गको उदयले गम्भीर चुनौती खडा गर्दै गए। तर पनि यसको वैचारिक ऊर्जा भने सकिएन। सपना र सपनाको सार्थकताका पहलहरू  एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमा परिवर्तनको वैचारिक हतियार बन्दै गयो। आज यो आन्दोलन रूपमा विश्व स्तरमा रक्षात्मक अवस्थामा पुगे पनि त्यसले दिएको सन्देश भने ऊर्जावान् नै छ।
हजारौँ वर्षदेखिको राजतन्त्र, सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादसँग जुझ्ने, अन्धविश्वाससँग जुधेर नयाँ सपना देखाउने मार्क्सवादको उमेर १७७ मात्रै भयो। कम्युनिस्ट घोषणापत्र सन १८४८ मा प्रकाशन भएको थियो। जबसम्म यस धरतीमा अन्याय, शोषण र असमानता रहन्छ, तबसम्म मार्क्सको चिन्तनको हस्तक्षेप हरेक समाज र मानवमा भइरहन्छ।
नेपालको कम्युनिस्ट आन्दोलन यही विश्व परिप्रेक्ष्यको हिस्सा हो। तर हाम्रो भौगोलिक उपस्थिति, सामाजिक, सांस्कृतिक र आर्थिक विशिष्टताले यसलाई जटिल बनाएको छ। हिन्दु वर्णाश्रम धर्म, जातीय संरचना र परम्परागत मान्यताले  आन्दोलनलाई प्रभावित गरेको छ। विश्व कम्युनिस्ट आन्दोलनमा विचलनका कारणहरू हरेक देशको सामाजिक, सांस्कृतिक, आर्थिक, ऐतिहासिक र मनोवैज्ञानिक संरचना फरक हुन्छन्। मार्क्सवादी दर्शनले आर्थिक वर्ग र दर्शनमा भौतिकवाद मात्रै समेट्दा हाम्रा मौलिक विविधतालाई पूर्ण रूपमा समेट्न सकेन। त्यसो हुँदा स्थानीय परिस्थितिमा त्यसको रचनात्मक प्रयोग पनि हुन सकेन। सांस्कृतिक विषय विषय गम्भीर र जटिल हुँदा रहेछन्। हाम्रो विचलनका  प्रमुख कारण तल उल्लेख गरिएका छन्।
१. सैद्धान्तिक विचलन र अवसरवाद: मार्क्सवाद–लेनिनवादले विश्वभरका कम्युनिस्ट आन्दोलनलाई प्रेरणा दियो, तर स्थानीय परिस्थितिमा सिद्धान्तको रचनात्मक प्रयोग गर्न नसक्दा विचलनहरू देखा परे। अन्तर्विरोधको विशिष्ट पहिचान र प्रयोगमा कार्यनीतिहरू भर पर्छ।
सोभियत संघमा स्टालिनको निधनपछि निकिता ख्रुश्चेभको ‘शान्तिपूर्ण सहअस्तित्व’ नीतिले क्रान्तिकारी धारलाई कमजोर बनायो। यो नीतिले पुँजीवादसँग सम्झौता गर्ने बाटो खोल्यो। यस्तै, चिनियाँ क्रान्तिपछि माओको सांस्कृतिक क्रान्ति वैचारिक रूपमा सही भए पनि त्यसले सामाजिक मनोविज्ञानलाई आत्मसात् गर्न नसक्दा त्यो अतिवादी बन्यो। पछि देङ सियाओपिङको ‘बजार समाजवाद’ले मार्क्सवादी सिद्धान्तलाई पुँजीवादी ढाँचामा ढाल्यो, जसले विश्व कम्युनिस्ट आन्दोलनलाई दिशाहीन बनायो।
२. वर्ग संघर्षको कमजोर विश्लेषण: मार्क्सवादले वर्ग संघर्षलाई सामाजिक परिवर्तनको केन्द्रमा राख्छ। तर, धेरै कम्युनिस्ट पार्टीहरूले सत्तामा पुगेपछि वर्ग संघर्षलाई कमजोर बनाए। भारतीय उपमहाद्वीपमा जातीय र धार्मिक तहगत वर्ग थिए र छन्। त्यसो हुँदा वर्ग आर्थिक मात्रै नभएर धार्मिक र सांस्कृतिक पनि हुन्छन्। यही जटिलताले यहाँको वर्ग संघर्षलाई प्रभावित गर्‍यो। तर, कम्युनिस्ट आन्दोलनले यी मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेन।
इटालियन मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्स्कीले १९३० को दशकमै सोभियत संघमा ‘लाल नोकरशाही’ र विशेषाधिकार प्राप्त वर्ग (नोमेनक्लातुरा) को उदय भएको औँल्याएका थिए। सत्ताको दुरुपयोग, भ्रष्टाचार र नोकरशाहीले जनताको विश्वास गुम्यो।  जसले सोभियत संघको विघटनमा ठूलो भूमिका खेल्यो।
३. सांस्कृतिक र धार्मिक प्रभाव: कम्युनिस्ट आन्दोलनले सामाजिक संस्कृति र धार्मिक विश्वासलाई परिवर्तन गर्नमा अपेक्षित सफलता प्राप्त गर्न सकेन।  परम्परागत मान्यताहरू जनमानसमा गहिरो गरी जरा गाडेर बसेका हुन्छन्। यी मान्यतालाई वैज्ञानिक चेतनाले प्रतिस्थापन गर्न नसक्दा आन्दोलन कमजोर बन्यो।
नेपालमा हिन्दु धर्म, जातीय संरचना र परम्परागत मान्यताले कम्युनिस्ट आन्दोलनलाई प्रभावित गरेको छ। धेरै कम्युनिस्ट नेतृत्वमा ब्राह्मणवादी प्रभाव स्पष्ट देखिन्छ, जसले वैचारिक शुद्धतामा प्रश्न उठाउँछ।
४. आन्तरिक विभाजन र टुटफुट: सोभियत संघ र चीनबीचको वैचारिक मतभेदले विश्व कम्युनिस्ट आन्दोलनलाई विभाजित गरायो। यसले भारत र नेपालमा पनि गहिरो प्रभाव पार्‍यो। नेपालमा कम्युनिस्ट पार्टीहरूको बारम्बार टुटफुट वैचारिक आधारले भन्दा स्वत्वका टकरावले भए। व्यक्तिगत अहङ्कार, नेतृत्वको महत्वाकांक्षा र सैद्धान्तिक अस्पष्टताले यो विभाजनलाई झनै गहिर्‍यायो।
५. वैश्वीकरण र पुँजीवादी नीतिहरूको प्रभाव: बिसौँ शताब्दीको अन्त्यमा वैश्वीकरण र नवउदारवादले विश्व अर्थतन्त्रलाई एकीकृत गर्‍यो। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र क्षेत्रीय बैंकहरूका नीतिहरूलाई धेरै कम्युनिस्ट देशहरूले जस्ताको तस्तै लागू गरे। उदाहरणका लागि, देशले आर्थिक प्रगति गरेर विश्व महाशक्तिको दौडमा लागे पनि चीनले १९८० को दशकदेखि बजारमुखी सुधारहरू अपनायो, जसले उसको अर्थतन्त्रलाई विश्व पुँजीवादी प्रणालीसँग जोड्यो।
यी नीतिहरूले कम्युनिस्ट आन्दोलनको वैचारिक पहिचानलाई कमजोर बनायो। हालै चीनले डलर–केन्द्रित अर्थतन्त्रलाई चुनौती दिन सुन र स्थानीय मुद्रामा आधारित कारोबारको प्रयास गरिरहेको छ। उदाहरणका लागि, साङ्घाई सहयोग संगठन र ब्रिक्स देशहरूले डलरको प्रभुत्व कम गर्न वैकल्पिक भुक्तानी प्रणाली विकासमा जोड दिइरहेका छन्। यद्यपि, यी प्रयासले तत्कालै विश्व आर्थिक व्यवस्थालाई परिवर्तन गर्न सक्छ भन्नेमा संकै छ।
६. दर्शनको तीव्र विकास हुन नसक्नु: जुन स्तरमा विज्ञानका विभिन्न शाखाहरू विकसित भए, दर्शनको क्षेत्रमा त्यही स्तरको विकास हुन सकेन। विशेष गरी, मार्क्सवादी दर्शनको व्यापकता राजनीतिक लयले समात्न सकिरहेको छैन। दर्शन सैद्धान्तिक रूपमा सार्वभौम हुन सक्छ, तर राजनीतिमा यसको प्रयोग समय, परिवेश र संस्कृतिसँग मेल खाने गरी सिर्जनात्मक ढंगले गर्नुपर्छ। दर्शन र राजनीतिको समायोजन कुनै धार्मिक ग्रन्थमा जस्तो “यसै गर्नुपर्छ” भनेर लेखिएको हुँदैन; यसका लागि रचनात्मक र लचिलो प्रयोग आवश्यक हुन्छ।
नेपालको कम्युनिस्ट आन्दोलन र विचलननेपालको कम्युनिस्ट आन्दोलन २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनासँगै शुरू भएको हो। ठूलाठूला किसान संर्घष, झापा विद्रोह, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ को जनआन्दोलन, माओवादी जनयुद्ध (२०५२–२०६३) र २०६२/६३ को जनआन्दोलनले नेपालको कम्युनिस्ट आन्दोलनलाई विश्वमै चर्चित बनायो। तर, विश्वमा आएको राजनीतिक र दार्शनिक समस्याबाट नेपाल अछुतो हुन सक्दैनथ्यो। त्यसै कारण नेपाली कम्युनिस्ट आन्दोलनले पनि गम्भीर विचलनहरूको सामना गरिरहेको छ। नेपालमा विचलनका प्रमुख कारणहरू यस प्रकार छन्:
सत्ताको लोभ र भ्रष्टाचार: २०६२/६३ को जनआन्दोलनपछि कम्युनिस्ट पार्टीहरू कार्यकारी रूपमै सरकारको नेतृत्व गर्न पुगे। सत्ता र सरकार फरक हुन्छन्। पुरानै सत्ता संरचना र नयाँ विचारको द्वन्द्व हुनु स्वाभाविकै हुन्थ्यो। प्रथम प्रहरमा देखा पनि परे। तर, सत्तासँग ‘कोअप्ट’ गरेर पचाइदिने अद्भुत क्षमता हुन्छ। तब नयाँ शक्ति कम्युनिस्ट र पुराना बुर्जुवा शक्ति बीचमै भ्रष्टाचारमा प्रतिस्पर्धा हुन थाल्यो। बुजुर्वाकै चरित्र पनि कायम गर्न नसक्दा शासनको दुरुपयोग र भ्रष्टाचारले जनताको विश्वास गुमाउँदै गयो। माओवादी जनयुद्धले बोकेका समानता र सामाजिक न्यायका आदर्श पनि सत्तामा हिस्सेदार बनेपछि धमिलिए। मनोयुद्धको सामना गरिरहेको माओवादी आन्दोलनले महत्वाकांक्षा र सांस्कृतिक व्यवस्थापन गर्न नसक्दा सडकको आन्दोलन कमजोर बन्यो। संसदमा सत्ता चिन्तनले प्राथमिकता पायो।
सांस्कृतिक परिवर्तनको अभाव: पुरानोलाई त्याग्न पनि नसक्नु र नयाँ हुन पनि नसक्दा हाईब्रिड चिन्तन कम्युनिस्ट आन्दोलनमा हाबी हुन पुग्यो। हिन्दु धर्म, जातीय संरचना र परम्परागत मान्यताका द्वन्द्वमा फस्यो आन्दोलन। वैज्ञानिक चेतनाको विकासमा कमी रह्यो। विचार परिवर्तन गर्न सजिलो भए पनि संस्कृति परिवर्तन गर्न कठिन हुन्छ/छ। रूढिवाद, अन्धविश्वास र भौतिकवादी चिन्तनको ककटेलजस्तो देखिन्छ अहिलेको कम्युनिस्ट नेतृत्व र आन्दोलन। हुने, गर्ने, देखिने र बोल्ने भिन्नताले पार्टी र आन्दोलनकै विश्वासमा संकट आयो। त्यसले जातीय संरचनालाई चुनौती दिन सकेन।  सांस्कृतिक परिवर्तनको अभावले आन्दोलनकै आत्मामा प्रहार हुँदै गए ।टुटफुट र नेतृत्वको अहंकार नेपालका कम्युनिस्ट पार्टीहरूमा बारम्बार टुटफुट हुँदै गयो। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र अन्य साना समूहहरूबीचको एकता र विभाजनले आन्दोलनलाई कमजोर बनायो। २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता छोटो समयमै टुट्यो, जसले जनतामा अविश्वास बढायो। केही व्यक्तिका आवश्यकताका कारण मात्रै पार्टी जुट्ने र फुट्ने भए।
वैचारिक अस्पष्टता: नेपालको कम्युनिस्ट आन्दोलनले मार्क्सवाद–लेनिनवादलाई स्थानीय परिस्थितिमा रचनात्मक रूपमा प्रयोग गर्न सकेन। सत्तामा पुगेपछि धेरै नेताले नवउदारवादी आर्थिक नीतिहरूलाई अङ्गीकार गरे, जसले क्रान्तिकारी पहिचानलाई कमजोर बनायो। विश्व बैंक र आईएमएफका नीतिहरूलाई स्वीकार गर्नुले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुँजीवादी प्रणालीसँग जोड्यो।
आफ्नै कुराहाम्रो परिवार वा गाँउमा कोही पनि कम्युनिस्ट आन्दोलनमा थिएन। १८ साल पछि पंचायत विरोधीलाई अराष्ट्रिय तत्त्व भनिन्थ्यो। अरनिको राजमार्ग बनाउन आएका चिनियाँहरूले रेडबुक र ‘चीन सचित्र’ पुस्तक बाँड्थे, त्यही बेला राजा महेन्द्रले भारतीय सरकारको सरोकारलाई लिएर भनेका थिए– “कम्युनिस्ट गाडी चढेर आउँदैनन्।” म औपचारिक रूपमा नजोडिईकन परिस्थितिले मलाई कम्युनिस्ट आन्दोलनतर्फ डोहोर्‍याएछ। यो यात्रा आदर्श वा भावनाले थिएन, तत्कालीन सामाजिक र आर्थिक अवस्थाले प्रेरित थियो।
निम्न मध्यम वर्गीय, धार्मिक ब्राह्मण परिवारमा जन्मेकाले मेरो बाल्यकाल वैदिक साहित्य, धार्मिक कर्मकाण्ड र परम्पराले भरिएको थियो। रामायण, महाभारत र स्वस्थानी जस्ता ग्रन्थहरू पढ्दा शुरूमा आकर्षण भए पनि यी ग्रन्थहरूमा रहेका विरोधाभासले ममा जिज्ञासा जाग्यो। अझ स्वस्थानीका भयावह चित्रण र गीताको जटिल दर्शनले मलाई वैदिक विश्वासप्रति शङ्का उत्पन्न गराउँदै गयो। आर्य समाजी पुष्पराज ढुंगानाले दिएको ‘सत्यार्थ प्रकाश’ले मेरो चिन्तनलाई नयाँ दिशा दियो।
हरेक मान्छेका जीवनका टर्निङ प्वाइन्ट (महाघुम्ती) हुन्छन्। पुराना सत्य र विश्वासमाथि प्रश्न उठ्छन् र जीवन यात्राले नयाँ बाटो समात्छ। स्कुलको शिक्षाले मलाई जीवविज्ञान, इतिहास र नागरिक शास्त्रमार्फत मानव सभ्यता र सामाजिक विकासबारे बुझ्ने अवसर दियो।
परिवारमाथि धार्मिक र सामाजिक शक्तिहरूबाट भएको आर्थिक र भावनात्मक शोषणले ममा विद्रोहको भावना जाग्यो। यो विद्रोहले मलाई कम्युनिस्ट आन्दोलन नै मानसिक रूपमा तयार गर्दे गयो। १८ वर्षको उमेरमा भारत पुगेर म कम्युनिस्ट आन्दोलनमा संलग्न भएँ।
विश्वव्यापी युवा–विद्यार्थी आन्दोलन, भारतको नक्सल आन्दोलन र नेपालको झापा विद्रोह, ठूलाठूला किसान आन्दोलन र पञ्चायतविरोधी संघर्षले मेरो चेतनालाई खार्दै गयो। तर, आज  ७० वर्षको उमेर पुग्दा मलाई लाग्छ, विश्व कम्युनिस्ट आन्दोलन र नेपालको आन्दोलनमा किन यति धेरै विचलन आए? किन क्रान्तिकारी आदर्शहरू सत्तामा पुग्दा कमजोर भए? यी प्रश्नहरूले निरन्तर चुनौती दिइरहे।
आत्मसमीक्षाआन्दोलनको यात्राले मलाई धेरै कुरा सिकायो। धार्मिक र परम्परागत संस्कारमा हुर्के पनि वैज्ञानिक चेतनाले मलाई कम्युनिस्ट बनायो। तर, कम्युनिस्ट आन्दोलनले सांस्कृतिक परिवर्तनमा पर्याप्त ध्यान दिन नसक्दा आन्दोलनको मर्मको हकवाला बन्न सकेन। नेपालमा हिन्दू धर्म, जातीय संरचना र परम्परागत मान्यताहरूलाई वैज्ञानिक चेतनाले प्रतिस्थापन गर्नु आवश्यक थियो। साथै, नेतृत्वको जबाफदेहिता र वैचारिक स्पष्टता अपरिहार्य हुन्थ्यो। सत्ताको लोभ र भ्रष्टाचारले आन्दोलनलाई कमजोर बनाउँदै गयो। आन्दोलनले जनताको विश्वास जित्न वैचारिक शुद्धता, सांस्कृतिक परिवर्तन र नेतृत्वको पारदर्शितामा जोड दिनुपर्थ्यो, हुन सकेन।
विश्व बैंक र आईएमएफजस्ता संस्थाहरूको प्रभावबाट मुक्त हुँदै स्थानीय आवश्यकतामा आधारित आर्थिक नीतिहरू बनाउनुपर्थ्यो। तर, कम्युनिस्ट पार्टीका सबै अर्थमन्त्रीहरूको बजेटलाई नियाल्दा पञ्चायतकालीन उदारवादी अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भित्र्याएको नवउदारवादबाट मुक्त हुनेतर्फ कसैले कोसिस गरेनन्। अझ बहुदल आइसके पछिका अर्थमन्त्री डा. रामशरण महत पनि नयाँ रूपले त्यसैलाई निरन्तरता दिँदै ‘समाजवादी’ अर्थतन्त्रको अभ्यास गर्न थाले। नीतिगत रूपमा डा. लोहनीभन्दा फरक हुन सकेनन्। बरु निजीकरणको आतंक नै खडा भयो।  केही लोकप्रिय कार्यक्रम लिएर आएका भए पनि कम्युनिस्टहरूको अर्थतन्त्र अभ्यासमा पनि हेरफेरको कुनै इच्छाशक्ति देखिएन।
नेपालको कम्युनिस्ट आन्दोलनले पनि विश्व परिप्रेक्ष्य र स्थानीय चुनौतीहरूको सामना गरिरहेको छ। आन्दोलनलाई पुनर्जनन गर्न वैचारिक शुद्धता, सांस्कृतिक परिवर्तन र जनताको विश्वास जित्न आवश्यक  हुन्थ्यो र हुन्छ। जिज्ञासाले प्रश्न उमार्छ, प्रश्नले पत्यारिलो जवाफ खोज्छ। मेरो जिज्ञासा र प्रश्नहरूले भने मलाई  पार्टी र नेतृत्वको वर्ग रूपान्तरण (सिफ्ट) देख्दा विश्वासको दुर्घटना भएकै हो भन्ने लाग्छ। तथापि, यो बाटोमा निरन्तर हिँड्न भने छाडिँदैन भन्ने आत्मविश्वास छ। आन्दोलनले जन्माएका पात्र र प्रवृत्तिहरू ध्वस्त हुन सक्लान्, वर्ग सिफ्ट हुन सक्ला, तर नयाँ पुस्तामा विचारको हस्तान्तरण भने हुँदै गएर आन्दोलनको रूप लिने छ भन्ने विश्वस्त छु। त्यसका लक्षण,कारण र तथ्य छन्।  आन्दोलनहरू कहिले तीव्र गतिमा, कहिले मन्द गतिमा चल्ने सामाजिक प्रक्रिया  हो।अन्त्यतिर,
कुनै समय अपर भोल्टा भनिने अफ्रिकी देश बुर्किनाफासोका ३७ वर्षीय राष्ट्रपति  इब्राहिम ट्राओरे नियाल्दै छु। उनी आफूलाई कम्युनिस्ट भन्दैनन्। तर नेतृत्वसँग नैतिक पुँजीसहित सार्वजनिक अपिल गर्न सक्ने इच्छाशक्ति हुन्छ भने त्यसले जनतामा रहेको अन्तर्निहित शक्ति जागृत गर्न सक्दो रहेछ भन्ने उदाहरणका रूपमा स्थापित हुँदै छन्। अहिले उनी अफ्रिकालाई मात्रै होइन, संसारकै उत्पीडित राष्ट्र र जनताका सरोकारका विषय बनेका छन्। उनका नीतिहरूले बुर्किनाफासोलाई विश्वको ध्यानाकर्षण गराइरहेको छ। उनको आर्थिक आत्मनिर्भरता र पान–अफ्रिकावादले विश्व भूराजनीतिमा नयाँ हलचल ल्यायो। अफ्रिकी युवाहरूलाई प्रेरित गरिरहेछ। उनका नीतिहरूले अफ्रिकी देशहरू आफै गरिब हैनन्, बरु शासकहरूको अकर्मण्यताले नै देश बरबाद भएको रहेछ भन्ने खालका बहसहरू शुरू गरायो।
थोमस सङ्काराको वैचारिक उत्तराधिकारी भनिने ट्राओरे अहिले   बुर्किनाफासो (इमानदार मानिसहरूको भूमि)का सपना र यथार्थ हुन्। उनलाई कतिपयले ‘अफ्रिकाका चे ग्वेभारा’ भनिरहेका छन्। पान–अफ्रिकीवाद, आत्मनिर्भरता र विरोधी–औपनिवेशिक नीतिहरू अघि सार्ने थोमस सङ्काराको १९८७ मा हत्या भएपछि देशमा स्थिरता कायम हुन सकेको थिएन। अहिले त्यहीँ ट्राओरे उदाएका छन्। २०२२ मा सैनिक हस्तक्षेपमार्फत सत्तामा आएपछि ट्राओरे अफ्रिकाको सबैभन्दा युवा नेता बने। उनी एक सैन्य अधिकारी र भूविज्ञानी हुन्।
अहिले ट्राओरेको चर्चा हुनु पछाडिका केही कारण छन्। ट्राओरेले आफूले सत्ता कब्जा गरेसँगै फ्रान्ससँगको सैन्य र कूटनीतिक सम्बन्ध तोडे। फ्रान्सेली सेनालाई देश छोड्न आदेश दिए। सन् २०२५ मा रूससँगको उनको भेटले सैन्य प्रशिक्षण र हतियार आपूर्तिमा सहयोग बढायो। यो कदमले पश्चिमी शक्तिहरू, विशेष गरी फ्रान्स र संयुक्त राज्य अमेरिकालाई चिन्तित बनायो। १२ पटक हत्या प्रयासबाट जोगिएका बताइन्छन् ट्राओरे।
अर्को, ट्राओरेले देशको खनिज स्रोत, विशेष गरी सुन खानीमा नियन्त्रण बढाए। सन् २०२२ मा बुर्किनाफासो विश्वको १४औँ ठूलो सुन उत्पादक थियो। अहिले त्यहाँ  तेल उत्पादन  र रिफाइनरीसमेत छ। उनले राज्य–स्वामित्वको खानी कम्पनी स्थापना गरे। विदेशी कम्पनीहरूलाई स्थानीय सञ्चालनमा १५% मात्र साझेदारी र बाँकी सरकारलाई दिई प्राविधिक सीप हस्तान्तरण गर्न विदेशीलाई बाध्य पारे। यो नियम रुसी खानी कम्पनी नोर्डगोल्डमा पनि लागू भयो। उनले विदेशी सहयोग त लिए तर आफ्नै सर्तमा।
त्यस्तै, ट्राओरेले माली र नाइजरसँगको सैन्य गठबन्धनलाई बलियो बनाए। यसले पश्चिमी प्रभाव र क्षेत्रीय संगठन (इकोवास) सँग सम्बन्ध तोडे। यसरी, अफ्रिकालाई हेर्ने, बुझ्ने र बनाउने पुराना धारणा  ट्राओरेले फेरिरहेका छन्।
नेपाली कम्युनिस्ट आन्दोलन र ट्राओरेको नेतृत्वमा केही समानता र भिन्नता छन्। नेपालमा कम्युनिस्ट आन्दोलनले पनि सामाजिक परिवर्तन र शोषणमुक्त समाजको सपना बोकेको थियो, तर सत्तामा पुगेपछि वैचारिक विचलन, भ्रष्टाचार र सांस्कृतिक परिवर्तनको अभावले कमजोर बन्यो।
तर भर्खरै आएका ट्राओरे जे भन्दै छन्, त्यही गर्दैछन्। मुसलमान बाहुल्य देशका उनी कहिल्यै मुसलमान भएको प्रदर्शन गर्दैनन् भने उनका निर्णय र अभ्यास भने कम्युनिस्टको छ। यद्यपि, उनले कहिल्यै आफूलाई कम्युनिस्ट भनेका छैनन्। यी अफ्रिकी युवासँग नेपाली, नेता, विद्वत वर्ग र मिडियाले बुझ्न आवश्यक छ। नेतृत्वमा नैतिक पुँजी भए ठूला शक्तिले पनि तिनलाई झुकाउन सक्दैन। जनताको अन्तर्निहित क्षमता जागृत गर्न सके देशको सीमा छिचोलेर व्यक्ति विश्वव्यापी बन्न सक्छ भनेर प्रमाणित गरेका छन् उनले। तर नेपाली सत्ता,कम्युनिस्ट र समाज …उफ्।

प्रतिक्रिया दिनुहोस्