काठमाडौं, नेपाल प्रेस, । बागमती प्रदेशको बजेट अर्थमन्त्री कुन्दनराज काफ्लेबाटै कब्जा भएको र १० प्रतिशत प्रिपेड कमिसन लिएर टुक्रे योजनाहरु हालिएको आरोप लागिरहेका बेला प्रतिपक्षी नेकपा माओवादी केन्द्रले यथास्थितिमा बजेट पारित हुन नदिने बताएको छ ।
माओवादी केन्द्रका नेता तथा बागमतीका पूर्वमन्त्री युवराज दुलालले आर्थिक मामिला मन्त्री काफ्लेमा बजेट निर्माणको सैद्धान्तिक ज्ञान र व्यवहारिक क्षमता नहुँदा अहिलेको अवस्था आएको बताएका छन् । उनले अर्थमन्त्रीले बजेट कब्जा गरेको आरोपमा सत्यता रहेको भन्दै नियतवश टुक्रे योजनाहरुमा बजेट हालेर कमिसनको खेलोको दाबीलाई बल पुर्याएको बताए ।
नेपाल प्रेसको भिडिओ अन्तर्वार्ता नेपाल टकमा नेता दुलालले कतिपय स्थानीय जनप्रतिनिधिहरुले हेटौंडामा खुलेआम ‘बजेट किन्न आएका हौं, कति सकिन्छ प्रतिशत दिएर लैजाने हो’ भनेको आफैंले सुनेको बताए ।
तर योजना किनबेच गर्ने ती जनप्रतिनिधिहरुले प्रमाण भने दिन नमानेकाले बजेट दिने र लिने दुवैको नियत ठीक नभएको उनको भनाइ छ ।
नेता दुलालले आर्थिक मामिलामन्त्री काफ्लेले बजेट कब्जा गर्ने नियतले बजेट भाषणको अघिल्लो मध्यरातमा कर्मचारीमाथि हातपात गर्न खोजेको र आफ्नो एजेन्टको रुपमा ९ तहका कर्मचारीलाई नियुक्त गरेर हस्तक्षेप गर्ने प्रयास गरेकोसमेत बताए । उनले यस पटक बागमतीको बजेटलाई सैद्धान्तिक र व्यवहारिक हिसाबले बजेट नै भन्न नसकिने बताए ।
अर्थमन्त्री कुन्दन काफ्लेको ‘लुटको धन, फुपूको श्राद्ध’ शैली
सैद्धान्तिक हिसाबले बजेट निर्माणको परम्पराको हिसाबले मुख्य कुरामै अहिलेको अर्थ मन्त्रालयको नेतृत्व चुक्यो । अर्थ मन्त्रालयको नेतृत्व गर्ने व्यक्तिमा बजेट निर्माणको ज्ञान पनि भएन, बजेट निर्माणमा आफ्नो जिम्मेवारी पनि उसलाई थाहा भएन ।
यो चाहिँ के को धन केको श्राद्ध भने जस्तो मौकामा चौका हान्नुपर्छ भन्ने सोचाईबाट अर्थमन्त्री निर्देशित हुनुभयो भन्ने मलाई लागेको छ । बजेट निर्माणसम्बन्धी ज्ञान नहुनु नै बागमती प्रदेशको लागि ठूलो विडम्बना हो । यो बजेट नै हो कि होइन भन्ने अवस्थामा छौं । यस्तो बजेट आउनु धेरै ठूलो विडम्बना हो र प्रदेशप्रति जनतालाई थप नकारात्मक बनाउने कुरा भयो ।
कांग्रेसकै कारण प्रदेश बन्धक, प्रालि र एनजीओलाई बजेट
म जनताले बुझ्नेगरी बताउँछु, जे हो त्यो भन्छु । बजेट हामीले प्रस्तावित गरेका योजना परे नपरेको भनेर विरोध गरेको होइन । सरकारले कसरी बजेट निर्माण गर्यो भन्ने कुरा महत्वपूर्ण हो, तर बजेटमाथिकै छलफल अघि बढ्न नसक्नुमा भने हाम्रो भूमिका छैन । प्रदेशसभाको बैठक हिजो (बिहीबार) बोलाइयो, तर सत्ताको नेतृत्व गरिरहेको कांग्रेस पार्टीको बैठककै कारण बैठक स्थगित गर्नुभयो । हाम्रो कारणले होइन ।
के को धन केको श्राद्ध भने जस्तो मौकामा चौका हान्नुपर्छ भन्ने सोचाईबाट अर्थमन्त्री निर्देशित हुनुभयो भन्ने मलाई लागेको छ । बजेट निर्माणसम्बन्धी ज्ञान नहुनु नै बागमती प्रदेशको लागि ठूलो विडम्बना हो । यो बजेट नै हो कि होइन भन्ने अवस्थामा छौं ।
बजेटमाथिको छलफल हाम्रो कारणले होइन, सरकारकै दलहरुको असन्तुष्टिले गर्दा हो । बजेट गलत बन्यो, ठीक ढंगले भएन भन्ने कुरा मुख्यमन्त्रीले पनि स्वीकार गरिसक्नुभएको छ । उहाँहरुले गलत गरेको स्वीकार गरेर अब सच्चिने प्रतिबद्धता जनाउनुपर्छ । बजेटमा त्रुटि छन्, कतिपय प्रालि र एनजीओलाई बजेट दिइएको छ, त्यो कुरा त सच्याउनुपर्ला नि !
अर्कोतिर कांग्रेसमा मेरो गुटको योजना परेन भन्ने कुराबाट आन्तरिक किचलोमा छ, यसले प्रदेशसभा बन्धक छ । आफ्नै दलभित्र चित्त बुझाउन नसक्दा प्रदेशसभाको बैठक स्थगित गरेको अवस्था छ ।
५९ अर्बको क्षमता, ६७ अर्बको बजेट
बजेटको आकारको हिसाबले पनि विवादमा छ । बजेट बनाउँदा बागमती प्रदेशको आयस्रोत हेर्नुपर्छ । हाम्रो विभिन्न वर्षको अनुभवले सबै स्रोतबाट बागमतीको करिव ४१ देखि ४२ अर्ब रुपैयाँ आउँछ । राजस्वको दायरा बढाउने अवस्था छैन । राजस्व उठ्ने तीनै तहको विभाज्य कोषबाट आउनेसमेत गरेर त्यति हो ।
चालू खाता र सञ्चित कोषको समेत गरेर ५९ अर्बको हाराहारीमा हो हाम्रो क्षमता । ५९ अर्बको कोष हुने अनुमानविपरीत ६७ अर्ब बनाउने कुरा नै गलत छ । त्यसको स्रोत के हो, सरकारले जवाफ दिनुपर्छ । यसले दीर्घकालीन असर पार्छ । हजारौं टुक्रे योजनामा ३ लाख, ५ लाख, १० लाखका दरले बजेट हालेको छ । ती सबैले लैजान्छन्, तर प्रदेश महत्वका बहुवर्षीय आयोजनामा ५०-६० प्रतिशतमात्रै विनियोजन गरिएको छ । यसले हाम्रो बजेटको होल सिस्टम बिगारेको छ । वडास्तरीय कार्यक्रममा प्रदेशको अर्थमन्त्रालयले कुन नियतले बजेट हालेको हो ? यो मुख्य प्रश्न हो ।
स्थानीय तहका जनप्रतिनिधि बजेट किन्न आउँछन् हेटौंडामा
बजेट पुस्तिकाले बजेट निर्माणमा मन्त्रालयको नेतृत्वको ज्ञान छैन भन्छ । कार्यक्रमहरु हेर्दा बजेट गलत नियतबाट विनियोजन भएको छ भन्छ । कब्जा र बजेट बिक्री भन्ने कुरा मैले नै सुनेको छु । कतिपय सन्दर्भमा बजेट किन्न आएको भनेर स्थानीय तहका प्रतिनिधिले हेटौंडामा भनेको मैले सुनेँ । उनीहरुले बजेट किन्न आएको हो, कति लान सकिन्छ हेरौं भनेको पनि सुनेको हो ।
मैले नै बजेट किनेको प्रमाण राखेर दिनुस् भन्दा उहाँहरुले मान्नुहुन्न, बाध्यता छ भन्नुहुन्छ । बिचौलियाबाट बजेट बन्छ भन्ने आरोप सधैं लाग्छ । त्यो बिचौलियालाई कसरी निरुत्साहित गर्ने भन्नेमा नेतृत्व सचेत हुनुपर्नेमा अहिलेको राजनीतिक नेतृत्व अर्थ मन्त्रालयको नेतृत्व नै बिचौलियाको सहयोगी भयो, योजनाकार आफैं भयो कि भन्ने प्रश्न अहिले प्रदेशमा उठेको छ ।
कब्जा र बजेट बिक्री भन्ने कुरा मैले नै सुनेको छु । कतिपय सन्दर्भमा बजेट किन्न आएको भनेर स्थानीय तहका प्रतिनिधिले हेटौंडामा भनेको मैले सुनेँ । उनीहरुले बजेट किन्न आएको हो, कति लान सकिन्छ हेरौं भनेको पनि सुनेको हो ।
मन्त्रालयको कर्मचारी प्रशासन नेतृत्वले राज्यको स्रोतको अनुमान गरेर योभन्दा माथि जान हुँदैन भन्ने सिलिङ निर्धारण गरेको हुन्छ । खासमा यो यो बजेट ७१ अर्बका बनाएको थियो । बढीमा ६० अर्बको हुनुपर्ने थियो, तर अर्थमन्त्रीले योजनाहरु थप्दै थप्दै ७१ अर्ब बनाउन दबाब दिनुभएको हो ।
पछि एमालेले आपत्ति जनाएको हुनाले संघीय अर्थ मन्त्रालयले सिस्टमबाटै १० प्रतिशत काटेर अहिलेको बजेट आएको हो । त्यहाँ प्रशासनिक नेतृत्वले कन्ट्रोल गर्न खोज्दा अर्थमन्त्रीजीले बजेट मेरो हो, कसैको होइन भनेर मैले भनेबमोजिम हुन्छ भन्नु कब्जा भएन ? त्यसैले बागमतीको बजेट बनाउने अर्थमन्त्रीमा सैद्धान्तिक ज्ञान पनि भएन, नियत पनि कब्जा गर्ने भयो ।
मध्यरातमा अर्थमन्त्रीले एजेन्ट खटाए
अर्थमन्त्रीले गलत गर्नुभयो । उहाँले बजेट निर्माणमा आफ्नो एजेन्ट भनेर एक जना कर्मचारी राख्नुभयो, जुन कानूनी हिसाबले मिल्दैन । प्रदेशको मन्त्रीले पाउने भनेको प्रदेशको अधिकृत लेभलको कर्मचारी निजी सचिवको रुपमा राख्न पाउँछ, तर उहाँले नवौं तहको कर्मचारीलाई उपसचिव भनेर मुख्यमन्त्रीलाई नियुक्ति गर्न लगाउनुभयो । उहाँले यो मान्छे चाहिँ मेरो प्रतिनिधि हो,यसलाई बजेट बनाउन राख भनेर अर्थको टीमलाई मध्यरातको ११-१२ बजे दबाब दिनुभयो ।
कर्मचारीले एउटा खालको अडान राखेपछि, बजेट नियमित टीमको साथीले जसको जिम्मेवारी हो, उसले बनाउने भन्ने अडान लिएपछि उहाँ बजेट तेरो कि मेरो भनेर झम्टिएपछि कर्मचारीले प्रतिवाद गरे । विभिन्न मान्छेको उपस्थितिले त्यहाँ हातपात भएन, तर बजेट कब्जा गर्ने कोसिस गरियो । हजारौं टुक्रे योजना हाल्ने नियतमा त्यसो गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्