२०८२ भाद्र ११

चौतारा साँगाचोकगढी नगरपालिकाको १८ औं नगरसभा बाट १ अर्ब १६ करोडको समावेशी बजेट सार्वजनिक

चौतारा, असार ९ – चौतारा साँगाचोकगढी नगरपालिकाले १८ औं नगरसभा सोमबार नगर प्रमुख तथा नगरसभाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा बसी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रू. १ अर्ब १६ करोड २८ लाख ३५ हजार ८४२ बराबरको समावेशी, सन्तुलित र नागरिकमुखी बजेट सार्वजनिक गरिएको हो।

नगर प्रमुख सापकोटाले प्रस्तुत बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, वातावरण संरक्षण, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, खानेपानी, ऊर्जा, सञ्चार, सहकारी, सुशासन, नागरिक बिमा तथा युवा र खेलकुदजस्ता बहुआयामिक क्षेत्रलाई प्राथमिकतामा राखेर निर्माण गरिएको जानकारी दिए।

नगर उपप्रमुख सीता थापाले विगत वर्षको प्रगति विवरण प्रस्तुत गर्दै बजेट कार्यान्वयनमा पारदर्शिता, समन्वय र सहकार्य अपरिहार्य रहेको बताइन्। साथै उनले सबै पक्षले मिलेर नगरको दिगो विकासमा हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरिन्।

प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले बजेट, नीति तथा कार्यक्रमहरु स्थानीय आवश्यकता, सुझाव र प्राथमिकताका आधारमा तयार गरिएको जनाउँदै नगरसभालाई कानुन, नियमावली र कार्यविधिअनुसार शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न सबैलाई आग्रह गरे।

नगरसभामा वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, पत्रकार, विभिन्न संघसंस्था, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिकाले संविधानले दिएको अधिकार, संघीय र प्रदेश सरकारका नीति, पालिकाका विगतका लक्ष्य, स्थानीय सरकार संचालन ऐन २०७४, निर्वाचन प्रतिबद्धता, विषयगत समिति र वडाबाट आएका सुझाव, दीगो विकासका लक्ष्य, मानव, बाल र महिला अधिकार लगायत अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा नगरपालिकाका नियमावली र कार्यविधि अनुसार बजेट निर्माण गरिएको हो भने यसलाई पूर्णता दिनका लागि असार १२ गते पुनः नगर सभा बसिने जानकारी नगर प्रमुखले सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्