चौतारा, सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्ला सभापति माया गुरुङ र चौतारा साँगाचोकगढी नगर संयोजक सरोजा श्रेष्ठको संयोजनमा एक सामाजिक उत्तरदायित्वको पहलस्वरूप सहिद स्मृति आवासीय बालग्रामका ३६ जना बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरिएको छ।
समाजमा सहयोग र सद्भाव फैलाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो। बालग्रामले विगतदेखि अभिभावकविहीन, असहाय तथा जोखिममा परेका बालबालिकालाई संरक्षण, शिक्षा र मनोवैज्ञानिक सघनता प्रदान गर्दै आएको छ। शैक्षिक वातावरण सुदृढ बनाउन, नियमित विद्यालय जान प्रोत्साहन गर्न र बालबालिकामा आत्मबल अभिवृद्धि गर्न स्कुल ब्याग वितरणजस्तो सहयोग प्रभावकारी हुने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले “हामी सामाजिक सेवामा पनि समान रूपमा क्रियाशील रहन चाहन्छौँ,” भन्दै बालबालिकाको उज्यालो भविष्यका लागि सहयोग गर्न पाएको अवसरप्रति धन्यवाद ज्ञापन गरिन्। जिल्लाध्यक्ष गुरुङले पनि यस्ता सहयोगले बालबालिकामा सकारात्मक ऊर्जा सिर्जना हुने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको सामाजिक प्रतिबद्धताको प्रतिबिम्बस्वरूप यस कार्यलाई उल्लेख गरिन्।
यस कार्यक्रमले पार्टीको सामाजिक उत्तरदायित्वप्रतिको गम्भीरता र समावेशी सोचको झल्को दिएको छ। साथै, सहिद स्मृति आवासीय बालग्रामजस्ता संस्थाहरूलाई थप हौसला प्रदान गरेको छ, जसले समुदायमा सकारात्मक परिवर्तन ल्याउने सम्भावनालाई अझ सबल बनाउनेछ।
प्रतिक्रिया दिनुहोस्