सिन्धुपाल्चोक, असार ६ — पाँचपोखरी थाङपाल गाउँपालिकालाई आज आयोजित विशेष कार्यक्रममार्फत पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ।
राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार पालिकाभित्रका १६ महिना देखि २३ महिना उमेर समूहका सबै बालबालिकालाई १५ महिनाभित्र आवश्यक सम्पूर्ण खोप उपलब्ध गराइएको पुष्टि भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै, “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण समुदायको समर्पण र अथक प्रयासका कारण हामी आजको ऐतिहासिक दिनमा आइपुगेका हौं,” भन्नुभयो। उहाँले घरमै सुत्केरी गराउने दर शून्यमा झार्ने लक्ष्यसहितको अभियान, निशुल्क एम्बुलेन्स सेवा, सुत्केरीसँग उपाध्यक्ष तथा वडाध्यक्षको प्रत्यक्ष सम्पर्क कार्यक्रम, र ८ वटै वडामा बर्थिङ सेन्टर सञ्चालन जस्ता कार्यहरूलाई उल्लेख गर्दै पालिका स्वास्थ्यप्रति संवेदनशील रहेको बताए।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले कार्यक्रममा बोल्दै, “पाँचपोखरी थाङपालसहित जिल्लाका सबै १२ वटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा भइसकेको छ। यो अभियानमा सबै तहका नागरिक र स्वास्थ्यकर्मीहरूको सक्रियता प्रशंसनीय छ,” भन्नुभयो। उहाँले पालिकालाई प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभयो।
सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का अध्यक्ष काले गोलेले सबै सरोकारवालालाई धन्यवाद दिँदै स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहने बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले स्वागत मन्तव्य राख्नुभएको थियो। साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो। केही स्वयंसेविकाहरूलाई बिदाई तथा स्वागत पनि गरिएको थियो। अध्यक्ष लामाले आगामी बजेटमा स्वयंसेविकाहरूको भत्ता वृद्धि गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालको सहजीकरणमा सम्पन्न कार्यक्रमको अवसरमा निःशुल्क सुगर र प्रेसर जाँच सेवा समेत प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्