२०८२ असार ४
                           

मेलम्चीमा मालपोत कार्यालय, चौतारामा शून्यता बढ्ने चिन्ता

जीवन श्रेष्ठ |- यसै त संघीयतापछि चौताराको उर्वरता उदेकलाग्दो छ । मान्छेको “फ्लो” दिनप्रतिदिन घट्दोछ । सदरमुकाम हुनुको नाता, अर्थ र सम्बन्धहरु क्रमशः स्वाहा हुँदैछ । ब्यपार र ब्यवसायिकरुपमा त्यसै त कमजोर रहेको चौतारा यसैको कारण थप मारमा परेको घाम जतिक्कै छर्लङ्ग छ । यसैबीच मालपोत कार्यालय मेलम्चीमा स्थापना हुने प्रक्रिया अगाडी बढ्दैछ । र फेरि यो क्रम बाह्रबीसेतिर सोझिनेछ । त्यसपछि ” चौतारा ” चौतारा रहने छैन । फेरि ती ठाउँहरुमा प्रशासन कार्यालय स्थापना हुनेछ । नागरिकता र पासपोर्ट बनाउनेहरु चौतारा आइरहनु पर्ने बाध्यता हट्नेछ । नापि कार्यालय र बचेखुचेका अन्य कार्यालयले पनि यसरी नै कपि एण्ड पेस्ट गर्दै जानेछ । त्यसपछि के हुन्छ ? के हुनु ? चौतारा स्याल कराउने डाँडामा परिणत हुनेछ । हामीले खोजेको संघीयता कुनै किसानको बारीको पाटाको उर्वरता मासेर अरु किसानको पाटालाई हरियाली बनाउने खालको होइन । जनताले पाउने सुविधाप्रति मेरो किन्चित बिमति होइन । जनताले यसरी नै घरआँगनमा सुविधा पाउनुपर्छ । तर जुन ठाउँको उर्वरता ” सुविधा ” दिनेको नाममा मासिन्छ, जुन ठाउँको बैंश यसरी नै लुटिन्छ भने त्यो ठाउँले पाउने क्षतिपूर्ति चैं के हुन सक्छ ? यस विषयमा पनि सम्बन्धित निकाय गम्भीर हुन जरुरी छ । सोचौं रामेको कट्टु भ्वाङ पर्‍यो भन्दै श्यामेको नयाँ र सग्लो कट्टु काटेर भ्वाङ्ग टाल्नु कतिको न्यायसंगत हुनसक्छ ? रामेको भ्वाङ टाल्न श्यामेको कट्टु काटिरहँदा श्यामेको कट्टुमा जुन भ्वाङ्ग पर्छ नि, त्यसको लेखाजोखा नगरिनु र उसको क्षतिपूर्ति बारे सिन्को पनि नसोच्नु पक्कै पनि काइदा काम हुन सक्दैन । हामीले चाहेको आमूल परिवर्तन हो । र कुनैपनि ठाउँको विकास आमुल परिवर्तनको आलेख अनुसार हुनुपर्छ । हचुवा, पहूँच र शक्तिको आडमा होइन । मालपोत लगायतका कार्यालयहरु अन्य स्थानमा स्थापना गरिहँदा चौताराको भविष्य सुनिश्चित गर्ने अन्य कुनै बैकल्पिक योजना सम्बन्धित निकायले अघि सार्नु पर्छ कि पर्दैन ? मेरो प्रश्न यति हो ?
आज मालपोत कार्यालय मेलम्चीमा स्थापना गर्ने विषयमा सरोकारवालाहरुबीच जिल्ला समन्वय समितिमा दिउँसो १ बजे छलफल हुँदैछ । त्यो छलफलमा चौताराको भविष्य सुनिश्चित गर्ने प्याकेज आउछ कि आउँदैन ? त्यो बुझ्ने अधिकार खोज्ने कि नखोज्ने? खोज्ने भए के गर्ने कमेन्ट गरौं अनि केही गरौ !

यसै सन्दर्भमा गोैरी प्रधानको सुझाव |- कुरा त्यसो होइन, जीवन भाइ । जनताले आफ्नो घर आँगन मै नागरिक सुविधा पाउन पर्छ भनेर नै हामीले संघिय गणतन्त्रको अभियान चलाएका हौं । त्यो सुविधा जनताले पाउने व्यवस्था हुँदै छ भने हामीले त्यसमा गुनासो गर्न मिल्दैन ।
त्यसो त कुनै वेला चौतारा सिंगो पूर्व १ नं. को सदरमुकाम थियो । त्यो भन्दा अगाडि चौतारा ल्हासा-तिब्बत जाने एउटा महत्वपूर्ण नाका पनि थियो । देशमा भएको राजनैतिक परिवर्तन र विकासले चौतारा क्रमश आजको अवस्थामा रुपान्तरित भएका छन् । चौताराको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, संस्कृती, बाजा-गाजा, मातृभाषा, पर्यटनको उत्थान र विकासमा महत्वपूर्ण परिवर्तन भएको देखिन्छ । सो को निम्ति तिमीहरुजस्तो जागरुक युवा भाइ-बहिनीहरु, कर्मठ राजनीतिक कार्यकर्ता र नेताहरुको र संघियताको ठूलो भूमिका छ । आज देश ठूलो सपना, साधना र संभावनाका साथ अगाडि बढ्दै छ । तर, कुनै पनि देश र स्थानको विकास सरकारको प्रशासनिक इकाईको आधारमा मात्र अगाडिको बढ्न खोज्छ भने त्यसको दिगो विकास सधैंभरी जोखिममा पर्दछ, जुन हामीले धेरैचोटी भोगिसकेका छौं । तर त्यस स्थानले त्यसको वैकल्पिक अवधारणा सोच्छ, देख्छ र काम गर्छ भने सोही अनुसार नै सो स्थानको उज्यालो भविष्य भर पर्दछ ।

तर, त्यसको निम्ति दल, गूट र समूहवादको संकिर्णताबाट हामी सबै माथि उठेर फराकिलो दृष्टिकोणका साथ अगाडि बढ्न आँट गर्न पर्दछ । यो प्रस्ताव नगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्षहरुसंग राखौँ । चौताराको प्रवुद्ध समुदाय, उद्ध्योग व्यवसायीहरुसंग कुरा गरौं । यसको संयोजन र नेतृत्व चौताराले पूर्ण विश्वास र भरपर्न सक्ने दलगत राजनीती भन्दा माथी उठ्न सक्ने व्यक्ति र व्यक्तित्वहरुले गर्न सके सबैभन्दा राम्रो हुनेछ ।  सहयोगका निम्ति सधैं झैं मेरा साथ सहयोग र शुभेच्छा हुने नै छ ।

प्रतिक्रिया दिनुहोस्