२०८२ असार २
                           

चौताराको पुरानो बजारमा सामुदायिक होमस्टे संरचनाहरूको उद्घाटन

चौतारा – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित पुरानो बजार क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिँदै आएको सामुदायिक होमस्टे परियोजनाअन्तर्गत निर्माण गरिएको फल्चा, भित्ते चित्रकला, ढुंगेधारा, मठलगायतका संरचनाहरूको आज एक समारोहबीच उद्घाटन गरिएको छ।

छिगुझिगु चौतारा सामुदायिक होमस्टे व्यवस्थापन तथा सञ्चालन समिति मार्फत अगाडि बढाइएको उक्त योजनाको उद्घाटन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले पानसमा दिप प्रज्वलन, शिलापत्र अनावरण तथा ढुंगे धार सुरू गरि रहेका थिए। कार्यक्रममा नगर प्रमुख, उप-प्रमुख, वडाध्यक्षहरू, समुदायका अग्रजहरू, प्रशिक्षित गृहिणीहरू, स्थानीय नागरिकहरू लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

नगरपालिका र बागमती प्रदेश सामाजिक विकास  मन्त्रालय अन्तर्गत महिला सशक्तीकरण कार्यक्रमको साझेदारीमा सञ्चालित योजनाबाट कुल ३९ लाख बीस हजार रूपियाँ लगानीमा चौताराको पुरानो बजार क्षेत्रमा परम्परागत शैलीमा आकर्षक संरचनाहरू निर्माण गरिएको छ। सोही संरचनाहरूको आज ओैपचारिक रूपमा उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले यो परियोजना केवल घर सजाउने योजना नभई महिला सशक्तीकरण, स्थानीय संस्कृति संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धनको संयोजन रहेको बताएका छन्। उनले पुरानो बजार चोैताराको मात्र नभई सिङ्गो नगरपालिकाको नै सांस्कृतिक धरोहर रहेको कुरा समेत उल्लेख गरे। साथै नगर प्रमुख सापकोटाले यस कार्यक्रमलाई केहिदिनको रमाइलो र उज्यालो मात्र नबनाई दिगो रूपमा विकास गर्दै लगि पर्यटन आकर्षणको केन्द्र बनाउन अनुरोध गरेका छन्।

आयोजकहरूका अनुसार  नेवारी कला झल्किने भित्ते चित्रहरूले पाहुनालाई साँच्चिकै भित्र्याउने काम गर्नेछन् भने अर्ग्यानिक खाना, आत्मीय स्वागत र पारिवारिक वातावरणमार्फत चुनौतीहरू पार गर्दै पर्यटकको मन जित्ने सकिनेछ।

त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर उप-प्रमुख, वडा नं ५  का वडा अध्यक्ष तथा अन्य वक्ताहरूले स्थानीय इतिहास, संस्कृति, धार्मिक स्थल, र चारैसुरमा रहेका देवी मन्दिरको संरक्षणसँगै पर्यटकीय गन्तव्यहरूलाई पनि समेटेर चौतारालाई धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्रबिन्दु बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्न उल्लेख गर्दै शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा संरचनाहरूको उद्घाटन संगै कुमारी नृत्य पनि प्रस्तुत गरिएको थियो। प्रत्यक्ष अवलोकन गर्ने सम्पुर्ण सहभागी तथा अतिथिहरूले यसलाई विकास गर्ने सके चोैतारामा पर्यटन भित्र्याउने अर्को बाटो खोल्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्