२०८२ असार २
                           

प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्ती चौतारामा मनाइने, तयारी पुरा

सिन्धुपाल्चोक – नेपाली सङ्गीतको अमर इतिहासका पृष्ठहरूमा उज्यालो अक्षरमा नाम लेखाउन सफल स्रष्टा प्रेमध्वज प्रधान, जसलाई “गोल्डेन भ्वाइस अफ नेपाल” भनेर सम्बोधन गरिन्छ, प्रधानको ८९ औं जन्मजयन्ती सिन्धुपाल्चोकको चौतारामा मनाइने भएको छ । यो ऐतिहासिक कार्यक्रम जेठ २७ गते मङ्गलबारका दिन सहिद स्मृति भवन, चौतारामा गर्ने तयारी पुरा भएको पत्रकार सुरेश कसजुले जानकारी दिए ।

दुई वर्षको अन्तरमा आयोजना हुने यो कार्यक्रम दोस्रो पटक चौतारामा हुन लागेको हो । यसअघि काठमाण्डौमा भएको थियो । चौतारा उनको जम्म थलो हो । पारिवारिक स्रोतका अनुसार स्व .प्रधानले आफ्नो स्मृतीमा जन्मभुमीमा केही कार्यक्रम आयोजना गर्न पहिलेनै भनेका थिए । सोही अनुसार जन्मस्थल चौतारामा सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ ।

कार्यक्रमको आयोजना गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले गर्नेछ, जसका संस्थापक अध्यक्ष गायक प्रधानको श्रीमती किरण प्रधान छिन ।
कार्यक्रममा सम्मान तथा पुरस्कार वितरणसँगै सांगीतिक श्रद्धाञ्जलि, प्रेमध्वज प्रधानका कालजयी गीतहरूको विशेष प्रस्तुति, तथा स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम पनि रहने आयोजकले जनाएको छ।

कार्यक्रमले स्रष्टाहरूको योगदानलाई सम्मान गर्दै नेपाली संगीतको गौरवशाली परम्परालाई जगेर्ना गर्ने उद्देश्य राखेको छ।

यो कार्यक्रम नेपाली संगीत क्षेत्रका लागि एउटा ऐतिहासिक अवसर हो – जहाँ एक महान स्रष्टाको स्मृतिमा प्रेरणादायी सम्मान र प्रतिभा पहिचान गरिँदैछ।

 सम्मान र पुरस्कार वितरण ः नेपाली संगीतकर्मीहरूलाई सम्मान

यस वर्ष २०८२ को लागि चयन गरिएका सम्मानित स्रष्टाहरूलाई क्रमश १ लाख , ५० हजार, ५० हजार र २५ नगद सहित सम्मान गरिनेछ ।

१. प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान – २०८२

 

वरिष्ठ गायिका मीरा राणा
नेपाली आधुनिक सङ्गीतमा लामो समयदेखि योगदान दिँदै आउनु भएकी मीरा राणा स्वरको मिठास र शैलीको कारण जनप्रिय गायिका हुनुहुन्छ।

२. प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान – २०८२

वरिष्ठ वादक मोहनकृष्ण कार्कीढली
बेला तथा स्वर बाजाहरूमा विशिष्ट योगदान दिएका कार्कीढली नेपाली मौलिक वाद्यवाद्य विधाका पुराना साधक हुन्।

३. प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार – २०८२


 गायक सुरज कुमार थापा
युवा पुस्ताका लागि प्रेरणा बन्न सक्ने स्वरशक्ति र सृजनात्मकता भएका थापा ।

४. प्रेमध्वज–किराण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार – २०८२


गायक चन्द्र सिं घले
कला, संवेदना र प्रस्तुतिमा नवीन स्वाद दिन सक्ने क्षमता भएका घलेलाई विशेष प्रतिभा पुरस्कार प्रदान गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्