२०८२ असार २
                           

सिन्धुपाल्चोकमा राहत शिक्षकको नयाँ जिल्ला कार्यसमिति गठन

चौतारा, जेठ २४ | सिन्धुपाल्चोकमा राहत शिक्षक जिल्ला समितिले नयाँ कार्यसमिति गठन गरेको छ। समितिद्वारा चौतारास्थित सुकुटे माविमा आयोजित भेलामा जिल्ला अध्यक्ष राजेन्द्र सापकोटा अनुपस्थित भएपछि उपाध्यक्ष गुणकेशरी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो।

जिल्लाका विभिन्न पालिकाबाट सहभागी भएका राहत शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न भेलाले शिक्षक आन्दोलनको समीक्षा, पुरानो कार्यसमितिको मूल्यांकन, पालिका समितिहरूको अवस्था तथा आगामी योजनाहरूका विषयमा व्यापक छलफल गरेको थियो।

कार्यक्रमले वर्तमान अध्यक्षप्रति असन्तुष्टि जनाउँदै जिल्ला कार्यसमितिलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने सुझाव दिएको थियो। सोही सन्दर्भमा नेपाल राहत शिक्षक राष्ट्रिय समितिसँग आवद्ध रहने गरी श्रीमती गुणकेशरी श्रेष्ठलाई सर्वसम्मतिले नयाँ जिल्ला अध्यक्ष चयन गरिएको हो। साथै, २९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति समेत गठन गरिएको छ।

भेलामा राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठ, महिला उपाध्यक्ष विष्णुमाया तिमिल्सिना, सह–महासचिव कृष्णप्रसाद अधिकारी, सचिव भूपी सरोवर, सदस्य चण्डिका सापकोटा, बिरेन्द्रराज गिरी लगायतको उपस्थिति रहेको थियो।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय समितिद्वारा प्रस्तुत ९ बुँदे मागका विषयमा जानकारी गराउँदै ४२ हजार राहत शिक्षकहरूको पेसागत सुरक्षाका लागि ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ नै उपयुक्त विकल्प रहेको धारणा व्यक्त गर्नुभयो।

भेलाले आगामी दिनमा राहत शिक्षकहरूको पेशागत सुनिश्चितता तथा मागहरू स्थापित गर्न राष्ट्रिय समितिको मार्गदर्शनमा चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्