लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको आयोजनामा चौथो संस्करणको ‘लायन्स कप फ्रेन्ड्ली फुटबल टूर्नामेन्ट’ जेठ ९ र १० गते चौतारा टुँडिखेलमा सञ्चालन हुने भएको छ।
“फुटबल फर फेलोसिप” भन्ने मूल नारासहित आयोजना गरिने उक्त प्रतियोगितामा स्थानीय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ। क्लबका अध्यक्ष भगवान खड्काद्वारा हस्ताक्षरित सूचनाअनुसार “वर्किङ टुगेदर” भन्ने नारासहित हुने यस टूर्नामेन्टमा सहभागी टिम दर्ताको अन्तिम म्याद जेठ ७ गते साँझ ५ बजेसम्म तोकिएको छ भने प्रतियोगिताका खेलहरू बिहान ६ बजेदेखि सुरु हुने जनाइएको छ।
प्रतियोगितामा सहभागी टिममा ३० वर्ष वा सोभन्दा बढी उमेरका खेलाडीहरू मात्र सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। साथै, विगत पाँच वर्षभित्र कुनै पनि राष्ट्रिय, जिल्ला वा पालिकास्तरको फुटबल प्रतियोगितामा सहभागिता जनाएका खेलाडीहरूलाई टिममा समावेश गर्न नपाइने प्रावधान राखिएको छ।
सामाजिक उत्तरदायित्वमा सक्रिय क्लबले यस किसिमको खेलकुद कार्यक्रममार्फत आपसी सद्भाव, भाइचारा र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्