२०८२ जेष्ठ १९
                           

निलम्बित सांसद बस्नेतले भवन उद्घाटन गर्ने भनेपछि दिएन स्थानीय सरकारले अनुमति

सिन्धुपाल्चोक – सुनकोशी गाउँपालिका–२ मा निर्माण सम्पन्न स्वास्थ्य चौकी भवनको उद्घाटनलाई लिएर विवाद चुलिएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद मोहन बहादुर बस्नेतले उद्घाटन कार्यक्रम तय गरिएको स्वास्थ्य चौकी भवनमा, स्थानीय सरकारले अनुमति नदिएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले सुनकोशी गाउँपालिका कमिटिले विज्ञप्ति जारी गर्दै निलम्बित सांसद मोहन बस्नेतबाट भवन उद्घाटन गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

यस्तै सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले विज्ञप्ति नै निकालेर पालिकाको अनुमति बेगर भवन उद्घाटन नगर्न÷नगराउन चेतावनी दिएका छन् । साथै भ्रष्टाचारका अभियुक्त सहभागी हुने कार्यक्रममा नजान कर्मचारी र जनप्रतिनिधिलाई समेत उनले निर्देशन दिएका छन् ।

टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै पूर्वमन्त्री एवं सिन्धुपाल्चोक–२ का कांग्रेस सांसद मोहनबहादुर बस्नेत अहिले निलम्बित छन् । तर, यही बेला प्रमुख अतिथि बनेर स्वास्थ्य चौकीदेखि खानेपानी उद्घाटनसम्मको कार्यक्रममा आउन लागेपछि विवाद सुरू भएको हो ।

सुनकोशी गाउँपालिका–२ ठोकर्पामा बनेको स्वास्थ्य चौकी भवन उद्घाटनको तयारी सहित प्रचारप्रसार थालिएपछि सुनकोशी गाउँपालिका साथै नेकपा माओवादी केन्द्र र नेकपा एमाले सुनकोशी गाउँपालिका कमिटिले  विज्ञप्ति ननिकालेका हुन् ।

विज्ञप्तिमार्फत जनताको हितमा आफूहरू क्रियाशील रहेको दाबी गरे पनि, उद्घाटन कार्यक्रमजस्तो सकारात्मक काममा सहकार्यको सट्टा द्वन्द्व देखिएपछि यो विषयले सामाजिक सञ्जाल तताएको छ ।

प्रतिक्रिया दिनुहोस्