२०८२ भाद्र १२

चोैतारामा रक्त सञ्चार सेवा केन्द्र सुरू, रगतको अभावमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा

सिन्धुपाल्चोक — विश्व रेडक्रस दिवसको अवसरमा सिन्धुपाल्चोकको सदरमुकाम स्थित चौतारा अस्पताल प्राङ्गणमा रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक र चौतारा अस्पतालको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सम्पन्न गरिएको हो।

बुधबार  आयोजित कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्रको औपचारिक उद्घाटनसँगै खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा समाजसेवीहरू लगायत विभिन्न संस्थामा आवद्ध व्यक्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उद्घाटन कार्यक्रममा रक्त सेवा केन्द्रको व्यवस्थापकीय जिम्मेवारी  नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जीवन रक्षाका लागि रगतको महत्त्वपूर्ण भुमिका रहने कुरा बताउदै रक्त सञ्चार सेवा केन्द्रलाई भविष्यमा थप व्यवस्थित र गुणस्तरीय बनाउदै लैजाने योजना रहेको बताए। साथै उनले नगरपालिकाले जनताको जीवन स्तर सुधार गर्ने विभिन्न कार्यक्रम गर्दै आएको र यो तीमध्ये एक रहेको जानकारी गराए।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आउँदै गर्दा सेवालाई आमजनता सम्म पुर्‍याउन आवश्यक रहेको बताउदै नगरपालिक थप साथ र सहयोगको लागि तयार रहेको बताए।

बुधबारबाट सञ्चालनमा आएको यो रक्त सञ्चार सेवा केन्द्रले नागरिक स्वस्थ्यलाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य तथा जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभदेलले सिन्धुपाल्चोक जिल्लामा रक्त सञ्चार सेवाको सुदृढीकरणका लागि यो केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने र समुदायमा रगतको पहुँच पुर्‍याउन र आपत्कालीन अवस्थामा मानव जीवन बचाउने लक्ष्यसहित रेडक्रसले सेवा विस्तार गर्दै आएको बताए।

कार्यक्रम उद्घाटन संगै सञ्चालित रक्तदान कार्यक्रममा विभिन्न उमेर समुहका५१ जना पुरूष र १८ जना महिला गरि ६९ जनाले रक्तदान गरेका थिए। उक्त रगतलाई अस्पतालमा नै रहेको १२० पिन्ट क्षमताको रक्त सेवा केन्द्रमा भण्डार गरि राखिने जानकारी अस्पतालले दिएको छ।

प्रतिक्रिया दिनुहोस्