२०८२ बैशाख २१
                           

रुप फेर्दै पुरानो बजार

रविन्द्र श्रेष्ठ – सिन्धुपाल्चोक जिल्लाको सदरमुकामको पनि खास बजार भनेको पुरानो बजार हो । पुरानो बजार नै चौतारा बजारको उद्गमस्थल पनि हो । विगतमा काठमाडौंबाट तिब्बत जानको लागि प्रयोग हुने मुख्य मार्ग यही बजारमा पर्दछ । यहाँ उपत्यकाका तीनै शहरबाट विभिन्न कालखण्डमा नेवार जाति आएर बसोबास गरेपछि बजारको रुपमा विकसित भएको हो ।

यहाँको बजार विगतमा राम्रै चलनचल्तीमा थियो । पसल तथा होटलहरु थिए । मन्दिर र देवालयहरु थिए जुन अद्यापि छँदैछन् । चौतारामा लाग्ने जात्राहरु पुरानोबजारमा नै लाग्ने हुन् । जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्ने गौराति जात्रा यहाँस्थित भीमसेनमन्दिरबाट सुरु हुन्छ । धान्यपूर्णिमा जात्रा गणेशमन्दिरबाट सुरु हुन्छ भने गाईजात्रा र कृष्णजात्रा कृष्णमन्दिरबाट सुरु हुन्छ ।

जुन सबै पुरानोबजारमा नै अवस्थित छन् । समयका हिसाबले यहाँका मन्दिरहरु कृष्णमन्दिर एक सय सत्र वर्ष पुरानो हो । भूकम्पपछि सो मन्दिरलाई पूरातत्व विभागले पुनर्निर्माण गरिदिएको छ । गणेशमन्दिर झण्डै एक सय पचास वर्ष पुरानो हो । यस मन्दिरलाई पनि पूरातत्व विभागले पुनर्निर्माण गरिदिने भएको छ । त्यस्तै भीमसेन मन्दिरमा चढाएको गरगहनामा अंकित मिति हेर्ने हो भने सम्वत् ९५० उल्लेख गरिएको छ । यस हिसाबले भन्ने हो भने यो मन्दिर पनि ११ सय ३० वर्ष पुरानो मान्न सकिन्छ ।

प्राचिनकाल, मध्यकाल र आधुनिककालमा पनि चौताराको अस्तित्व रहेको विभिन्न प्रमाणहरुले बताउँछ । विगतमा नेपाल–तिब्बतको प्रमुख मार्ग नै यही भएकाले चौताराको महत्व र उपादेयता कति थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । व्यापारी, भरिया तथा यात्रुहरुको विश्रामस्थल यानेकी चौतारी यही स्थान भएकोले नै यहाँको नाम नै चौतारा रहन गएको हो ।

चौतारामा विस्तारै बस्ती बाक्लिंदै गयो । सदरमुकाम बसेपछि पुरानोबजारमा मात्रै बस्ती सिमित रहेन । समयसँगै यसको पैmलावट बढ्दै गयो । सदरमुकाम भएपछि त्यसलाई आवश्यक प्रहरी, प्रशासन, जेल, नापी, मालपोत लगायत अन्य सरकारी कार्यालयहरु स्थापना गर्न पनि बस्ती विस्तार आवश्यक भयो । यसर्थ चौताराको खास बजार पुरानोबजार भयो भने कार्यालयहरु स्थापना हुँदै गएपछि स्वाभाविक रुपमा बस्तीको विस्तारसँगै बजार स्थापना हुन गयो र त्यसलाई नयाँ बजार भनियो ।

विस्तारै बैंक, सहकारी, खानेपानी, अस्पताल लगायतका अन्य सरकारी, गैरसरकारी, संघ, संस्थाका कार्यालयहरु स्थापना हुन थाले । त्यसले बजारलाई विस्तारै विस्तार गर्दै लग्यो । अर्थात् माथिल्लो बजारमा जनघनत्व बढ्दै गयो र चलायनमान हुन थाल्यो भने त्यसले पुरानो बजारलाई संकुचन र शून्यतामा धकेल्न थाल्यो ।

अब भने पुरानोबजारले आफ्नो रुप फेर्दैछ । विगतको आफ्नो शान र सौकतलाई पुरानोबजारले रिभाइभ गर्दैछ । बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय र चौतारा साँगाचोकगढी नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा ‘गृहिणी महिला आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत चौतारा पुरानो बजारमा होमस्टे कार्यक्रम सञ्चालन भएको छ ।

सो कार्यक्रम लागू भएपछि भने पुरानोबजारले आफ्नो मुहार फेर्न लागेको हो । कार्यक्रमले सदरमुकाम चौताराको वडा नं. ५, पुरानोबजारलाई आफ्नो कार्यक्षेत्र तोकेको छ । सो क्षेत्र अन्तर्गत चौताराको भिन्तुनाचोकदेखि नारायणस्थानसम्मलाई आफ्नो कार्यक्षेत्र निर्धारण गरी काम अगाडि बढाएको छ । पुरानोबजार कार्यक्षेत्र बनाएर ‘छिगुझिगु चौतारा सामुदायिक होमस्टे (घरबास) व्यवस्थापन तथा सञ्चालन समिति’ गठन गरि हाल विभिन्न कामहरु पूरा गरिएको छ भने कतिपय पूरा हुने अवस्थामा रहेको छ ।

छिगुझिगु चौतारा सामुदायिक होमस्टेले पहिलो चरणमा पुरानोबजारमा स्थायी रुपमा बसोबास गरिरहेका नेवाः समुदायको मौलिकलाई जगेर्ना गर्न सुरुमै केही रकम भौतिक निर्माणमा खर्च गरेको छ । यहाँ घुम्न आउने पर्यटकहरुलाई आकर्षित गर्न बजारलाई सुन्दर र मौलिक देखाउने प्रयास गरिएको छ । जस अन्तर्गत बजार सुरुभएदेखि अन्त हुने स्थानसम्म विभिन्न स्थानमा दाँछी अपाले सुसज्जित गमलाहरु बनाइएका छन् । नाराणस्थानमा रहेको शेषशयन नारायणपोखरीमा दाँछी अपा विछ्याइएको छ । कृष्णमन्दिरमा सांस्कृतिक, ऐतिहासिक संग्रहालयका साथै पुस्तकालय स्थापना हुँदैछ । कृष्णमन्दिरको ठ्याक्कै अघिल्लो स्थानमा आकर्षक फल्चाः निर्माण गरिएको छ । बजारका भित्तामा मौलिक भित्तेचित्र बनाइएका छन् । गमलामा बाह्रैमास पूmल फुल्ने बिरुवा लगाउन लागिएको होमस्टेका कोषाध्यक्ष विना कक्षपतिले बताए ।

‘छिगुझिगु’ नेवाः शब्दको नेपाली अर्थ हुन्छ– ‘तपाई हाम्रो’ । शब्द आपैmले आफ्नोपन अथवा न्यानोपन बोकेको बताउनु हुन्छ समितिका उपाध्यक्ष सीता श्रेष्ठ कसजू । उहाँका अनुसार हाल समितिले पुरानोबजारका १७ घर समेटेको छ । जस अन्तर्गत पाहुनाहरुलाई सेवा दिन ३५ कोठाहरु तयारी अवस्थामा राखिएका छन् । घरका कोठाहरुमा पनि नेवारी शैली र मौलिकतामा आधारित हुने उहाँको भनाई छ ।

समितिले पुरानोबजारमा प्रवेश गर्न स्वागतद्वार निर्माण गर्न चाहे पनि विभिन्न कारणले हाल त्यसलाई स्थगित गर्नुपरेको समितिका अध्यक्ष गीता श्रेष्ठले बताए । पुरानो बजारमा स्थायी बसोबास गर्ने गृहिणी महिलाहरुलाई स्वरोजगार बनाई आर्यआर्जनको लागि यो होमस्टे कार्यक्रम कोशेढुङ्गा सावित हुने श्रेष्ठको कथन छ ।

पुरानोबजारमा निर्माण भएका सम्पदास्थललाई कलात्मकतासहितको मौलिकता दिन पाटन तथा भक्तपुरबाट कलाकारहरु झिकाईएका छन् । भक्तपुरका कलाकारहरुले नारायणस्थानको पोखरी, धाराहरुलाई परम्परागत शैलीमा ढाल्दैछन् । त्यस्तै पाटनका कलाकारहरुले कुमारी, लाखे, बज्र, जात्रा, परम्परा आदिको चित्र बनाएका छन् ।

निर्माण कार्य सम्पन्न भएपछि आगन्तुकलाई अर्कै दुनियाँमा प्रवेश गरेको अनुभूति हुने स्थानीय रामचन्द्र श्रेष्ठको भनाई छ । ‘चौतारा पुरानो बजार अब विगतको पुरानोबजार मात्रै रहने छैन । यो त सानो स्वर्गको टुक्राको रुपमा अनुदित हुँदैछ ।’ पत्रकार महासंघको पूर्वअध्यक्ष जीवन श्रेष्ठको भनाई छ ।
तपाईं जब पुरानोबजार प्रवेश गर्नुहुन्छ नि, तपाईंलाई छुट्टै आनन्दको अनुभूति हुनेछ । बगैंचामा फुलेका फूहरुको मनमोहकताले लोभ्याउने छ ।

घरका भित्ता तथा विभिन्न स्थानमा रहेका मौलिक चित्रहरुले मन भुल्याउने छ । फल्चाःमा बसेर सुसेल्न मन गर्नेछ । मन्दिरमा पुगेर एकचोटी घण्टा बजाउन मन लाग्नेछ अनि नारायाणस्थान पुगेपछि एकचोटी हातमुख धोऔं न त भन्ने मन हुनेछ । यी सब कुराको अनुभूति रुप फेरिएको पुरानोबजारले पक्कै दिनेछ ।

हेर्नुहोस तस्बिर

प्रतिक्रिया दिनुहोस्