विशेषगरि परीक्षा भन्ने वित्तिकै विद्यार्थीहरुमा एक खालको डर महसुश हुन्छ । तर, परीक्षालाई डर र त्रासले भन्दा पनि आत्मविश्वासका साथ सामना गरेमा सफल भईन्छ । परीक्षाको बेलामा विभिन्न कुराहरुमा ख्याल गर्नुपर्दछ । धेरै जसो विद्यार्थीहरुमा परीक्षाका लागि के के तयारी गर्ने भन्ने कुराको राम्रो ज्ञान नहुँदा आफुले जानेका विषयवस्तुहरु पनि राम्ररी लेख्न नसक्ने अवस्था हुन्छ ।
त्यसकारण केही कुराहरुमा परिक्षार्थी र अभिभावकहरुले समेत ध्यान दिई व्यवहारमा कार्यन्वयन गरेमा पक्कै पनि परिक्षामा सफलता प्राप्त गर्न सकिन्छ । यसका लागि विद्यार्थी स्वयमको मेहनत र भुमीकाका साथै पारिवारिक वातावरणले समेत प्रभाव पार्छ ।
अभिभावकको सहयोग
त्यसैले घरमा अभिभावकहरुले रमाइलो वातावरण सिर्जना गर्नका लागि सहयोग गरिदिनुपर्दछ । परीक्षाका लागि आवश्यक सामाग्रिहरु र प्रवेशपत्र परीक्षा अगावै तयारी अवस्थामा राख्नुपर्छ ।
परीक्षाका बेलामा राती अबेरसम्म बस्ने भन्दा पनि बिहान सबेरै उठेर आफ्नो तयारीका साथै पुनरावलोकनका कार्यहरु गर्ने गर्नुपर्छ । परीक्षा अगाडी विहान हल्का केही खाएर जानुपर्दछ ।
सम्भव भएसम्म आफ्ना घरपरिवारका सदस्यहरुसँग र नभए आफ्ना मन मिल्ने साथीहरुसँग रमाईलो कुराकानी गर्दै परिक्षा केन्द्रमा जानुपर्छ । मनमा कुनैपनि डर र त्रासको भावना पैदा हुने कुराहरु सोच्नु हुँदैन ।
पहिलो दिनमा ४५ मिनेट अगाडी र अन्य दिन आधा घण्टा अघि परिक्षा केन्द्रमा पुग्ने गरी पूर्ण तयारीका साथ घरबाट निस्कनु पर्छ । आफुलाई परिक्षाका लागि आवश्यक पर्ने सामाग्रि बाटोमा सुरक्षित साथ लैजानुपर्छ ।
प्रश्नहरु नछुटाउने
परीक्षा केन्द्रमा पुगेर कुनै पनि कुरा पढ्ने वा घोक्ने गर्नु हुँदैन । आफ्नो कोठा पत्ता लागिसकेपछि १५ मिनेट अगावै परीक्षा हलमा प्रवेश गरि आफ्नो सिम्बोल नम्बर भएको स्थानमा बस्नुपर्दछ । परीक्षा हलमा परीक्षार्थीले विताउने तिन घण्टाको समय निकै महत्वपूर्ण हुन्छ ।
उत्तरपुस्तिका पाएपछि त्यो कतै च्यातिएको छ वा खुम्चिएको छ भने तत्काल निरीक्षकलाई भनेर कपी साट्नु पर्दछ । प्रश्नपत्र पाएपछि पनि प्रश्नहरु पुरा भए नभएको हेरी नछापिएको, काटिएको, मधुरो भएको अवस्थामा निरीक्षकलाई तत्काल जानकारी गराई अर्काे प्रश्न लिनुपर्दछ । सबै प्रश्नहरुलाई सर्सती एकपटक हेर्नुपर्दछ ।
यसरी पहिल्यै हेरीएमा ढुक्क हुन सकिन्छ र मस्तिष्कमा उत्तरको खाका पनि तयार हुँदै जान्छ । प्रश्न समाधान गर्नुपूर्व प्रत्येक प्रश्नहरुको प्रश्न नम्बर अनिवार्य रुपमा लेख्नुपर्दछ । प्रश्नमा दिइएको निर्देशन राम्ररी अध्ययन गरी उत्तर लेख्नुपर्दछ । नत्र अनावश्यक रुपमा बढि प्रश्नहरु हल गर्दा समय पुग्दैन र अन्य प्रश्न छुट्न सक्छ । सकेसम्म प्रश्नहरु छुटाउनु हुँदैन । सम्भव भए क्रमअनुसार नै प्रश्नहरुको समाधान गर्नु राम्रो हुन्छ ।
समय खेर फाल्नु हुँदैन
कुनै प्रश्नको उत्तर नआएमा त्यसलाई छाडेर आउने प्रश्नको उत्तर लेख्नुपर्छ, त्यही प्रश्नमा अल्झिएर समय खेर फाल्नु हुँदैन ।परीक्षामा उपस्थित भएपछि हाजिर अनिवार्य रुपमा गर्नुपर्दछ । सकभर समयको व्यवस्थापन गरेर अन्तिममा १० देखि १५ मिनेट बचाउनुपर्दछ ।
यो बाँकी समयमा लेखिएका उत्तरहरु पढ्ने र कतै केही गल्ती भेटिएमा सुधार गर्ने गर्नुपर्छ । कपी बुझाउँदा सबै अर्थात थप गरिएका कपीहरु राम्ररी स्टिज गर्नु पर्दछ । कपी थपीएको विवरण मुल उत्तर पुस्तिकामा उल्लेख गर्नुपर्दछ ।
उत्तरकपी परिक्षा हलमा खटिएका निरीक्षकलाई नै बुझाउनुपर्दछ । परीक्षाहलबाट बाहिरीनु अगाडी प्रवेश प्रत्र लगायत आफ्ना सम्पुर्ण परीक्षाका सामाग्रीहरु नबिर्सि ल्याउने गर्नुपर्दछ । परीक्षा हलबाट निस्किएपछि अरु कुरामा तनाव नराखि अर्काे दिनको परीक्षाको पुर्व तयारीमा लाग्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्