२०८२ असार ३
                           

सिन्धुपाल्चोकको प्रसिद्ध गौराती भीमेश्वरको मेला कार्तिक ३० गते

२३ कातिक, सिन्धुपाल्चोक । धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला यही कार्तिक ३० गते पुर्णिमादेखि सुरु हुने भएको छ ।प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई द्वादशीको दिन सम्पन्न हुने उक्त मेला सदरमुकाम चौतारा बजारमा सिन्दुर जात्रा गरी विधिवतरूपमा मेला हुने गर्दछ ।

चौताराको पुरानो बजारस्थित गुठीघरबाट पूर्णिमाको बेलुका भीमसेनको मूर्ति रथमा राखी गौरातीको भीमेश्वरको मूर्तिसँग मिलन गराउने गरिन्छ। भोलिपल्ट रथलाई फर्काएर सरकारी पूजासहित गुठियारको घरघरमा डुलाएर पूजाआजा गरी द्वादशीको दिन सिन्दुरे जात्रासहित रथलाई गुठीघरमा थन्क्याएपछि जात्रा समापन हुने गर्छ।

सदरमुकामबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ स्थित पिपलडाँडाको गौरातीडाँडामा रहेको मन्दिर पुग्न उकालो बाटो पर्दछ। मेला भर्न राजधानी लगायत छिमेकी जिल्लाहरुबाट पनि सवारी साधन ‘रिजर्भ’ गरेर आउने गर्छन।
एकादशीको दिन गुठियारको सात वटा बोकाको बलि पूजा गरेपछि मात्र सर्वसाधारणका लागि पूजा खुला हुन्छ। मन्दिरमा भीमसेनको रूपमा बलिपूजा गरिने र त्यसपछि महादेवको रूपमा गाईको दूध चढाएर पूजा गरिने प्रचलन छ।

पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ ।

‘गौ’ अर्थात गाईले राति दूध चढाएको कारण गौराती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणको रूपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा वि.सं. १६४२ मा चढाएको ढलोटको घण्टाको आधारमा ४३४ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ ।

मन्दिरमा मेला अवधिभर हजारौँ पशु पक्षीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जिर्णोद्धार गरिँदै आए पनि वि.सं. २०५३ सालमा पुनःनिर्माण गरी स्व. राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । त्यस समयमा जोडी रुद्राक्षको विरुवासमेत रोपिएको थियो । दाना फल्न लागेको उक्त जोडी रुद्राक्षको वृक्षलाई जिल्लावासीहरुले स्वर्गवासी राजा रानीको सम्झनाको प्रतीकको रूपमा लिने गरेका छन । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङखलालाई नजिकबाट नियाल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्